global ime bank Long Banner Ad
nmb bank

गृहपृष्ठ उद्योगपति पाण्डेद्वारा महायज्ञमा ५४ लाख बढी दान

उद्योगपति पाण्डेद्वारा महायज्ञमा ५४ लाख बढी दान

उद्योगपति पाण्डेद्वारा महायज्ञमा ५४ लाख बढी दान

कास्की । पोखराका उद्योगपति तथा समाजसेवी हरि पाण्डे तथा उहाँका धर्मपत्नी तुलसा पाण्डेले वैवाहिक जीवनको ५९औँ वर्षगाँठका अवसरमा बिहीबार पोखराको मानव सेवा आश्रमका लागि ५४ लाख ४४ हजार ४४२ सहयोग गरेको छ ।

पोखरा महानगरपालिका–८ सृजनाचोक निवासी पाण्डे दम्पतीले आफ्नो वैैवाहिक वर्षगाँठलाई मानवसेवा र धर्मकार्यमा समर्पित गर्दै मानवसेवा आश्रमद्वारा यहाँ जारी श्रीमद् भागवत सप्ताह ज्ञानविज्ञान महायज्ञ २०८३ मा सो सहयोग गरेको महायज्ञ मूल आयोजक समितिका संयोजक अनिलकुमार शाहीले जानकारी दिए ।

मानवसेवा आश्रम पोखरा–हेम्जाको भवन निर्माण सम्पन्नता, लक्ष्मीनारायण मन्दिर निर्माण सम्पन्नता, मुक्तिनाथ सेवा धर्मशाला निर्माण तथा अक्षयकोष श्रीवृद्धिको महान उद्देश्यसहित यही वैशाख १९ गतेदेखि महायज्ञ आयोजना गरिएको हो । महायज्ञमा पाण्डे दम्पतीले आजीवन वार्षिक भोजनसेवा ग्रहण गर्दै १८ दिनको वार्षिक भोजन सेवा सदस्यताका लागि १८ लाख ८८ हजार ८८७ सहयोग गर्नुभएको हो । यसैगरी मुक्तिनाथ सेवा धर्मशाला निर्माणअन्तर्गत पाँच कोठा निर्माणका लागि ३५ लाख ५५ हजार ५५५ सहयोग गरेको यज्ञ मूल आयोजक समितिले जनाएको छ ।

“वैवाहिक वर्षगाँठजस्तो विशेष अवसरलाई व्यक्तिगत उत्सवमा सीमित नराखी मानवताको सेवामा समर्पित गर्दै गरिएको सहयोगलाई महायज्ञकै प्रेरणादायी योगदानका रूपमा लिएका छौैँ । पाण्डे दम्पतीको उदार सहयोगले आश्रमको सेवा विस्तार, पूर्वाधार विकास तथा दिगो मानवीय सेवामा महत्त्वपूर्ण टेवा पुगेको छ”, मूल आयोजक समितिका संयोजक शाहीले भने ।

पाण्डे दम्पतीले यसअघि पनि २०७९ साल माघ २० गतेदेखि २७ गतेसम्म सम्पन्न श्रीमद् भागवत ज्ञानविज्ञान महायज्ञमार्फत भवन निर्माण सम्पन्नताका लागि ३० लाख ६६ हजार ६६६ सहयोग प्रदान गरेको थियो । मानव सेवा आश्रमले पाण्डे दम्पतीको योगदान समाजका लागि प्रेरणाको स्रोत बन्दै समाजमा सकारात्मक सन्देश प्रवाह गरेको जनाएको छ ।

आश्रमका अनुसार महायज्ञमार्फत करिब रु चार करोड सङ्कलन गर्ने लक्ष्य राखिएको छ । सङ्कलित रकम पोखरा शाखाको निर्माणाधीन भवन सम्पन्न गर्न, लक्ष्मीनारायण मन्दिर तथा मुक्तिनाथ धर्मशाला निर्माण र अक्षयकोष वृद्धि गर्न खर्च गरिने आश्रमका अध्यक्ष रामजी अधिकारीले बताए । उनका अनुसार करिब १२ करोड लागत अनुमान गरिएको भवन निर्माण हालसम्म ६० प्रतिशत सकिएको छ ।

आश्रमले विगत १३ वर्षदेखि बेसहारा, अशक्त, अभिभावकविहीन बालबालिका तथा सडकआश्रित मानवको उद्धार, उपचार, संरक्षण र पुनःस्थापनाको काम गर्दै आएको छ । हाल देशका २३ जिल्लामा ३४ सेवा केन्द्रमार्फत करिब दुई हजार २०० जनालाई सेवा प्रदान गरेको छ । पोखराका दुई केन्द्रमा मात्र करिब ३०० आश्रित रहेका छन् ।

प्रकाशित समय : ०६:१७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु