गृहपृष्ठ सम्माननीय सभामुख अर्यालसँग संयुक्त राष्ट्रसंघकी आवासीय संयोजक याहियाको शिष्टाचार भेट
सम्माननीय सभामुख अर्यालसँग संयुक्त राष्ट्रसंघकी आवासीय संयोजक याहियाको शिष्टाचार भेट
काठमाडौं । सम्माननीय सभामुख डोल प्रसाद (डीपी) अर्याल र नेपालका लागि संयुक्त राष्ट्रसंघकी आवासीय संयोजक लीला पिटर्स याहियाले शिष्टाचार भेटवार्ता भएकाे छ । भेटमा नेपाल–संयुक्त राष्ट्रसंघ सहकार्य, युवा सहभागिता, शिक्षा, लैङ्गिक समानता, कूटनीति तथा जलवायु परिवर्तनका समसामयिक विषयमा विस्तृत छलफल भएको हाे ।
भेटका क्रममा सम्माननीय सभामुख अर्यालले आवासीय संयोजक याहियालाई स्वागत गर्दै नेपाल सरकार र संघीय संसद् संयुक्त राष्ट्रसंघसँग सहकार्य र समन्वयका लागि सदैव प्रतिबद्ध रहेको बताए । उनले पछिल्लो आम निर्वाचनपश्चात् गठन भएको प्रतिनिधि सभामा युवाहरूको उल्लेखनीय सहभागिता भएको उल्लेख गर्दै यसलाई नेपालको लोकतान्त्रिक अभ्यासको ऐतिहासिक उपलब्धि बताए । उनका अनुसार जेन–जी पुस्ताको सक्रिय भूमिका यस उपलब्धिको महत्त्वपूर्ण पक्ष हो ।
उनले समावेशी लोकतन्त्र सुदृढीकरणका लागि महिला सहभागिता वृद्धि अपरिहार्य रहेको उल्लेख गर्दै वर्तमान संवैधानिक व्यवस्थालाई थप सुदृढ बनाउँदै महिला–पुरुष ५०/५० प्रतिनिधित्वतर्फ उन्मुख हुने लक्ष्य रहेको जानकारी दिए ।
सभामुख अर्यालले अबको राजनीतिक प्राथमिकता विकास, सुशासन र चेतनाको विस्तारमा केन्द्रित हुनुपर्नेमा जोड दिए । उनले विभिन्न पुस्ताबिचको अनुभव, ऊर्जा र क्षमताको समायोजनमार्फत शिक्षा, स्वास्थ्य लगायतका आधारभूत क्षेत्रमा सुधार ल्याउने उद्देश्यका साथ प्रभावकारी कानुन निर्माणमा संसद् केन्द्रित हुने स्पष्ट पारे ।
उनले नेपाल संयुक्त राष्ट्रसंघका सिद्धान्तप्रति सदस्यता प्राप्त गरेदेखि नै निरन्तर प्रतिबद्ध रहँदै आएको उल्लेख गर्दै बहुपक्षीयतामार्फत विश्वका समसामयिक चुनौतीहरूको समाधानमा संयुक्त राष्ट्रसंघको केन्द्रीय भूमिका रहेको बताए । साथै, नेपालको आर्थिक तथा सामाजिक विकासमा संयुक्त राष्ट्रसंघ महत्त्वपूर्ण विकास साझेदारका रूपमा रहिआएको उनको धारणा थियो ।
शान्ति स्थापना मिसनमा नेपालको योगदान उल्लेख गर्दै सभामुख अर्यालले नेपाल संयुक्त राष्ट्रसंघको शान्ति स्थापना अभियानमा अग्रणी योगदानकर्ता राष्ट्रमध्ये एक भएको बताए । अन्तर्राष्ट्रिय सन्धि तथा महासन्धिहरूका सन्दर्भमा नेपालको राष्ट्रिय हितअनुरूप आवश्यक अध्ययन गरी उपयुक्त निर्णय लिने प्रतिबद्धता पनि उनले व्यक्त गरे ।
प्रकाशित समय : १७:३६ बजे




















