गृहपृष्ठ सिद्धार्थ बैंकद्वारा भूकम्प प्रभावित विद्यालयको नवनिर्मित भवन हस्तान्तरण
सिद्धार्थ बैंकद्वारा भूकम्प प्रभावित विद्यालयको नवनिर्मित भवन हस्तान्तरण
काठमाडौं । सिद्धार्थ बैंकको आर्थिक सहयोगमा रुकुम पश्चिमको सानीभेरी गाउँपालिका–१, भण्डारवनस्थित श्री जनप्रिय आधारभूत विद्यालयको नवनिर्मित विद्यालय भवन हस्तान्तरण गरिएको छ।
भूकम्पबाट क्षतिग्रस्त विद्यालय भवनको पुनर्निर्माणसँगै विद्यार्थी तथा शिक्षकहरूको सुविधालाई मध्यनजर गर्दै सुलभ पहुँचयुक्त शौचालय समेत निर्माण गरिएको बैंकले जनाएको छ। नवनिर्मित संरचनाको उद्घाटन तथा हस्तान्तरण कार्यक्रममा बैंकका पदाधिकारी, स्थानीय जनप्रतिनिधि, विद्यालय व्यवस्थापन समितिका सदस्य, शिक्षक, अभिभावक तथा विद्यार्थीहरूको उल्लेख्य सहभागिता रहेको थियो।
बैंकका अनुसार पुनर्निर्माण गरिएको विद्यालय भवनले विद्यार्थीहरूलाई सुरक्षित, व्यवस्थित तथा गुणस्तरीय शिक्षाको वातावरण उपलब्ध गराउनेछ। साथै, नियमित पठनपाठनलाई सहज बनाउँदै समग्र शैक्षिक गतिविधिलाई थप प्रभावकारी बनाउन महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ।
सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत सिद्धार्थ बैंकले शिक्षा, स्वास्थ्य तथा सामुदायिक विकासका क्षेत्रमा विभिन्न पहलहरू सञ्चालन गर्दै आए र बैंकले दिगो विकास लक्ष्यलाई प्राथमिकतामा राख्दै आगामी दिनमा पनि समुदायको आवश्यकता अनुरूप यस्ता सामाजिक तथा विकासमुखी कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ।
बैंकले यस्ता कार्यक्रममार्फत विपद् प्रभावित क्षेत्रका नागरिक तथा शैक्षिक संस्थाहरूको पुनर्स्थापना र विकासमा सहयोग पुर्याउँदै आएको छ।
प्रकाशित समय : १६:१९ बजे



















