गृहपृष्ठ पञ्चासे पुग्न अब साइकलमै यात्रा, पोखरामा नयाँ पर्यटन करिडोर निर्माण हुने
पञ्चासे पुग्न अब साइकलमै यात्रा, पोखरामा नयाँ पर्यटन करिडोर निर्माण हुने
काठमाडौं । पोखराबाट पञ्चासेसम्मको यात्रा अब केवल पदयात्रामा सीमित नहुने भएको छ। पर्यटकलाई आकर्षित गर्ने नयाँ अवधारणासहित पोखरा महानगरपालिकाले साइकल लेनसहितको विशेष पहुँच मार्ग निर्माण गर्ने योजना अघि बढाएको छ, जसले पर्यटनसँगै वातावरणमैत्री यातायात प्रवर्द्धनमा पनि योगदान पुर्याउने अपेक्षा गरिएको छ।
एसियाली विकास बैंक (एडीबी) को आर्थिक सहयोगमा सञ्चालन हुने यस परियोजनाअन्तर्गत पोखरा महानगरपालिका–२३ घाँटीछिनादेखि पञ्चासे भञ्ज्याङसम्म साइकल लेनसहितको पहुँच मार्ग निर्माण गरिनेछ। पञ्चासे कास्की, पर्वत र स्याङ्जा जिल्लाको संगमस्थलका रूपमा परिचित पर्यटकीय क्षेत्र हो।
महानगरपालिकाका अनुसार आयोजनासम्बन्धी बोलपत्र कागजात र प्रारम्भिक वातावरणीय अध्ययन प्रतिवेदन स्वीकृत भइसकेको छ। हालै बसेको कार्यपालिका बैठकले प्रतिवेदन पारित गरेसँगै निर्माण प्रक्रिया अगाडि बढाउने बाटो खुलेको हो।
करीब १ अर्ब ३० करोड रुपैयाँ लागत अनुमान गरिएको यो परियोजनामा अनुसन्धान केन्द्रसमेत निर्माण गरिनेछ। महानगरले यसलाई पर्यटन पूर्वाधार विस्तारसँगै दिगो विकासको नमुना परियोजनाका रूपमा लिएको छ।
यस आयोजनाले पञ्चासे क्षेत्रको पर्यटकीय आकर्षण बढाउनुका साथै स्थानीय व्यवसाय, ग्रामीण पर्यटन र जैविक विविधतासम्बन्धी अध्ययन अनुसन्धानलाई समेत नयाँ गति दिने विश्वास गरिएको छ। पर्यटन क्षेत्रका सरोकारवालाले यसलाई पोखराको दीर्घकालीन पर्यटन विकासका लागि महत्वपूर्ण कदमका रूपमा लिएका छन्।
प्रकाशित समय : १०:०० बजे



















