global ime bank Long Banner Ad

गृहपृष्ठ पूर्वाधार निर्माणमा धवलागिरिको फड्को

पूर्वाधार निर्माणमा धवलागिरिको फड्को

पूर्वाधार निर्माणमा धवलागिरिको फड्को

म्याग्दी । म्याग्दीको धवलागिरि गाउँपालिकाले भवन पूर्वाधार निर्माणमा फड्को मारेको छ । साबिकको मुना गाविसको भवनमा तला र कोठा थप गरी सेवा प्रवाह गर्दै आएको गाउँपालिकाले आफ्नै प्रशासकीय भवन निर्माणलाई अन्तिम चरणमा पुर्‍याएको छ । धवलागिरि-३ घट्टेखोलामा स्थानीयबाट १४ रोपनी जग्गा निःशुल्क प्राप्त भएपछि गाउँपालिकाले सङ्घीय सरकारसँगको साझेदारीमा प्रशासकीय भवन निर्माणको योजना अघि बढाएको थियो ।

आर्थिक वर्ष २०७९/८० देखि निर्माण सुरु भएको उक्त भवनको काम अन्तिम चरणमा पुगेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद शर्माले जानकारी दिए । चालु आर्थिक वर्षको अन्त्यसम्म सम्पूर्ण निर्माण सम्पन्न गर्ने तयारी गरिएको बताउँदै उहाँले हालसम्म करिब ९० प्रतिशत भौतिक प्रगति हासिल भएको जानकारी दिए ।

प्रतिष्ठा/जुम्ली/माछापुच्छ्रे जेभीसँग सात करोड ७१ लाख ८९ हजार ६६६ मा ठेक्का सम्झौता भएको थियो । निर्माण सामग्रीमा भएको मूल्य वृद्धि तथा सङ्घीय सरकारले भुक्तानी कर तिर्नुपर्ने दायित्वको रकम आउन ढिलाइ हुँदा निर्माण प्रभावित हुँदै आएको ठेकेदार कम्पनीले जनाएको छ ।

निर्माण व्यवसायीलाई करिब तीन करोड भुक्तानी दिन बाँकी रहे पनि चालु आवको हालसम्म सङ्घीय सरकारबाट ६० लाख मात्रै बजेट आएको उल्लेख गर्दै थप बजेट प्राप्तिका लागि निरन्तर पहल भइरहेको प्रशासकीय अधिकृत शर्माले जानकारी दिए ।

“अन्तिम पटक थप भएको समयसीमाभित्रै काम सम्पन्न गराउनका लागि निर्माण व्यवसायीलाई ताकेता गरिरहेका छौँ । चालु आवमा भवनको पूर्वाधार निर्माण सकिएमा आगामी आवको असोजरकात्तिकसम्म फर्निचरसहित अन्य पूर्वाधार व्यवस्थापन सकेर यही भवनबाटै सेवा प्रवाह सञ्चालन गराउने गरी काम भइरहेको छ”, उनले भने ।

म्याग्दीका पाँच गाउँपालिकामध्ये प्रशासकीय भवन बनाउने पहिलो बनेको धवलागिरिको तीनतले भवनमा २७ वटा कोठा, एक(एक वटा सभाहल र बैठक कक्ष हुनेगरी पूर्वाधार निर्माण भइरहेको गाउँपालिकाका पूर्वाधार शाखा प्रमुख लोकेन्द्र रावलले बताए ।

गाउँपालिकाको प्रशासकीय भवनसँगै वडा कार्यालय, स्वास्थ्य चौकी भवन, सामुदायिक भवनहरू निर्माणले तीव्रता पाएका उनको भनाइ छ । धवलागिरि(७ ताकममा पाँच शय्या क्षमताको आधारभूत अस्पताल निर्माणाधीन अवस्थामा रहेको पूर्वाधार शाखा प्रमुख रावलले जानकारी दिए । उनका अनुसार गुर्जा, मल्कबाङ, मुना र मुदीमा स्वास्थ्य चौकीका नयाँ भवन निर्माण भएका छन् । लमसुङ र मराङमा यसअघि नै स्वास्थ्य चौकीको भवन निर्माण भएका थिए ।

सेवा प्रवाहलाई व्यवस्थित र प्रभावकारी बनाउनका लागि वडा कार्यालयको भवन निर्माणलाई समेत जोड दिइएको रावलले बताउनुभयो । धवलागिरि-२, वडा नं ४ मुदी, वडा नं ६ मराङ र वडा नं ७ ताकममा वडा कार्यालयको नयाँ भवन निर्माण भइसकेको जनाउँदै पूर्वाधार शाखा प्रमुख रावलले वडा नं ५ मल्कबाङमा गाउँपालिकाले निर्माण गरेको बहुउद्देश्यीय सामुदायिक भवनबाट सेवा प्रवाह हुँदै आएको बताए ।

विद्यालय र अन्य निकायको साँघुरो भवनबाट सेवा प्रवाह गर्दै आएकामा वडा कार्यालयको आफ्नै भवन निर्माण भएपछि सेवा प्रवाह सहज भएको धवलागिरि-४ का वडाध्यक्ष यामबहादुर घर्तीले बताउनुभयो । गाउँपालिकाले गुर्जामा वडा कार्यालयको भवन निर्माणको योजना बनाएको छ ।

धवलागिरि गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि विद्यालय भवन, खेलमैदान, सामुदायिक स्वास्थ्य एकाइलगायत भौतिक पूर्वाधार निर्माणलाई प्राथमिकता दिएर नीति तथा कार्यक्रम र बजेट निर्माण गर्ने जनाएको छ ।

प्रकाशित समय : ०६:१० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु