गृहपृष्ठ घरेलु टोली रुवान्डामाथि नेपालको जित
घरेलु टोली रुवान्डामाथि नेपालको जित
काठमाडौं । रुवान्डामा जारी आइसिसी महिला च्यालेन्स ट्रफी क्रिकेट प्रतियोगितामा नेपालले घरेलु टोली रुवान्डालाई ३८ रनले पराजित गरेको छ ।
नेपालले दिएको १०४ रनको लक्ष्य पछ्याएको रुवान्डा १७ दशमलव चार ओभरमा सबै विकेट गुमाउँदै ६५ रनमा समेटिएको हो । रुवान्डाका लागि म्यारी बिमेन्यिमानाले सर्वाधिक १९ रन बनाउनुबाहेक अन्य खेलाडीले दोहोरो अङ्कमा रन बनाउन सकेनन् ।
रुवान्डालाई ६५ रनमा समेट्ने क्रममा नेपालकी मनिषा उपाध्यायले चार विकेट लिइन् भने कविता कुँवर, रचना चौधरी र रिया शर्माले समान दुई–दुई विकेट लिइन् ।
त्यसअघि ‘टस’ जितेर पहिले ‘ब्याटिङ’ गरेको नेपालले निर्धारत २० ओभरमा सात विकेट गुमाएर १०३ रन बनाएको थियो । नेपालका लागि कप्तान इन्दु बर्माले सर्वाधिक ३३ रन बनाइन् भने कविता कुँवरले २४ तथा रुबिना क्षेत्रीले ११ रन बनाइन् ।
रुवान्डाका लागि हेनरित इसिम्वेले तीन विकेट लिँदा म्यारी बिमेन्यिमानाले दुई तथा बेलिसे मुरिकातेते र रोसिन इरेराले समान एक–एक विकेट लिए ।
प्रकाशित समय : १८:३७ बजे

















