गृहपृष्ठ वडामै पहिलो पटक सडक कालोपत्र
वडामै पहिलो पटक सडक कालोपत्र
तनहुँ । आँबुखैरेनी गाउँपालिका–६ मा पहिलो पटक सडक कालोपत्र निर्माण सुरु भएको छ । हालसम्म उक्त वडाका कुनै पनि सडक कालोपत्र नभएकामा पहिलो पटक सडक कालोपत्र गर्न थालिएको हो ।
वर्षौँदेखि कच्ची सडकको सास्ती भोग्दै आएका यहाँका बासिन्दाले अब सहज र सुरक्षित यातायात सुविधा पाउने आशा गरेका छन् । गाउँपालिकाको चालु आर्थिक वर्ष २०८२/८३ को बजेटअन्तर्गत हिलेखर्क खण्डमा दुई किलोमिटर र समस्तीपुर–गिरन्चौर खण्डमा दुई किलोमिटर सडक कालोपत्रको काम भइरहेको गाउँपालिकाका इन्जिनियर पङ्कज मगरले जानकारी दिए ।
हिलेखर्क सडक स्तरोन्नति योजनाअन्तर्गत जोगीनिभञ्ज्याङदेखि वडा नं ६ को कार्यालयसम्मको सडक सुधार कार्यलाई तीव्रता दिइएको छ । पहिलो चरणमा करिब दुई किलोमिटर सडक कालोपत्र गरिँदै छ भने जोगीनिभञ्ज्याङदेखि हिलेखर्कसम्मको खण्डका लागि करिब रु दुई करोड खर्च हुने उनले बताए ।
यस सडकले गाउँपालिकाको वडा नं १, २ र ६ लाई प्रत्यक्ष रूपमा जोड्ने भएकाले यसको रणनीतिक महत्व पनि उच्च रहेको छ । स्थानीय किसानका लागि कृषि उपज बजारसम्म पुर्याउन सहज हुने, विद्यार्थीहरूलाई विद्यालय आवतजावतमा सहजता हुने तथा बिरामीलाई स्वास्थ्य संस्था पुर्याउन समयमै सेवा प्राप्त हुने गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले जानकारी दिए ।
गिरन्चौरदेखि सार्तेसम्मको सडक स्तरोन्नतिका लागि सङ्घीय सरकारबाट विनियोजित करिब छ करोड हालसम्म कार्यान्वयन हुन नसकेको उनले बताए । उक्त बजेट कार्यान्वयनमा ढिलाइ हुँदा बरादीदेखि हिलेखर्कसम्मको सम्पूर्ण सडक कालोपत्र कार्य अधुरै रहने अवस्था देखिएको छ । उनले भने, “यदि सो बजेट समयमै कार्यान्वयनमा आएको भए चालु आवभित्रै बरादी–हिलेखर्क सडक पूर्ण रूपमा कालोपत्र हुने थियो ।”
चुमानले स्थानीय तहको बजेटबाट सम्भव भएसम्म सडक पूर्वाधार विकासलाई प्राथमिकता दिइएको बताउँदै सङ्घीय सरकारको बजेट छिट्टै कार्यान्वयनमा आउने विश्वास व्यक्त गरे । “हामीले आफ्नो स्रोतले सक्दो काम अघि बढाएका छौँ, बाँकी काम सङ्घीय बजेट कार्यान्वयनसँगै पूरा हुनेछ”, उनले भने ।
वडाध्यक्ष दिलीप गुरुङका अनुसार सडक कालोपत्र भएपछि धुलो र हिलोको समस्या अन्त्य हुने, सवारीसाधन सञ्चालनमा सहजता आउने र समग्र आर्थिक गतिविधि चलायमान हुने अपेक्षा गरिएको बताए ।
प्रकाशित समय : ०६:१९ बजे



















