गृहपृष्ठ अटोमोटिभ क्षेत्रका नीतिगत विषयमा मधेशका अर्थमन्त्रीसँग नाडाको छलफल
अटोमोटिभ क्षेत्रका नीतिगत विषयमा मधेशका अर्थमन्त्रीसँग नाडाको छलफल
जनकपुरधाम । नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपाल (नाडा) को प्रतिनिधिमण्डलले मधेश प्रदेशका अर्थमन्त्री युवराज भट्टराईसँग अटोमोटिभ क्षेत्रका नीतिगत विषयमा छलफल गरेको छ।
नाडाका अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले अटोमोटिभ क्षेत्रलाई प्रादेशिक अर्थतन्त्रको महत्वपूर्ण आधारका रूपमा प्रस्तुत गर्दै यस क्षेत्रले सरकारी राजस्वमा २० प्रतिशतभन्दा बढी योगदान तथा ठूलो मात्रामा रोजगारी सिर्जना गरेको जानकारी गराएको थियो।
छलफलका क्रममा नाडाले दर्ता शुल्क र मूल्य अभिवृद्धि कर (भ्याट) संरचनामा बहुवर्षीय स्पष्टता, माध्यमिक शहरका डिलरशिपलाई विद्युतीय सवारी चार्जिङ केन्द्रका रूपमा विकास गर्न संयुक्त कार्यदल गठन तथा विद्युतीय सवारी संक्रमणका लागि प्राविधिक पुनर्तालिममा प्रादेशिक सहयोगलगायतका विषय उठाएको जनाएको छ।
अवसरमा अध्यक्ष उप्रेतीले कर छुटभन्दा पनि नीतिगत स्पष्टता आवश्यक रहेको बताउँदै निजी क्षेत्रलाई लगानीमैत्री वातावरण आवश्यक रहेको धारणा राखेका थिए।
जवाफमा अर्थमन्त्री भट्टराईले मधेश प्रदेशमा लगानीको वातावरण सुदृढ बनाउन प्रदेश सरकार प्रतिबद्ध रहेको बताउँदै आर्थिक विकासमा निजी क्षेत्रको भूमिका महत्वपूर्ण रहने उल्लेख गरे।
भेटवार्तामा प्रदेशकी श्रम तथा यातायातमन्त्री शारदा देवी थापा, राजस्व अधिकृत जयकुमार राउत, नाडाका निवर्तमान अध्यक्ष करण चौधरी, विशिष्ट सल्लाहकार राजनबाबु श्रेष्ठ तथा महासचिव मिलनबाबु मल्ललगायत सहभागी थिए।
प्रकाशित समय : १७:२१ बजे



















