काठमाडौं । इलाम समाज हङकङले आफ्नो रजत जयन्तीका अवसरमा ‘इलाम’ स्मारिका सार्वजनिक गरेको छ ।शनिबार चर्चित कलाकार, संचारकर्मी, कलाकारहरुको उपस्थितिमा स्मारिका सार्वजनिक गरिएको हो ।कार्यक्रममा नेपाल पत्रकार महासंघका पूर्वसभापति विष्णु निष्ठुरीले इलामले नेपाली गीत संगीतमा राष्ट्रिय एवम अन्तर्राष्ट्रिय ख्याती कमाएकोप्रति प्रशंसा गर्दै इलाम चिनाउन प्रवासमा रहेका नेपालीहरुले खेलेको भूमिकाको चर्चा गरे ।

अर्का पाका पत्रकार एवम लेखक धर्म गौतमले प्रजातन्त्रका लागि विद्यार्थी कालमै जिल्ला र देश छाड्नुपरे पनि इलामको अघात माया लाग्ने गरेको स्मरण गरे । उनले आफूहरुकै अगुवाइमा तयार भएको ‘इलाम पर्यटन गुरु योजना’कै कारण पर्यटन विकासले गति लिएको चर्चा गरे ।

इलाम समाज हङकङका अध्यक्ष वसन्त राई(विपिन)ले प्रवासमा रहँदा आफ्नो मातृभूमीको अत्याधिक याद आउने भएकाले जन्मथलोका सबैजना एकजुट भएर योगदान गरिरहेको बताए ।

उनले जिल्लामा आपत वा विपत पर्दा परोपकारी मनका साथ सहयोग जुटाइरहेको बताए ।
स्मारिकाका सल्लाहकार सम्पादक सचित राईले इलाम चिनाउने सानो प्रयास भएको बताए ।

उनले अझै धेरै विषय समेट्न नसकेको बताउँदै आगामी दिनमा बृहत खोज अनुसन्धान गरेर गहकिलो पुस्तक तयार गर्ने योजना रहेको बताए ।कार्यक्रममा इलाम कलाकार समाज काठमाडौंका सचिव थिरज राई, गायक गणेश पराजुली, गायक रोशन गुरुङलगायतले आफ्नो धारणा राखेका थिए । सो अवसरमा इलाम समाज हङकङले इलाम कलाकार समाज र गीतकार एवम साहित्यकार डिआरलाई नगद सहयोग

प्रदान गरिएको थियो । ६८ पेजमा समेटिएको स्मारिकामा पर्यटन, नव प्रतिभा साथै अन्य समसामयिक विषयबस्तु समेटिएका छन् ।