गृहपृष्ठ अत्यधिक गर्मीको अवस्था झनै गम्भीर बन्दै गएको छ : महानिर्देशक श्रेष्ठ
अत्यधिक गर्मीको अवस्था झनै गम्भीर बन्दै गएको छ : महानिर्देशक श्रेष्ठ
काठमाडौं । जल तथा मौसम विज्ञान विभागकी निर्देशक अर्चना श्रेष्ठले जलवायु परिवर्तनका प्रभाव नेपालमा प्रत्यक्ष रूपमा देखिन थालेको बताएकी छन्। मंगलबार ‘हिट एक्शन डे’ का अवसरमा आयोजित कार्यक्रममा बोल्दै श्रेष्ठले बढ्दो तापक्रम, गर्मीका दिनको संख्या वृद्धि तथा अत्यधिक गर्मीका घटनाले जनजीवन, स्वास्थ्य, कृषि र अर्थतन्त्रमा असर पार्न थालेको उल्लेख गरिन्।
विभागले पछिल्ला वर्षहरूमा गर्मीको बढ्दो प्रभावबारे अध्ययन र निगरानीलाई तीव्र बनाएको उनले बताइन्। विभागले सार्वजनिक गरेका प्रतिवेदनहरूले गर्मीका दिनहरूको संख्या बढ्दै गएको, लगातार गर्मी रहने अवधि लम्बिँदै गएको तथा भविष्यमा पनि यस्तै प्रवृत्ति कायम रहने संकेत गरेको उनले जानकारी दिइन्।
उनले भनिन्,‘सन् २००० यता देशका ४० भन्दा बढी मौसम केन्द्रमा अघिल्ला तापक्रमका रेकर्डहरू तोडिएका छन् । पछिल्ला पाँच वर्षमा अत्यधिक गर्मीको अवस्था झनै गम्भीर बन्दै गएको देखिएको छ।’
उनले जलवायु परिवर्तन अब भविष्यको विषय नभई वर्तमानको चुनौती बनिसकेको भन्दै त्यसैले यसको प्रभाव न्यूनीकरण तथा अनुकूलनका लागि विभागले विभिन्न निकायसँग सहकार्य गरिरहेको बताइन् ।
उनले भनिन्,‘जलवायु परिवर्तन अब भविष्यको विषय नभई वर्तमानको चुनौती बनिसकेको छ । त्यसैले यसको प्रभाव न्यूनीकरण तथा अनुकूलनका लागि विभागले विभिन्न निकायसँग सहकार्य गरिरहेको छौं ।’
उनले विभागले गर्मीको लहरको निगरानी, पूर्वसूचना प्रणालीको विकास तथा समुदायसम्म समयमै सूचना प्रवाह गर्ने कामलाई प्राथमिकता दिएको बताइन्।
साथै, विभिन्न क्षेत्रका आवश्यकतालाई ध्यानमा राख्दै ‘इम्प्याक्ट बेस्ड फोरकास्टिङ’ अर्थात् प्रभावमा आधारित मौसम पूर्वानुमान प्रणाली लागू गरिएको जानकारी दिइन्।
उनका अनुसार मधेश प्रदेशका दुई जिल्लामा गर्मीको लहर सम्बन्धी प्रभावमा आधारित पूर्वानुमानको परीक्षण भइरहेको छ। यसबाट ऊर्जा, कृषि, स्वास्थ्य, जलस्रोत तथा श्रम क्षेत्रमा गर्मीले पार्ने प्रभावको पूर्वआकलन गर्न सहज हुने अपेक्षा गरिएको छ।
उनले भनिन्,‘तापक्रम मात्र होइन, आद्र्रता, हावाको अवस्था र अन्य मौसमीय कारकले पनि गर्मीको प्रभाव निर्धारण गर्छ । त्यसैले वैज्ञानिक विश्लेषणका आधारमा जोखिम मूल्यांकन र पूर्वतयारीमा जोड दिइएको छ।’
निर्देशक श्रेष्ठले यस वर्षको मनसुन सामान्यभन्दा कमजोर रहने पूर्वानुमान सार्वजनिक भइसकेको स्मरण गराउँदै त्यसले अत्यधिक गर्मीका दिन बढ्न सक्ने संकेत गरेको बताइन्।
उनले सुदूरपश्चिम र लुम्बिनी प्रदेशका लागि गर्मीको लहरसम्बन्धी पूर्वसूचना जारी गरिसकिएको जानकारी दिँदै नागरिकलाई मौसम तथा जलवायु सम्बन्धी सूचनाबाट नियमित रूपमा अपडेट रहन आग्रह गरिन्।
श्रेष्ठले विभागले जल तथा मौसम विज्ञान सम्बन्धी कानुनी तथा नीतिगत संरचना सुदृढ गर्न नयाँ ऐन तथा राष्ट्रिय जलवायु सेवा ढाँचा निर्माणको तयारी गरिरहेको समेत बताइन्।
प्रकाशित समय : १९:४५ बजे



















