गृहपृष्ठ झाडी फाँडेर फलफूल बगैँचा
झाडी फाँडेर फलफूल बगैँचा
म्याग्दी । बेनी नगरपालिका–९ गिठिनीका सुजन चोखालले बाझिँएको पाखोबारीमा झाडी फाँडेर फलफूल बगैँचा स्थापना गरेका छन् । रामकृष्ण कृषि, पशुपन्छी तथा फलफूल नर्सरीका सञ्चालक २६ वर्षीय चोखालले पाखोबारीलाई सुन्तला, कागती, टिमुर, ओखर, किवी र अकबरे खुर्सानी खेती गरेर हराभरा बनाएका हुन् ।
“बाल विज्ञान विषयको पढाइ सकेर २०७५ सालमा स्थापना गरेको फार्ममा फलफूलका बिरुवा उत्पादन गर्दै आएको थिएँ”, उनले भने, “यसपालि उत्तिस र बनमाराले भरिएको दुई ठाउँमा ३० रोपनी बाँझो पाखोबारीमा झाडी फाडेर फलफूल खेती सुरु गरेको छु ।”
पाँच सय सुन्तला, एक सय कागती, दुई सय टिमुर, ४० वटा ओखर र ३० बोट किवी लगाउनुभएका चोखालले सात रोपनीमा ‘मल्चिङ’ विधिबाट अकबरे खुर्सानी खेती गरेका छन् । उनको फार्ममा पाँच हजार सुन्तला र सात हजार कागतीका बिरुवा छन् । सात हजार तीनपाते सुन्तला, सात–सात सय टिमुर र अम्बाको बिरुवा तयारी अवस्थामा छन् ।
“नर्सरीका सबै बिरुवा बिक्री भयो भने रु १५ लाख आम्दानी हुने अनुमान गरेको छु”, चोखालले भने, “फलफूल खेती र बिरुवा उत्पादनका साथै पाँच सय स्थानीय जातका कुखुरा र दुई सय ५० कालिज पनि पालेको छु ।” माछा र माहुरी पनि पालिएको उक्त फार्ममा १६ रोपनीमा अदुवा खेती भएको छ । बेनी नगरपालिका–२ बगरफाँटमा केराखेती पनि सुरु भएको छ ।
रघुगङ्गा गाउँपालिका–२ मा रहेको मुक्तिधाम माध्यमिक विद्यालयमा कृषि प्राविधिक विषयको सहायक प्रशिक्षक रहेका चोखाल साँझ, बिहान र बिदाको समयमा फार्ममा व्यस्त छन् । उनलाई भाइहरू पशु प्राविधिक राम र इन्जिनियरिङ अध्ययन गरेका कृष्णले फार्म सञ्चालनमा सघाउँदै आएका छन् ।
वार्षिक २० लाखदेखि २५ लाखको कारोबार हुने फार्ममा घरपरिवारका सदस्यबाहेक सिजनमा ७० देखि ८० जनाले रोजगारी पाएका सञ्चालक चोखालले बताए । कृषि विकास कार्यालयले नर्सरीको प्लास्टिक घर निर्माण र अदुवा खेतीका लागि सहयोग गरेको छ । चोखाल दाजुभाइ नर्सरी, कुखुरापालन र फलफूलखेतीबाट स्वरोजगार र आत्मनिर्भर बनेका छन् ।
रोजगारी र अवसरको खोजीमा धेरै युवा विदेश र बजार पलायन भइरहेको समयमा चोखाल दाजुभाइले बाँझिएको पाखोबारीलाई हराभरा बनाएर सकारात्मक सन्देश दिएका उनका छिमेकी सन्दीप खत्रीले बताए । बिरुवा, फलफूल र कुखुरा खरिदका लागि ग्राहक फार्ममै आउँछन् । बजारको समस्या छैन । काम गर्ने जनशक्ति नपाउनु फार्म सञ्चालनमा मुख्य चुनौती बनेको सञ्चालक चोखालले बताए ।
प्रकाशित समय : ०५:५७ बजे


















