गृहपृष्ठ एलपीएल सिजन ६ मा दिपेन्द्र, सन्दीप र कुशल छनोट
एलपीएल सिजन ६ मा दिपेन्द्र, सन्दीप र कुशल छनोट
काठमाडौं । लंका प्रिमियर लिग (एलपीएल) सिजन ६ का लागि तीन नेपाली क्रिकेटर विभिन्न फ्रेन्चाइज टोलीमा छनोट भएका छन्।
अलराउन्डर दिपेन्द्र सिंह ऐरी र लेग स्पिनर सन्दीप लामिछानेलाई एससी जाफना किंग्सले टोलीमा आबद्ध गरेको छ। त्यस्तै, ओपनर कुशल भुर्तेललाई कोलम्बो क्याप्सले आफ्नो एसोसिएट स्टार खेलाडीका रूपमा चयन गरेको छ।
अन्तर्राष्ट्रिय क्रिकेटमा उत्कृष्ट प्रदर्शन गर्दै आएका नेपाली खेलाडीहरूको छनोटले फ्रेन्चाइज क्रिकेटमा नेपाली प्रतिभाप्रति बढ्दो विश्वास झल्किएको छ। विशेषगरी दिपेन्द्रको अलराउन्ड प्रदर्शन, सन्दीपको स्पिन बलिङ तथा कुशलको आक्रामक ब्याटिङ टोलीका लागि महत्वपूर्ण हुने अपेक्षा गरिएको छ।
एलपीएल आयोजक संस्था आईपीजीका संस्थापक तथा अध्यक्ष अनिल मोहनले नेपाली खेलाडीको सहभागिताले प्रतियोगितालाई थप प्रतिस्पर्धात्मक बनाउनुका साथै नेपाली क्रिकेट समर्थकसँगको सम्बन्ध अझ मजबुत हुने बताए।
तीन नेपाली खेलाडीको सहभागितासँगै एलपीएल सिजन ६ मा नेपाली क्रिकेट समर्थकहरूको विशेष चासो रहने अपेक्षा गरिएको छ।
प्रकाशित समय : १७:३१ बजे



















