global ime bank Long Banner Ad

गृहपृष्ठ सगरमाथामा फहरियो काठमाडौं युथ कन्क्लेभको झण्डा

सगरमाथामा फहरियो काठमाडौं युथ कन्क्लेभको झण्डा

सगरमाथामा फहरियो काठमाडौं युथ कन्क्लेभको झण्डा

काठमाडौं । युवा नेतृत्व, नवप्रवर्तन तथा सक्रिय सहभागिताको प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना हुँदै आएको काठमाडौं युथ कन्क्लेभ (KYC) को झण्डा विश्वको सर्वोच्च शिखर सगरमाथामा फहराइएको छ।

केवाईसीका अनुसार हजारौं नेपाली युवाको सपना, आकांक्षा र सम्भावनाको प्रतीकका रूपमा रहेको कन्क्लेभको झण्डा सगरमाथाको चुचुरोसम्म पुर्‍याइएको हो। यस उपलब्धिलाई नेपाली युवाको ऊर्जा, नेतृत्व क्षमता तथा विश्वमञ्चमा आफ्नो पहिचान स्थापित गर्ने आकांक्षाको प्रतीकात्मक सफलताका रूपमा लिइएको छ।

काठमाडौं युथ कन्क्लेभले झण्डा सगरमाथाको शिखरसम्म पुर्‍याउने अभियानमा महत्वपूर्ण योगदान पुर्‍याएको एलिट एक्सपेडप्रति आभार व्यक्त गरेको छ। आयोजकका अनुसार उक्त अभियानले केवल एउटा झण्डा मात्र नभई नेपाली युवाको आशा, सपना र भावनालाई विश्वकै सर्वोच्च स्थानसम्म पुर्‍याउने सन्देश दिएको छ।

कन्क्लेभले युवामा नेतृत्व विकास, नवप्रवर्तन तथा सामाजिक उत्तरदायित्वको भावना अभिवृद्धि गर्न विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ। सगरमाथामा झण्डा फहराउने अभियानले युवाहरूलाई आफ्नो लक्ष्य प्राप्तिका लागि दृढ संकल्प, मेहनत र आत्मविश्वासका साथ अघि बढ्न प्रेरणा दिने विश्वास आयोजकले व्यक्त गरेको छ।

यसैबीच, आयोजकले काठमाडौं युथ कन्क्लेभको आगामी संस्करणका लागि स्वयंसेवक आवेदन खुला गरेको जानकारी दिएको छ। कार्यक्रममा स्वयंसेवकका रूपमा सहभागी हुने युवाहरूले नेतृत्व विकास, अनुभव आदानप्रदान, सञ्जाल विस्तार तथा नयाँ अवसरहरूको खोजी गर्ने अवसर प्राप्त गर्ने जनाइएको छ।

आयोजकका अनुसार युवाको सक्रिय सहभागिता र योगदानले कन्क्लेभलाई अझ प्रभावकारी, प्रेरणादायी तथा युवामैत्री बनाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास छ।

प्रकाशित समय : १६:२८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु