गृहपृष्ठ गुन्द्रुकले बदलेको ग्रामीण महिलाको जीवनस्तर
गुन्द्रुकले बदलेको ग्रामीण महिलाको जीवनस्तर
हेटौँडा। केही वर्षअघिसम्म हेटौँडा उपमहानगरपालिका–१२ घलेगाउँकी ३८ वर्षीया श्रिया गुरुङको दैनिकी अधिकांश ग्रामीण नेपाली महिलाजस्तै थियो। बिहान सबेरैदेखि घरधन्दा, परिवारको हेरचाह, पशुपालन र खेतबारीको काममा दिन बित्थ्यो। दिनभर काम गरे पनि उनको आफ्नै आम्दानी थिएन। परिवारको खर्च धान्न श्रीमान्को कृषि आम्दानीमा निर्भर हुनुपर्थ्यो। एउटी छोरीको भविष्य, घरखर्च र बढ्दो आर्थिक दायित्वले उनलाई सधैँ चिन्तित बनाइरहन्थ्यो।
“आफ्नो कमाइको एक रुपैयाँ पनि थिएन,” श्रिया विगत सम्झँदै भन्छिन्, “भविष्यको चिन्ता त धेरै थियो, तर सम्भावना भने केही थिएन। गाउँमै केही गरौँ भन्ने सोच थियो, तर कसरी सुरु गर्ने भन्ने आधार थिएन।”
गाउँघरमा हरेक वर्ष बनाइने गुन्द्रुक उनका लागि घरायसी परिकार मात्र थियो। हिउँदका लागि साग जोगाउने परम्परागत तरिकाभन्दा बाहिर गएर कसैले पनि यसलाई व्यवसायका रूपमा हेरेका थिएनन्। त्यसैले गुन्द्रुकले नै आफ्नो जीवन बदल्न सक्छ भन्ने कल्पना उनले कहिल्यै गरिनन्।
“हामीलाई त गुन्द्रुक बेचेर पनि उद्यमी बन्न सकिन्छ भन्ने लागेको नै थिएन,” उनी भन्छिन्, “यो सपना देखाउने काम ग्रिन फाउन्डेसन नेपालले गर्यो र त्यो सपनालाई व्यवहारमा उतार्ने वातावरण हेटौँडा उपमहानगरपालिकाले बनाइदियो।”
ग्रिन फाउन्डेसन नेपालले तालिम र सामग्री हस्तान्तरणसहित सुरु गराएको उद्यममा हेटौँडा उपमहानगरपालिकाले सञ्चालन गरेको सीपमूलक तालिम, प्रारम्भिक आर्थिक सहयोग र उद्यम सञ्चालनसम्बन्धी परामर्शले श्रियाको सोच परिवर्तन गरिदियो। त्यसपछि उनले गाउँका अन्य महिलासँग मिलेर कञ्चनजङ्घा कृषि सहकारी संस्था लघु उद्यमी उद्योग स्थापना गरिन्।
सुरुआत भने निकै सामान्य थियो। उद्योगमा संलग्न महिलाले वार्षिक प्रतिकट्ठा एक हजार पाँच सय रुपैयाँका दरले १५ कट्ठा जग्गा भाडामा लिए। आफ्नै पसिना बगाएर रायोको साग लगाए र त्यसबाट अर्गानिक गुन्द्रुक उत्पादन सुरु गरे। तर उत्पादन सुरु गर्नु जति चुनौतीपूर्ण थियो, बजार खोज्नु त्योभन्दा कठिन बन्यो।
पहिलो वर्ष खेतमा मिहिनेतको कमी भएन। राम्रो उत्पादन भयो। तर बजारले ढोका खोलेन। खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयको सरकारी अनुज्ञापत्र नहुँदा उत्पादन बजारसम्म पुर्याउन सकिएन। लाखौँ रुपैयाँ बराबरको गुन्द्रुक गोदाममै थन्कियो। बिक्री नहुँदा लगानी डुब्ने चिन्ता र भविष्यप्रतिको अन्योलले धेरै रात निद्रा हरायो।
“कति दुःख गरेर उत्पादन गर्यौँ,” उनी सम्झन्छिन्, “तर बेच्न नपाउँदा मन नै खिन्न हुन्थ्यो। मेहनत खेर जाने हो कि भन्ने डर लाग्थ्यो। तर हामीले हार मानेनौँ।”
त्यही धैर्यले अन्ततः फल दियो। हेटौँडा उपमहानगरपालिकाको सहजीकरणमा उत्पादनले खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयबाट सरकारी अनुज्ञापत्र पायो। सरकारी मान्यता पाएपछि उत्पादनप्रति बजारको विश्वास बढ्यो। व्यवसायी आफैँ सम्पर्कमा आउन थाले। अर्डर बढ्न थाल्यो र बिक्रीको बाटो खुल्यो।
“पहिले बिक्री नहोला कि भन्ने डर थियो,” श्रिया मुस्कुराउँदै भन्छिन्, “अहिले त मागअनुसार उत्पादन नपुग्ला कि भन्ने चिन्ता छ।”
अहिले समूहलाई यस वर्षको उत्पादन मात्र होइन, आगामी वर्षका लागि आएको मागसमेत पूरा गर्न भ्याइनभ्याइ छ।
सुरुमा ११ जना रहेको समूह अहिले २० सदस्यीय बनेको छ। खेती विस्तार हुँदै गएको छ। हाल ३० कट्ठा जग्गामा खेती भइरहेको छ। निकट भविष्यमा ५० कट्ठासम्म विस्तार गर्ने योजना छ। उत्पादन बढेसँगै आगामी दिनमा ५० जनाभन्दा बढी स्थानीय महिलालाई प्रत्यक्ष रोजगारी दिने लक्ष्य पनि समूहले लिएको छ। उत्पादित गुन्द्रुक मकवानपुर, सिन्धुली र काठमाडौंमा बिक्रीका लागि जाने गरेको छ। अहिले माग पूरा गर्न हम्मेहम्मे परेको उनी बताउँछिन्।
उत्पादनलाई वर्षभरि निरन्तरता दिन समूहले छ महिनासम्म अर्गानिक गुन्द्रुक उत्पादन गर्छ भने बाँकी समय विभिन्न प्रकारका अचार उत्पादन गर्छ। अर्को एक संस्थाको प्राविधिक सहयोगमा अचार प्रशोधन, प्याकेजिङ र बजारीकरणको काम भइरहेको छ।
समूहले करिब ३०० किलोग्राम अचार उत्पादन गरेको छ। प्रतिकिलोग्राम एक हजार रुपैयाँका दरले बिक्री गर्दै आएको छ। यसबाट एक उत्पादन चक्रमै करिब तीन लाख रुपैयाँ बराबरको कारोबार हुने गरेको छ। गुन्द्रुकको बजार पनि निरन्तर विस्तार भइरहेको छ।
समूहले उत्पादन गरेको अर्गानिक गुन्द्रुक अहिले प्रतिकिलोग्राम ८०० रुपैयाँमा बिक्री हुन्छ। स्थानीय बजारसँगै अन्य जिल्लाबाट पनि माग आउन थालेको छ। अर्गानिक गुन्द्रुक केवल नेपाली भान्साको परम्परागत स्वाद मात्र होइन, पोषणले भरिपूर्ण खाद्य पदार्थ पनि हो। गुन्द्रुकमा फाइबर, आइरन र क्याल्सियम पाइन्छ। यसले पाचन प्रणालीलाई सहज बनाउन, आन्द्राको स्वास्थ्य सुधार गर्न र शरीरलाई आवश्यक पोषक तत्व उपलब्ध गराउन सहयोग गर्ने विश्वास गरिन्छ। पछिल्ला वर्षमा रसायनमुक्त तथा अर्गानिक खाद्य पदार्थप्रति उपभोक्ताको आकर्षण बढेसँगै यसको माग पनि बढ्दै गएको छ। यही परिवर्तनले ग्रामीण महिलाले उत्पादन गरेका परम्परागत खाद्यवस्तुको बजारीकरण भएको छ।
श्रियाको जीवनमा आएको परिवर्तन केवल आर्थिक मात्रै छैन। उनको आत्मविश्वास, सामाजिक पहिचान र निर्णय गर्ने क्षमता पनि बढेको छ। पहिले घरखर्चका लागि श्रीमान्को आम्दानीमा निर्भर रहनुपर्ने उनी अहिले आफ्नै आम्दानीबाट परिवार चलाउन, छोरीको शिक्षामा लगानी गर्न र समूहका अन्य महिलालाई नेतृत्व गर्न सक्षम छिन्।
“घरमै बसेर केही हुँदैन भन्ने सोच बदलिएको छ,” उनी भन्छिन्, “अवसर, सीप र बजार पाए गाउँका महिलाले पनि धेरै गर्न सक्छन् भन्ने प्रमाण हामीले दिएका छौँ।”
हेटौँडा उपमहानगरपालिकाको करिब एक लाख रुपैयाँ र सहकारीको ८० हजार रुपैयाँ प्रारम्भिक लगानीबाट सुरु भएको यो उद्यम आज ग्रामीण महिलाको आर्थिक रूपान्तरणको उदाहरण बनेको छ। परम्परागत रूपमा घरभित्र सीमित रहेको गुन्द्रुकलाई व्यवसायमा रूपान्तरण गर्दै महिलाले आफ्नै गाउँमा रोजगारी सिर्जना गरेका छन्। यसले स्थानीय कृषि उत्पादनको मूल्य बढाएको छ भने महिलाको श्रमलाई प्रत्यक्ष आम्दानीसँग पनि जोडेको छ।
हेटौँडा उपमहानगरपालिकाका धेरै गृहिणी अहिले साना तथा घरेलु उद्यम सञ्चालन गरेर आत्मनिर्भर बन्दै गएका छन्। कसैले अर्गानिक गुन्द्रुक उत्पादन गरिरहेका छन् भने कसैले अचार, धूप, दलमोठ, हस्तकला, बेसार तथा अन्य स्थानीय उत्पादनलाई व्यवसायमा रूपान्तरण गरेका छन्। यसले महिलाको आयआर्जन बढाउनुका साथै स्थानीय स्रोत, सीप र परम्परागत ज्ञानलाई पनि आर्थिक मूल्यसँग जोड्न सफल भएको छ।
एक समय आफ्नो परिवारको भविष्यबारे चिन्तित रहने श्रिया आज अन्य महिलाका लागि प्रेरणाको स्रोत बनेकी छन्। उनको कथा केवल एउटा गुन्द्रुक उद्योगको सफलता होइन, अवसर, सीप, स्थानीय सरकारको सहयोग र महिलाको आत्मविश्वास एकसाथ जोडिँदा गाउँमै बसेर पनि सम्मानजनक जीवन र दिगो आम्दानी सम्भव हुन्छ भन्ने जीवन्त उदाहरण हो।
प्रकाशित समय : ०५:३५ बजे


















