गृहपृष्ठ पर्यापर्यटनको नयाँ गन्तव्य बन्दै ‘वेतना सिमसार’
पर्यापर्यटनको नयाँ गन्तव्य बन्दै ‘वेतना सिमसार’
बेलबारी मोरङ । प्राकृतिक सौन्दर्यले भरिपूर्ण मानिएको वेतना सिमसार पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा परेको छ । पर्यापर्यटनसहितको पर्यटकीय गन्तव्यका रूपमा विकास हुँदै गएको वेतना सिमसारमा स्वदेशी तथा विदेशी विश्वविद्यालयबाट विद्यार्थीहरू अनुुसन्धानका लागि आउने क्रम बढेको हो ।
पहिला वनभोज खान र घुुमघामका लागि मात्र आन्तरिक पर्यटक आउने गरेकामा पछिल्लो समय सिमसार क्षेत्रमा जीवजन्तुुको अनुुसन्धान गर्ने उद्देश्यले विद्यार्थीहरू आउने क्रम बढेको वेतना सिमसार सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष शम्भु भट्टराईले बताए । अघिल्लो साता काठमाडौँको एक कलेजबाट यहाँको पानी अनुुसन्धानका लागि विद्यार्थीको टोली आएको उनले जानकारी दिए।
प्रायः दैनिक दुई सयको हाराहारीमा आउने आन्तरिक पर्यटकले सिमसारमा प्रत्यक्ष रूपमा देख्न पाउने साइबेरियाबाट आउने पर्यटक चराका साथै कछुवा, माछा, अजिङ्गर, हरिणलगायत जीवजन्तुुले लोभ्याउने गरेको अध्यक्ष भट्टराईले उल्लेख गरे । “सुुनसरीको इटहरी चोकबाट १६ किलोमिटर पूर्व गएपछि हरियो वनले ढपक्कै ढाक्छ । त्यससँगै केही मिटरपर पूर्वपश्चिम राजमार्गअन्तर्गत मोरङको बेलबारीमा वेतना सिमसार रहेको छ”, उनले भने ।
दुई प्रजातिका वेत वनस्पतिको जङ्गल रहेकाले यस क्षेत्रलाई वेतना सिमसार क्षेत्र भनिएको सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष भट्टराईले बताए । यहाँ विशेषगरी चिसो पानी, स्वच्छ हावा र मनोरम दृश्यसँगै चरा, माछा र कछुुवाको अवलोकन गर्न पाइने भएकाले आन्तरिक पर्यटकको रोजाइमा पर्न थालेको उनको भनाइ छ ।
प्रकाशित समय : १६:५८ बजे


















