काठमाडौं । नेपालकै अग्रणी सिमेन्ट उत्पादक कम्पनीमध्ये एक शुभश्री जगदम्बा सिमेन्ट मिल प्रालिले सार्वजनिक गरेको पछिल्लो वित्तीय विवरण अनुसार कम्पनीको वित्तीय अवस्था उल्लेखनीय रूपमा सुधार भएको देखिएको छ । सौरभ समूहअन्तर्गत सञ्चालन हुने र सन् २००७ मा स्थापना भई सन् २०२४ जुलाईदेखि पब्लिक लिमिटेडमा रूपान्तरण भएको यस कम्पनीले पर्साको वीरगञ्ज–३२, चोर्नीस्थित प्लान्टमार्फत सिमेन्ट उत्पादन गर्दै आएको छ ।
रेटिङ एजेन्सी इक्रा नेपालको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०२४ मा सञ्चालन आम्दानी १ अर्ब ९० करोड ३० लाख रुपैयाँ रहेकोमा आर्थिक वर्ष २०२५ मा यो बढेर तीन अर्ब ६० करोड रुपंैयाँ पुगेको छ । यसले एक वर्षमै आम्दानी लगभग दोब्बर भएको देखाउँछ ।
सञ्चालन नाफापनि ३.१ प्रतिशतबाट बढेर ४.४ प्रतिशत पुगेको छ । साथै, ऋण र नेट वर्थ अनुपात १.३ बाट घटेर ०.५ मा झरेकोले कम्पनीको वित्तीय संरचना बलियो भएको संकेत गर्छ ।
त्यस्तै, ब्याज कभरेज अनुपात ०.५ बाट २.७ मा पुगेको छ, जसले कम्पनीले आफ्नो ऋणको ब्याज तिर्ने क्षमता उल्लेखनीय रूपमा सुधार गरेको देखाउँछ । प्रतिबेदन अनुसार यस कम्पनीको दैनिक ग्राइन्डिङ क्षमता करिब २,४०० मेट्रिक टन रहेको छ । यसले ओपिसी, पिपिसी÷पिएससी गरी तीन प्रकारका सिमेन्ट उत्पादन गर्दै आएको छ ।
आर्थिक वर्ष २०२६ को पहिलो छ महिनामा कम्पनीले १ अर्ब ५५ करोड ५० लाख रुपैयाँको कारोबार गरिसकेको छ, जसले चालू वर्षमा पनि सुधारको गति कायम रहने अपेक्षा गरिएको छ । कम्पनीको मुख्य चुनौती भने तरलता रहेको छ । कार्यशील पूँजीको आवश्यकता उच्च रहेको र ऋणको अवधि बढ्दा नगद प्रवाहमा दबाब परेको देखिएको छ । आर्थिक वर्ष २०२६ को मध्यसम्म कार्यशील पूँजी अनुपात करिब ५२ प्रतिशत पुगेको छ, जसका कारण बैंकबाट लिइने क्रियाशील पूँजी ऋण बढेको छ ।
त्यसैबीच, कम्पनीले अल्पकालीन आवश्यकताका लागि सञ्चालक तथा समूहभित्रका कम्पनीबाट ऋण लिनुपरेको अवस्था पनि देखिएको छ । यसले पूँजी संरचनामा दबाब सिर्जना गर्दै कुल ऋण अनुपात १०.९ गुणासम्म पुगेको छ । कम्पनीको ब्याज तिर्ने क्षमता आर्थिक वर्ष २०२५ मा २.७ गुणा र चालू वर्षको पहिलो छ महिनामा २.४ गुणा रहेको छ, जसले मध्यम स्तरको ऋण वहन क्षमता देखाउँछ ।
नेपालको सिमेन्ट उद्योगमा उच्च प्रतिस्पर्धा, माग–आपूर्ति असन्तुलन तथा आर्थिक चक्रको प्रभावले कम्पनीको भविष्यमा जोखिम कायम रहेको प्रतिवेदनमा उल्लेख छ । कच्चा पदार्थको मूल्य वृद्धि वा सिमेन्टको मूल्य घट्दा नाफामा असर पर्न सक्ने जोखिम पनि औंल्याइएको छ ।




















