गृहपृष्ठ विश्व थाइराइड दिवसः पुरुषका तुलनामा महिलालाई थाइराइडको उच्च जोखिम
विश्व थाइराइड दिवसः पुरुषका तुलनामा महिलालाई थाइराइडको उच्च जोखिम
चितवन । ‘हमर्न’ कारण पुरुषका तुलनामा महिलालाई थाइराइडको जोखिम उच्च हुने इन्डोक्राइमोलोजिष्ट (हर्मोन विशेषज्ञ)विशेषज्ञहरुले बताएका छन । चितवन मेडिकल कलेज (सिएमसी) शिक्षण अस्पतालका इन्डोक्राइमोलोजिष्ट डा सौरव खतिवडाले १५ देखि २० प्रतिशत महिलालाई ‘हाइपर थाइरोडिजम’को सम्भावना हुने जानकारी दिए । उनले भने “पुरुषमा त्यसको आधा जतिलाई मात्रै हुन्छ । अर्थात् पुरुषमा पाँचदेखि आठ प्रतिशत हाराहारीलाई मात्रै हाइपर थाइरोडिजम (उच्च थाइराइड) को समस्या हुन्छ ।”
उनले घाँटीको अगाडि तलपट्टि हुने सानो ग्रन्थीलाई थाइराइड भनिने बताउँदै यसमा दुई वटा भाग हुने जानकारी दिए । उनले भने “यसले शरीरलाई आवश्यक पर्ने महत्वपूर्ण हर्मोन उत्पादन गर्दछ । यो हर्मोन हाम्रो दैनिक जीवनमा धेरै महत्वपूर्ण छ ।” थाइराइड हर्मोनले बच्चाको दिमागको वृद्धि विकासदेखि वयस्क मानिसमा काम गर्ने जाँगर, स्फूर्ति, मुटुको कामका लागि, खाना पचाउने, शरीरको मोटोपनलाई सन्तुलनमा राख्ने काम गर्ने डा खतिवडाको भनाइ छ ।
थाइराइड हर्मोन कमी भएमा केही लक्षणहरु देखिने भन्दै उनले हर्मोन बढी हुँदा केही किसिमका लक्षणहरु देखिने बताए । उनले भने “थाइराइड ग्रन्थी कहिलेकाहीँ आफैँ दुख्ने समस्या पनि आउँछ । थाइराइडमा कहिलेकाहीँ ट्युमर पनि पलाउँछ । ट्युमरहरुमा सबैभन्दा सजिलै उपचार गर्न सकिने भनेको थाइराइडको ट्युमर हो ।”
थाइराइड बढ्यो भने आत्तिने, हात काँप्ने, मुटु ढुकढुक हुने, गर्मी धेरै महसुस हुने देखिने बताउँदै डा खतिवडाले भने “यसलाई दुब्लाउने थाइराइड भनेर चिनिन्छ । यसमा टी थ्री, टी फोर भन्ने हर्मोन बढेको हुन्छ भने टिएसएच घटेको हुन्छ ।” उनले यस्ता बिरामीलाई थाइराइड हर्मोन घटाउने औषधि दिनुपर्ने बताए ।
घाँटी दुख्दैमा थाइराइड नहुने भन्दै उनले कहिलेकाहीँ थाइराइड क्यान्सरमा परिणत हुन सक्ने बताए । उनले भने “घाँटीमा गाँठागुँठी जस्ता लाग्यो भने त्यसको अल्ट्रासाउन्ड गरेर क्यान्सर हो होइन, पत्ता लगाउनु पर्छ । कहिलेकाहीँ ट्युमरको परीक्षण गरेर पनि क्यान्सर पत्ता लगाउनुपर्छ ।” यदि क्यान्सर पहिचान भयो भने शल्यक्रिया र रेडियोथेरापी गरेर निको पार्न सकिने उनको भनाइ छ ।
पुष्पाञ्जली अस्पतालका फिजिसियन डा भोजराज अधिकारी महिलाहरुमा धेरै थाइराइडको समस्या हुने बताछन । साधारणतया मानिसहरुलाई थाइराइड हर्मोन घट्ने र बढ्ने समस्या हुने जनाउँदै “जब शरीरमा थाइराइड हर्मोन कम हुन्छ (घट्छ) तब टिएसएच परीक्षण गर्दा बढेर आउँछ । यसलाई हामीले घट्ने थाइराइड भन्छौँ । अथवा टी थ्री, टी फोर घटेको हुन्छ, अर्थात् नर्मलभन्दा तल हुन्छ । यस्तो थाइराइडलाई सुस्त हुने अथवा मोटाउने थाइराइड भनेर पनि चिनिन्छ ।” यसले केहीलाई थकाइ लाग्ने कसैकसैलाई खुट्टा सुन्निने, अनुहार फुस्रो हुने, कपाल झर्ने समस्या पनि आउन सक्ने उनले बताए । उनले भने “थाइराइडको समस्या छ भने दैनिक बिहान एक घुट्की पानीसँग एउटा चक्की औषधि खाएमा राम्ररी नियन्त्रणमा आउँछ ।”
महिलाहरुमा प्रसूतिदेखि लिएर २५ देखि ५० वर्षको उमेरमा बढी थाइराइड देखिने उहाँको भनाइ छ । उनका अनुसार महिनावारी बन्द हुनेभन्दा अगाडिको समयमा थाइराइड हर्मनको धेरैजसोमा कमी देखिने गर्दछ ।
इन्डोक्राइमोेलोजिष्ट (मधुमेह, थाइराइड र हर्मन रोग विशेषज्ञ) डा उमनाथ अधिकारी महिलाहरुमा थाइराइड बढी देखिने भन्नुको कारण अटो इम्युनिटी बढी हुने बताउछन । उनले पुरुषको तुलनामा अटो इम्युनिटी बढी हुने भएकाले महिलाहरुमा थाइराइड बढी देखिने बताए ।
महिलाहरुमा अटो इम्युनिटीले बाथरोगहरु धेरै देखिने भन्दै उहाँले पुरुषमा कम देखिने बताउनुभयो । , “थाइराइड बढेपछि महिनावारी गडबढ हुन्छ । महिलाहरुमा अटो इम्युनिटीका कारण हर्मोनले थाइराइडको मात्रा बढी हुन्छ ।” महिलाहरुमा शरीर, दुख्ने, शरीर गल्ने र मोटाउने जस्ता लक्ष्यण थाइराइडले देखाउने उनको भनाइ छ ।
प्रकाशित समय : १४:२५ बजे


















