गृहपृष्ठ दर्शक भेट्दै कलाकार
दर्शक भेट्दै कलाकार
काठमाडौँ । चलचित्र भवनमा प्रदर्शनरत नेपाली चलचित्रका कलाकारले दर्शक भेटेर आफ्नो चलचित्रकाबारेमा प्रतिक्रिया लिनेक्रम बढेको छ ।
पछिल्ला दिनमा काठमाडौँ उपत्यकासहित मोफसलका मुख्य सहरमा रहेका चलचित्र भवनमा पुगी दर्शकसँग भेट्दै चलचित्रको विषयमा प्रतिक्रिया लिनेक्रम बढेको देखिन्छ ।
यसले दर्शकको चाहनालाई प्रत्यक्ष रुपमा बुझ्न मद्दत गर्नुका साथै प्रचारप्रसारमा सहयोग हुने बुझाई चलचित्रकर्मीको छ । सोही कारण काठमाडौँ उपत्यकासँगै पोखरा, चितवन, नेपालगञ्ज, बुटवल, दमक, विर्तामोड, धरान, इटहरीलगायत प्रमुख सहरमा पुग्ने चलचित्रकर्मीको सङ्ख्या पछिल्लो समय बढ्दो छ । चलचित्र चल्नुमा कथावस्तु, पात्र र अभिनयजस्ता पक्षका साथ प्रचारप्रसारको महत्वपूर्ण भूमिका हुने भनाइ सम्बद्ध क्षेत्रबाट आएको छ ।
यसै सन्दर्भमा सम्मानित अदालतको आदेश, सम्बद्ध समुदायका अभियन्ताको विरोध समर्थन र प्रचारप्रसारका क्रममा अभिनेता तथा अभिनेत्रीहरूको देशव्यापी दौडधूपका कारण चलचित्र लालीबजारलाई दर्शकले मनपराएको देखिन्छ ।
गत वैशाख २५ गतेदेखि प्रदर्शन भएको उक्त चलचित्रले घरेलुबजारमा रु आठ करोड बढीको कमाई गरिसकेको चलचित्र विकास बोर्डले सार्वजनिक गरेको तथ्याङ्कमा उल्लेख छ ।
उक्त चलचित्रकी अभिनेत्री स्वस्तिमा खड्काले नेपालभरका दर्शकसँग भेटघाट गरे । आफ्नो चलचित्रका बारेमा प्रत्यक्ष समीक्षा लिन र दर्शकलाई धन्यवाद दिन चलचित्र भवन पुग्ने गरेको अभिनेत्री खड्काले बताए ।
उनले भने, “हामीलाई दर्शकले दिनुभएको मायालाई प्रत्यक्ष भेटेर नै कृतज्ञता प्रकट गरिरहेका छौँ । हामीले प्रत्यक्ष भेट्दा पाउने प्रतिक्रिया र उनीहरूको मुहारमा देखिने खुसीले थोरै भए पनि हाम्रोतर्फबाट धन्यवाद दिने मौका पाएँजस्तो लाग्छ । हामीलाई विश्वास गरेर आएका दर्शकलाई फर्किंदा पनि सोही विश्वास छ की छैन भनेर पनि हामीले बुझ्ने मौका पाउँछौँ ।”
चलचित्र प्रदर्शन भएको चौथो सातामा पनि उनीसहित चलचित्रका कलाकार तथा निर्देशक दर्शकसँग भेटघाट गरिरहेको छ । मोफसलका मुख्यसहरमा भेटघाट गरिसकेपछि अब काठमाडौँ उपत्यकामै भेटघाट केन्द्रित हुने उनले बताए ।
प्रायः चलचित्रको प्रचारमा सहभागी नहुने अभिनेता विपिन कार्की पनि यसपटक चलचित्र भवन पुगेर दर्शकसँग साक्षात्कार गरे । अभिनयमा अब्बल मानिने अभिनेता कार्की कलाकारको काम चलचित्र प्रचारभन्दा बढी निर्माणमा हुने मान्यता राख्नुहुन्छ । यद्यपि, यसपटक उहाँ गत जेठ ८ देखि प्रदर्शनरत चलचित्र ‘काजी’ का लागि चलचित्र भवन पुग्नुभयो ।
“दर्शकसँग भेटघाट गरेर प्रतिक्रिया लिँदा हामीले गरिरहेको कामका बारेमा प्रत्यक्ष बुझ्ने मौका पाउछौँ, यो प्रायः रङ्गमञ्चमा हुन्छ भने पछिल्लो समय चलचित्र प्रदर्शन भएपछि हुने गरेको छ । म पनि चलचित्र प्रदर्शन भएका बेला समय मिलेसम्म दर्शक भेट्ने गर्छु”, अभिनेता कार्कीले भने ।
हाल चलचित्र भवनमा प्रदर्शनरत चलचित्र ‘मितज्यू’का अभिनेता दयाहाङ राई पनि समय मिलाएर चलचित्र भवन पुगिरहेको छ । यसका साथै, चलचित्र ‘रोल नम्बर १’ अभिनेता मुकुन भुसाल, सुशाङ्क मैनाली लगायतले चलचित्र प्रदर्शन भएपछि काठमाडौँ उपत्यका अगाडि मोफसल पुगेर दर्शक भेटे ।
पछिल्लो समय नेपाली चलचित्र प्रदर्शन भएको साता वा चलचित्र भवनमा राम्रो दर्शक हुँदा कलाकारसहित निर्माण समूह दर्शकलाई भेट्न पुग्ने गरेका छन् ।
यसले चलचित्रको बारेमा प्रतिक्रिया पाउनुका साथै प्रचारप्रसार पनि हुने निर्माता तथा निर्देशकको भनाइ छ । चलचित्र भवन पुगेका कलाकारलाई भेट्ने, तस्बिर र श्रव्यदृश्य खिचेर दर्शकले आफ्नो सामाजिक सञ्जालमार्फत सार्वजनिक गर्ने भएकाले पनि त्यसले प्रचार हुने विश्वास चलचित्रकर्मीको छ ।
प्रकाशित समय : १६:३८ बजे



















