global ime bank Long Banner Ad

गृहपृष्ठ मकवानपुरमा मदिरा सेवन गरी सवारी चलाउने विरुद्ध कडा अभियान सुरु

मकवानपुरमा मदिरा सेवन गरी सवारी चलाउने विरुद्ध कडा अभियान सुरु

मकवानपुरमा मदिरा सेवन गरी सवारी चलाउने विरुद्ध कडा अभियान सुरु

हेटौंडा । जिल्ला प्रहरी कार्यालय मकवानपुर तथा जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरले मदिरा सेवन गरी सवारी साधन चलाउने चालकहरू विरुद्ध कडा चेकिङ अभियान सुरु गरेको छ । बजार क्षेत्रसँगै राजमार्गमा समेत विशेष निगरानी बढाइएको प्रहरीले जनाएको हो ।

पछिल्लो समय मदिरा सेवनपछि सवारी चलाउँदा हुने दुर्घटनाको दर बढ्दै गएको र यसले सर्वसाधारणको ज्यानमा गम्भीर जोखिम सिर्जना गरिरहेको निष्कर्षपछि प्रहरीले अभियानलाई थप प्रभावकारी बनाएको हो ।

अभियानअन्तर्गत राजमार्ग तथा व्यस्त सडक खण्डहरूमा गुड्ने बस, अटो, मयूरी, मोटरसाइकल, स्कुटरदेखि सरकारी सवारी साधनसम्म सबैलाई अनिवार्य रूपमा जाँच गरिएको छ । प्रहरीले कुनै पनि सवारीलाई छुट नदिई समान रूपमा चेकिङ गरिरहेको जनाएको छ । मदिरा सेवन गरेर सवारी चलाउने, तीव्र गतिमा गाडी कुदाउने तथा अनावश्यक ध्वनि प्रदूषण गर्ने चालकहरूलाई तत्काल नियन्त्रणमा लिएर कानुनी कारबाही अघि बढाइएको हो ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक (एसपी) श्यामबहादुर खत्रीले कानुनभन्दा माथि कोही पनि नरहेको स्पष्ट पार्दै नियम उल्लङ्घन गर्ने जोसुकैलाई कडाभन्दा कडा कारबाही गरिने बताए ।

उनले भने, ‘चाहे सरकारी सवारी होस् वा निजी, सबैलाई एउटै नियम लागू हुन्छ । मदिरा सेवन गरी सवारी चलाउने र समाजमा अव्यवस्था सिर्जना गर्ने जोसुकैलाई पनि हामी कारबाही गर्छौं ।’प्रहरीका अनुसार विशेषगरी रातिको समयमा मदिरा सेवन गरी सवारी चलाउने प्रवृत्ति बढ्दै गएको छ, जसका कारण दुर्घटना, झगडा तथा अन्य आपराधिक गतिविधिहरू पनि बढ्ने गरेका छन् । यस्तो अवस्थालाई नियन्त्रण गर्न दैनिक रूपमा विभिन्न स्थानमा चेकिङ तीव्र पारिएको र आगामी दिनहरूमा अझ सशक्त बनाइने योजना रहेको छ ।

यस अभियानलाई आजदेखि निरन्तर रूपमा लागू गरिएको र कुनै पनि हालतमा कमजोर नपारिने प्रहरीको भनाइ छ । प्रहरीले सबै चालकलाई जिम्मेवार भएर सवारी चलाउन, मदिरा सेवनपछि सवारी नचलाउन र ट्राफिक नियमको पूर्ण पालना गर्न आग्रह गरेको छ । साथै, सर्वसाधारणलाई सुरक्षित यात्राको लागि सचेत रहन र नियम उल्लङ्घन गर्नेहरूबारे जानकारी दिन समेत अनुरोध गरिएको छ ।

प्रकाशित समय : १०:१० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु