global ime bank Long Banner Ad

गृहपृष्ठ स्थानीय सहभागिताले फेरिएको दुर्गाभिट्टा सामुदायिक वन

स्थानीय सहभागिताले फेरिएको दुर्गाभिट्टा सामुदायिक वन

स्थानीय सहभागिताले फेरिएको दुर्गाभिट्टा सामुदायिक वन

सुरुङ्गा (झापा) । झापाको दक्षिणी सीमावर्ती क्षेत्र कचनकवल गाउँपालिका–३ मा फैलिएको दुर्गाभिट्टा सामुदायिक वन पछिल्ला वर्षहरूमा सबैका लागि आकर्षणको केन्द्र बन्दै गएको छ । केही वर्षअघि वन दोहन, चोरी(तस्करी, वन्यजन्तुको त्रास तथा असुरक्षित क्षेत्रका रूपमा परिचित यो वन अहिले संरक्षण र व्यवस्थापनको सफल उदाहरण बनेको छ ।

सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष धनराज गुरुङका अनुसार वन व्यवस्थापनलाई व्यवस्थित र प्रभावकारी बनाउन स्थानीय समुदायको भूमिका अत्यन्त महत्वपूर्ण रहेको छ । उपभोक्ताको बढ्दो चेतना, सहभागिता र जिम्मेवारीबोधले वन संरक्षण तथा विकासमा उल्लेखनीय परिवर्तन ल्याएको उनि बताउछन ।

वन क्षेत्रमा सोलार फेन्सिङ प्रणाली जडान गरिएपछि वन्यजन्तु र मानवबस्तीबीचको द्वन्द्व उल्लेखनीय रूपमा घटेको छ । सामुदायिक वन उपभोक्ता महासङ्घ झापाका सदस्य भीमप्रसाद लुइँटेलका अनुसार नियमित गस्ती, स्थानीय निगरानी तथा आधुनिक प्रविधिको प्रयोगले वन्यजन्तुको आक्रमणबाट हुने क्षति नियन्त्रणमा महत्वपूर्ण सुधार आएको छ ।

दुर्गाभिट्टा सामुदायिक वन जैविक विविधताका दृष्टिले पनि अत्यन्त समृद्ध मानिन्छ । यहाँ अमला, वन कटहर, मालागिरी, वन लिची, बाँस, थाकल, सुनाखरी लगायतका बहुमूल्य तथा औषधीय वनस्पति पाइन्छन् । लुइँटेलका अनुसार जलथल क्षेत्रको जैविक विविधतासम्बन्धी अध्ययनले नेपालमा पाइने करिब ६०० प्रजातिका वनस्पतिमध्ये १५० भन्दा बढी प्रजाति यसै वन क्षेत्रमा रहेको देखाएको छ ।

वनभित्र रहेका सिमसार क्षेत्र, कृत्रिम पोखरी तथा हरियालीयुक्त संरचनाले चराचुरुङ्गी, सरिसृप, हात्तीलगायत विभिन्न वन्यजन्तुका लागि सुरक्षित बासस्थानका रूपमा काम गरिरहेका छन् । चराचुरुङ्गीको चिरबिराहट, हरियाली वातावरण र प्राकृतिक शान्तताले यस क्षेत्रलाई इको(टुरिज्मका लागि थप उपयुक्त बनाएको छ ।

वनको सबैभन्दा उल्लेखनीय उपलब्धि मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापनलाई मानिएको छ । विगतमा हात्तीका बथानले स्थानीय बस्तीमा ठूलो क्षति पुर्‍याउने समस्या गम्भीर थियो । तर सोलार फेन्सिङ, जनचेतनामूलक कार्यक्रम तथा सुधारिएको वन व्यवस्थापनका कारण अहिले यस्तो समस्या उल्लेखनीय रूपमा न्यूनीकरण भएको छ ।

संरक्षणसँगै वनले स्थानीय आर्थिक गतिविधिमा पनि महत्वपूर्ण योगदान पुर्‍याएको छ । वृक्षारोपण, सरसफाइ अभियान, औषधीय वनस्पति संरक्षण तथा बेसार खेतीजस्ता कार्यक्रममार्फत स्थानीयवासीका लागि आयआर्जनका अवसर सिर्जना भएका छन् ।

हरियालीले ढाकिएको वातावरण, सिमसार क्षेत्र, वनको बीचभागमा रहेको प्राकृतिक टापु तथा समृद्ध जैविक विविधताले दुर्गाभिट्टा सामुदायिक वनलाई इको–टुरिज्मको सम्भावनायुक्त गन्तव्य बनाएको छ ।

डिभिजन वन कार्यालय झापाका प्रमुख नथुनी गुहिवर यादवका अनुसार पूर्वाधार विकास, सूचना केन्द्र स्थापना, पदमार्ग निर्माण तथा संरक्षण कार्यक्रमलाई व्यवस्थित रूपमा अघि बढाउन सके यो वन झापाकै प्रमुख पर्यटकीय गन्तव्यका रूपमा स्थापित हुन सक्छ । स्थानीय युवाहरू पनि वन संरक्षण अभियानमा सक्रिय रूपमा जुटेका छन् । उनीहरूले वन संरक्षणलाई केवल दायित्वका रूपमा नभई भविष्य निर्माणको आधारका रूपमा लिएको यादवको भनाइ छ ।

कुल क्षेत्रफलको करिब १२ प्रतिशत अर्थात् १९ हजार ५०० हेक्टर क्षेत्रफल ओगटेको दुर्गाभिट्टा सामुदायिक वन आज संरक्षण, जैविक विविधता र दिगो विकासको उत्कृष्ट नमुना बन्दै अघि बढिरहेको छ ।

प्रकाशित समय : १३:०३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु