गृहपृष्ठ वर्षाले प्रभावित खेलमा ओमानसँग नेपाल पराजित
वर्षाले प्रभावित खेलमा ओमानसँग नेपाल पराजित
काठमाडौँ । आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत आज भएको खेलमा नेपाल ओमानसँग पराजित भएको छ ।
कीर्तिपुरस्थित त्रिवि मैदानमा भएको खेलमा नेपाल १०२ रनले पराजित भएको हो । जितका लागि ३०६ रनको लक्ष्य पछ्याएको नेपाल ३६ दशमलव ५ ओभरमा सात विकेट गुमाएर १५५ रन बनाउँदा वर्षा भएपछि खेल रोकिन पुगेको थियो । त्यसपछि पनि वर्षा नरोकिएपछि खेल सञ्चालन हुन सकेन र ‘डिएल मेथड’का आधारमा ओमान विजयी भएको हो ।
नेपालका लागि दीपेन्द्रसिंह ऐरीले सर्वाधिक ६० रनको योगदान दिए । उनले ६२ बलमा सात चौका र एक छक्का प्रहार गर्दै ६० रनको योगदान दिएका हुन् । त्यसैगरी भीम सार्कीले २८, आसिफ शेखले १९ रनको योगदान दिए भने आरिफ शेख र गुल्सन झाले समान १४/१४ रन जोडे । कप्तान रोहित पौडेलले १० रनमा आउट भए ।
बलिङतर्फ ओमानका नदिम खानले तीन विकेट लिँदा शाकिल अहमदले दुई विकेट लिए । त्यसअघि टस जितेर जितेर पहिले ब्याटिङ रोजेको ओमानले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै ३०५ रनको योगफल बनाएको थियो ।
ओमानको इनिङ्सका जतिन्दर सिंहले आक्रामक शैलीमा ९६ बलमा १५ चौका र ५ छक्का प्रहार गर्दै १३० रनको शानदार शतक पूरा गरे । उनीसँगै मध्यमक्रममा जितेन रमणन्दीले ४३ रन बनाए भने आर्यन विष्टले ३५ रन जोडे । त्यस्तै हमाद मिर्जा ले ३० रन जोड्दा आशिष ओडेदाराले २३ रन बनाए । अन्तिम ओभरहरूमा विनायक शुक्लाले २३ रन थपे भने वसिम अली १२ रनमा अविजित रहे ।
बलिङतर्फ नेपालका सोमपाल कामीले ९ ओभरमा ५९ रन खर्चेर ४ विकेट लिए । सन्दीप लामिछाने र दीपेन्द्र सिंह ऐरीले समान २/२ विकेट हात पारे । नेपाल, युएई र ओमानबीचको एकदिवसीय शृङ्खलाअन्तर्गत नेपालको यो आज दोस्रो खेल हो । यसअघि भएको पहिलो खेलमा भने नेपालले युएईलाई हराएको थियो । अब नेपालले यही वैशाख १८ गते युएईसँग खेल्नेछ ।
प्रकाशित समय : १८:३५ बजे




















