global ime bank Long Banner Ad

गृहपृष्ठ विश्वकप २०२६ को समूह चरणमा तोडिए अनेक कीर्तिमान

विश्वकप २०२६ को समूह चरणमा तोडिए अनेक कीर्तिमान

विश्वकप २०२६ को समूह चरणमा तोडिए अनेक कीर्तिमान

काठमाडौं । फिफा विश्वकप २०२६ को समूह चरण रोमाञ्चक प्रतिस्पर्धासहित सम्पन्न भएको छ । पहिलोपटक ४८ टोलीको सहभागितामा आयोजना गरिएको विश्वकपले मैदानभित्र र बाहिर दुवै क्षेत्रमा नयाँ कीर्तिमान कायम गरेको फिफाले जनाएको छ । क्यानडा, मेक्सिको र अमेरिकामा संयुक्त रूपमा भइरहेको प्रतियोगिताको समूह चरणमा कुल ७२ खेल खेलिएका थिए । यी खेल हेर्न ४५ लाख ४४ हजार ५४९ दर्शक रंगशालामा पुगेका थिए । फिफाका अनुसार खेल अवधिभर करिब तीन लाख हटडग बिक्री भएका छन् ।

समूह चरणमा ४८ राष्ट्रका १ हजार २४८ खेलाडी सहभागी भएका थिए । अब ३२ टोली नकआउट चरणमा प्रवेश गरेका छन् । तीमध्ये १२ टोली युरोप, ९ अफ्रिका, ५ दक्षिण अमेरिका, ३ उत्तर तथा मध्य अमेरिका, २ एसिया र १ ओसिनियाबाट रहेका छन् ।

यस संस्करणमा अफ्रिकी टोलीहरूले ऐतिहासिक सफलता हासिल गरेका छन् । पहिलो पटक नौ अफ्रिकी राष्ट्र नकआउट चरणमा पुगेका छन् । यस्तै, बोस्निया एन्ड हर्जगोभिना, केप भर्डे, क्यानडा, डीआर कंगो, कोट डिभ्वार, इजिप्ट र दक्षिण अफ्रिका पहिलोपटक विश्वकपको नकआउट चरणमा प्रवेश गरेका छन् ।

समूह चरणमा कुल २१५ गोल भएका छन, जुन विश्वकप इतिहासकै सबैभन्दा धेरै हो । प्रति खेल औसत तीन गोल भएको फिफाले जनाएको छ । फ्रान्स, जर्मनी र नेदरल्यान्ड्सले समान १०–१० गोल गर्दै समूह चरणका सर्वाधिक गोल गर्ने टोली बने ।

अर्जेन्टिनाका कप्तान लियोनेल मेस्सीले लगातार ६ विश्वकपमा गोल गर्ने पहिलो खेलाडी बन्दै नयाँ इतिहास रचेका छन् । उनले विश्वकपमा आफ्नो कुल गोल संख्या १९ पु¥याएका छन् । यस्तै, उनले ३८ वर्ष ३५७ दिनको उमेरमा ह्याट्रिक गर्दै विश्वकप इतिहासकै सबैभन्दा बढी उमेरमा ह्याट्रिक गर्ने खेलाडीको कीर्तिमान पनि बनाए ।

पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डोले विश्वकपमा आफ्नो गोल संख्या १० पु¥याउँदै युसेबियोलाई पछि पारेर पोर्चुगलका सर्वाधिक गोलकर्ता बनेका छन् । इंग्ल्यान्डका कप्तान ह्यारी केनले ११ गोलसहित ग्यारी लिनेकरको कीर्तिमान तोड्दै इंग्ल्यान्डका सर्वाधिक विश्वकप गोलकर्ता बने ।

क्यानडाले कतारलाई ५–० ले पराजित गर्दै विश्वकप इतिहासमा एकै खेलमा चारभन्दा बढी गोल गर्ने पहिलो कन्काकाफ टोली बन्न सफल भयो । अमेरिकाले पनि पाराग्वेमाथि ४–१ को जित निकाल्दै विश्वकपमा पहिलोपटक एकै खेलमा चार गोल गर्ने कीर्तिमान बनायो ।

जापानले ट्युनिसियालाई ४–० ले हराएको खेल विश्वकप इतिहासको एक हजारौँ खेल बनेको छ । त्यस्तै, मेक्सिकोले लगातार चार विश्वकप खेल जित्ने पहिलो कन्काकाफ राष्ट्रको कीर्तिमान बनाएको छ भने सेनेगल विश्वकपको एक खेलमा पाँच गोल गर्ने पहिलो अफ्रिकी टोली बनेको छ । फिफाका अनुसार समूह चरणमा खेलाडी, प्रशिक्षक र टोलीहरूले दर्जनौँ नयाँ कीर्तिमान कायम गरेका छन । जसले विश्वकप २०२६ लाई इतिहासकै सबैभन्दा ठूलो र स्मरणीय संस्करण बनाएको छ ।

प्रकाशित समय : १०:११ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु