गृहपृष्ठ पोखरा–जोमसोम मार्गमा हवाई यात्रुको सङ्ख्या घट्दो
पोखरा–जोमसोम मार्गमा हवाई यात्रुको सङ्ख्या घट्दो
मुस्ताङ । पोखरा–जोमसोम मार्गमा हवाई यात्रुको सङ्ख्या घट्दो क्रममा रहेको छ । अनुकूल याममा समेत उक्त मार्गमा हवाई यात्रुको सङ्ख्या घट्दो अवस्थामा रहेको पाइएको हो ।
जोमसोम नागरिक उड्डयन कार्यालयकाका प्रमुख दीपक पोखरेलका अनुसार गत आव २०८१/८२ को साउनदेखि असार महिनासम्ममा २६ हजार ६४२ यात्रुले पोखरा–जोमसोम हवाई मार्गबाट सेवा लिएका थिए । गत वर्ष पोखराबाट जोमसोम १४ हजार १७२ र जोमसोमबाट पोखरा १२ हजार ४७० यात्रुले हवाई मार्ग प्रयोग गरेका थिए ।
गत वर्ष तारा एयर र समिट एयरलाइन्सको टुइनेटर साना जहाजले पोखरा–जोमसोम र जोमसोम–पोखरा गरी दुई हजार ४०६ उडान भरेको प्रमुख पोखरेलले बताए । चालु आव २०८२/८३ को साउनदेखि चैत महिनासम्ममा सात हजार ५८६ यात्रुले पोखरा–जोमसोम र जोमसोम–पोखरा हवाई सेवा प्रयोग गरेका उनले बताए।
प्रमुख पोखरेलका अनुसार चालु वर्षको नौ महिनामा ६ हजार १०५ विदेशी र एक हजार ४८२ नेपाली यात्रुले हवाई सेवा प्रयोग गरेका छन् । चालु आवमा पोेखराबाट जोमसोम जाने हवाई यात्रुको सङ्ख्या तीन हजार ७९ र जोमसोमबाट पोखरा उड्ने यात्रुको सङ्ख्या चार हजार ५३९ रहेको प्रमुख पोखरेलले बताए ।
यसैगरी चालु आवको नौ महिनामा पोखरा–जोमसोम दुईतर्फी उडान सङ्ख्या ९७० रहेको छ । जोमसोम नागरिक उड्डयन कार्यालयको तथ्याङ्क अनुसार गत आवको तुलनामा चालु आवको नौ महिनामा ४०.३१ प्रतिशत मात्रै हवाई उडान भएको छ । गत आवको हवाई यात्रुको तुलनामा चालु आवको नौ महिनामा १९ हजार ५६ कम यात्रुले हवाई यात्रा गरेको तथ्याङ्क छ ।
पोखरा–जोमसोम हवाई उडान तथा यात्रुसङ्ख्या बर्सेनि घट्दै गइरहेको जोमसोमस्थित तारा एयरलाइन्सका स्टेशन इञ्चार्ज सुजन लालचनले बताए । विगत वर्षमा पोखरा–जोमसोम दैनिक २५ उडानसम्म हुने गरेकामा पछिल्लो समय १० वटा उडान पनि हुन नसकेको उनको भनाइ छ । पर्यटकीय यामको समयमा मध्यपूर्वको द्वन्द्वले विदेशी पर्यटकको आमगन सङ्ख्या घटेकाले हवाई उडान समेत प्रभावित भएको उनको भनाइ छ । मध्यपूर्व द्वन्द्वले हवाई इन्धनको मूल्य बढेकाले हवाई भाडादर वृद्धि भएका कारण पनि हवाई यात्रु घट्न थालेको इञ्चार्ज सुजन लालचनले बताए ।
यसैगरी उत्तर/दक्षिण जोड्ने राष्ट्रिय गौरवको बेनी–जोमसोम–कोरला सडक सहज हुँदै जान थालेकाले पोखरा–जोमसोम र जोमसोम–पोखरा हवाई यात्रु घट्दो अवस्थामा पुगेको इञ्चार्ज लालचन बताउँछन् ।
जोमसोम विमानस्थलमा तारा एयर र समिट एयरका दुई वायु सेवा कम्पनीले दैनिक १० नियमित उडान भर्ने गरेका छन् । सोभन्दा बढी उडान भर्नुपरेमा सम्बन्धित वायु सेवा कम्पनीले चार्टर उडानका लागि नेपाल नागरिक उड्यन प्राधिकरणसँग अनुमति लिनुपर्ने हुन्छ । मुस्ताङको धार्मिकस्थल मुक्तिनाथ र उपल्लो मुस्ताङ जाने पर्यटकलाई लक्षित गर्दै पोखरा र काठमाडौँबाट हेलिकोप्टरमार्फत चार्टर उडानसमेत हुँदैआएको जोमसोम नागरिक उड्डयन कार्यालयले जनाएको छ । रासस
प्रकाशित समय : १७:३९ बजे




















