गृहपृष्ठ भेरी करिडोरः पुल र सडक कहिले होलान् पूरा ?
भेरी करिडोरः पुल र सडक कहिले होलान् पूरा ?
काँक्रेविहार । भेरी करिडोरअन्तर्गत जाजरकोटको नलगाड नगरपालिका–१२ तल्लुबगरदेखि डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–१ सम्मको सडक निर्माणका लागि लगाइएको ठेक्का लामो समयदेखि अलपत्र परेको छ।
त्यसैगरी, नलगाड नगरपालिकाको कालीमाटीदेखि डोल्पाको त्रिपुरासुन्दरीसम्म निर्माणाधीन पुलको अवस्था पनि उस्तै दयनीय छ। तल्लुदेखि त्रिपुराकोटसम्मको सडकमा दुईवटा ठेक्का लगाइएको छ। तल्लुबगर–त्रिवेणीको जिम्मा पाएको क्याब कन्स्ट्रक्सनले २०८२ असोजमा रु ८८ करोड ६२ लाखमा सम्झौता गरेको थियो।
त्यस्तै, त्रिवेणी–त्रिपुराकोट खण्डको रु ८५ करोड लागतमा मैनाचुली–सिस्ने जेभीले २०८२ साउनमा सम्झौता गरे पनि कामको सुरुआत नै गरेको छैन। सम्झौता भएको झन्डै एक वर्ष पुग्न लाग्दा निर्माणस्थलमा निर्माण व्यवसायीले काम नै सुरु गरेका छैनन्। पहिलो खण्डमा कामको जिम्मेवारी लिएको निर्माण व्यवसायीले तल्लुबगर–त्रिवेणी खण्डमा सामान्य काम गरे पनि हाल निर्माण ठप्प छ। निर्माण कम्पनीका इन्जिनियर सुपेन्द्र शाक्यले पेट्रोलियम पदार्थको मूल्यवृद्धि र क्रसर मेसिन ढुवानीमा समस्या भएको बताए।
दोस्रो खण्डमा सम्झौता भएको नौ महिना बित्दासम्म निर्माणस्थलमा एक जना कामदार पनि उपस्थित छैनन्। कम्पनीका इन्जिनियर देवेन्द्र घिमिरेले चाँडै खदाङमा साइट कार्यालय स्थापना गरेर निर्माण सुरु गर्ने बताए। यो करिडोरले नेपाललाई चीन र भारतसँग जोड्छ। विसं २०७५ मा सडकको ट्र्याक खुलाइएको भेरी करिडोरको स्तरोन्नतिको काम निर्माण व्यवसायीकै कारण अनिश्चित बनेपछि स्थानीयवासीले असन्तुष्टि व्यक्त गरेका छन्। भेरी करिडोर कार्यालयले बारम्बार ताकेता गर्दा पनि निर्माण व्यवसायीले अटेर गरेको योजना प्रमुख नरेश केसरीले जानकारी दिए।
भेरी नदीमा ६ पुल अलपत्र
आठ वर्षअघि नेपाली सेनाले जाजरकोट सदरमुकामदेखि डोल्पाको छलगाडसम्मको १०३ किलोमिटर सडकखण्डको ट्र्याक खोलेर सडक डिभिजन कार्यालय चौरजहारीलाई हस्तान्तरण गरेको थियो।
सोही सडकखण्डको नलगाडको कालीमाटीदेखि छलगाडसम्मका पुल निर्माण सुरु नभएका कारण अलपत्र पर्दै आएका छन्। सोही खण्डमा ठेक्का लगाउन बाँकी रहेका १४ वटा सानाठूला पुलमध्ये ११ वटाको चालु आवमा ठेक्का लगाइएको छ। बाँकी दुईवटा पुलको डिजाइनको काम सुरु भएकाले केही दिनमै ठेक्काको तयारी गरिएको प्रमुख केसरीले जानकारी दिए। जाजरकोटको सदरमुकाम खलङ्गादेखि नलगाड नगरपालिका–१२ तल्लुसम्मको ५६ किलोमिटर सडकखण्डको कालोपत्र अन्तिम चरणमा पुगेको छ।
भेरी करिडोरका फूलबारी खोला, चिसापानी खोला, खहरेखोला, घट्टेखोला, मनका खोला, रिजिगार, उसुम खोला, कर्पगाड, खदाङ, खदाङभेरी पुल, चुँगाड, त्रिपुराकोट, गल्लीगाड र खोरखोलामध्ये त्रिपुराकोट र भेरीमा मात्र ठेक्का लगाउन बाँकी छ।
यो करिडोरको कुल लम्बाइ ३१० किलोमिटर रहेको छ। सुर्खेत, सल्यान, जाजरकोट, रुकुम पश्चिम र डोल्पाको अन्तिम बिन्दु मरिम अर्थात् चीनको सीमासम्म पुगेर यो सडक पूरा हुन्छ। भारत, नेपाल र चीन जोड्ने सबैभन्दा छोटो मार्गका रूपमा रहेकाले पनि आयोजना महत्वपूर्ण रहेको प्रमुख केसरीले बताए।
भेरी करिडोर (जाजरकोट–डोल्पा) मा छ वर्षदेखि अलपत्र परेका पुलको निर्माण कहिले पूरा हुने भन्ने कुनै टुङ्गो छैन। छ वर्षअघि लागेको पक्की पुलको ठेक्काको काम नहुँदा यस क्षेत्रका राजनीतिक नेतृत्व र कर्मचारी आलोचित भएका छन्।
सो खण्डमा क्याराभान हिराचन जेभीले २०७७ माघ २ गते जाजरकोटको नलगाड र झुर्मेखोलाको पक्की पुलको ठेक्का रु १८ करोड ४३ लाख ४३ हजारमा लिएको थियो। त्यस्तै, सोही कम्पनीले त्रात्रखोला, मैदेखोला र ताक्सुगाड चौखाको ठेक्का पनि लिएको थियो। यो ठेक्का रु १३ करोड ५४ लाख बराबरको हो। यी पुल भेरी करिडोरका महत्वपूर्ण संरचना हुन्।
त्यस्तै, नलगाड नगरपालिका–१२ को तल्लुस्थित भेरी नदीको पुल र डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–१ छलगाडको पुल निर्माण कार्य सुरु भएको छ। खदाङको पुल विवादका कारण अझै सुरु हुन सकेको छैन। यस्तै, रुकुम पश्चिमको आठबीसकोट पिपलचौरस्थित छहरेखोला र जाजरकोट भेरी नगरपालिका–१ पिपे खोलाको पुलको काम करिब सम्पन्न भएको छ।
हाल नेपालगञ्ज, सुर्खेत तथा काठमाडौँबाट सिधै डोल्पाको सदरमुकामसम्म यातायातका साधन पुग्ने गरेका छन्। पूर्वमन्त्री धनबहादुर बुढाले भेरी करिडोरलाई राष्ट्रिय प्राथमिकतामा राख्नुको उद्देश्य त्रिदेशीय पारवहन सेवा सहज बनाउनु रहेको बताए।
देशको उत्तरी सीमासँग जोडिएको माथिल्लो डोल्पाका तीन गाउँपालिकाका नागरिक सडक सुविधा नहुँदा जिल्ला सदरमुकाम दुनैसम्म पुग्न हप्तौँ पैदल यात्रा गर्न बाध्य छन् ।
प्रकाशित समय : ०५:३८ बजे


















