global ime bank Long Banner Ad

गृहपृष्ठ नेवारी पहिचान जोगाउन खोकनामा तीन महिने ‘धिमे नाच’ प्रशिक्षण सम्पन्न

नेवारी पहिचान जोगाउन खोकनामा तीन महिने ‘धिमे नाच’ प्रशिक्षण सम्पन्न

नेवारी पहिचान जोगाउन खोकनामा तीन महिने ‘धिमे नाच’ प्रशिक्षण सम्पन्न

ललितपुर । ललितपुर महानगरपालिका वडा नं. २१ स्थित ऐतिहासिक तथा सांस्कृतिक बस्ती खोकनामा नेवार समुदायको परम्परागत ‘धिमे नाच’ संरक्षण र प्रवद्र्धन गर्ने उद्देश्यले तीन महिने विस्तृत प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।

समावेशी बाजागाजा प्रशिक्षण समितिको आयोजना तथा वडा कार्यालयको विशेष सहयोगमा सञ्चालित यस कार्यक्रमको मुख्य उद्देश्य मौलिक बाजा नयाँ पुस्तामा हस्तान्तरण गर्नुका साथै यसैमार्फत पर्यटन र आर्थिक विकासमा टेवा पु¥याउनु रहेको छ । पछिल्लो समय आधुनिकीकरणको बढ्दो प्रभावका बीच पनि मौलिक कला र संस्कृति जोगाइराख्ने परम्परागत शैलीहरू अझैं पनि गाउँघर र टोलटोलमा जीवन्त छन् । यसैको उत्कृष्ट उदाहरण हो, नेवार समुदायको विशिष्ट पहिचान बोकेको ‘धिमे नाच’ । काठमाडौं उपत्यकामा बसोबास गर्ने नेवार समुदायको यो अत्यन्तै लोकप्रिय र प्राचीन नृत्य हो, जसलाई ‘धिमे’ बाजाको रौनकमय तालमा नाचिन्छ ।

नेवाः संस्कृति र पहिचानलाई नयाँ पुस्तामा हस्तान्तरण गर्दै निरन्तरता दिन वडा कार्यालयले यस कार्यक्रममा सहयोग गरेको वडाअध्यक्ष रविन्द्र महर्जनले बताए । नेपाल न्यूज बैंकसँगको टेलिफोन संवादमा उनले धिमे नाच विशेष गरी खुसीयाली, उमङ्ग र उत्सवको प्रतीक भएको जनाए । उनका अनुसार इन्द्रजात्रा, बिस्केट जात्रा, रातो मच्छिन्द्रनाथको भोटो जात्रा लगायत उपत्यकाका अन्य स्थानीय जात्रा तथा पर्वहरूमा धिमे नाच र बाजा नभई नहुने मुख्य आकर्षणका रूपमा रहने गर्छ ।

प्राचीन कालदेखि नै कृषि पेसामा आबद्ध नेवार समुदायले नयाँ बाली भित्र्याएको खुसीयालीमा प्रकृतितर्फ कृतज्ञता प्रकट गर्न यो नाच नाच्ने परम्परा छ । यसका साथै विवाह, व्रतबन्ध, गुठीका पूजाआजा र अन्य सांस्कृतिक तथा सामाजिक कार्यक्रमहरूमा पनि अतिथिको सत्कार र मनोरञ्जनका लागि धिमे नाच नाच्ने गरिन्छ ।

यस नाचको अर्को मुख्य आकर्षण भनेको परम्परागत भेषभूषा हो । महिलाहरू रातो किनारा भएको कालो साडी (हाकु पटासी), चौबन्दी चोलो, कम्मरमा पटुकी र परम्परागत गहनामा सजिन्छन् भने पुरुषहरू नेवारी पोसाक ‘तापाल्न’, सुरुवाल, कम्मरमा पटुकी र शिरमा कालो भाद्गाउँले टोपी ढल्काएर नाच्ने गर्छन् ।

धिमे नाच मनोरञ्जनको साधन र देखावटी कला मात्र नभई यसले सिंगो नेवार समुदायको समृद्ध कला, गौरवशाली इतिहास र जीवनशैली झल्काउने वडाध्यक्ष महर्जनले प्रस्ट पारे । यसले समुदायका मानिसलाई एकै ठाउँमा भेला गराई एकता, आपसी सद्भाव र भाइचारा बढाउन ठूलो भूमिका खेल्ने उनले बताए । पछिल्लो समय परम्परागत संस्कारहरू हराउँदै गएकोमा महर्जनले चिन्ता व्यक्त गरे ।

‘आधुनिकीकरणले गर्दा कतै हाम्रा मौलिक परम्पराहरू हराउँदै जाने हुन् कि भन्ने चिन्ता थियो, तर अहिले युवा पुस्ताले पनि धिमे बाजा बजाउन र नाच्न देखाएको उत्साहले हामीलाई आशावादी बनाएको छ,’ महर्जनले भने ।

प्रकाशित समय : १०:०८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु