गृहपृष्ठ एकै दिन एक हजार दुई सयभन्दा बढी पिन्ट रगत संकलन
एकै दिन एक हजार दुई सयभन्दा बढी पिन्ट रगत संकलन
काठमाडौँ । सन्त निरंकारी मण्डल नेपालले आज एकै दिन एक हजार २६७ पिन्ट रगत संकलन गरेको छ । मानव एकता दिवसको अवसरमा आज देशका विभिन्नमा रक्तदान कार्यक्रम आयोजना गरी उक्त परिमाणमा रगत संकलन गरिएको मण्डलका सचिव अनिल महर्जनले जानकारी दिए ।
त्यस क्रममा काठमाडौँमा ११८, जनकपुरधाममा १२७, सुर्खेतमा १०९, बयर घारी स्याङ्जामा ८२, नेपालगन्ज ८५, डडेलधुरामा दुई, कञ्चनपुरमा ३६, दांको गङ्गापरस्पुरमा २२ र तुल्सीपुरमा ५५ र रोल्पामा ४४ पिन्त संकलन गरिएको छ । यस्तै, धरानमा ३२, पसौनीभाठा पर्सामा ५५, बुटवल रुपन्देहीमा २५, मलङगवा सर्लाहीमा ३५, वालापुर कपिलवस्तुमा ३५, सिरहामा ४०, सप्तरीको बनरझुलामा २७ र राजविराजमा १८, विराटनगर मोरङमा ३२, बर्दियामा १४ पिन्ट र हेटौडा मकवानपुरमा २१ पिन्ट रगत संकलन भएको सचिव महर्जनले बताए ।
कैलालीमा मात्रै २५३ पिन्ट
यसैबीच कैलालीमा मात्रै आज २५३ पिन्ट रगत संकलन भएको छ । दिवसका अवसरमा कैलालीका विभिन्न स्थानमा आयोजना गरिएका रक्तदान कार्यक्रममा उक्त रगत संकलन भएको हो ।
मण्डलले कैलालीको टीकापुर, अमरावती, बौनिया, अत्तरिया, धनगढी गरी पाँच स्थानमा रक्तदान कार्यक्रम आयोजना गरेको मण्डलका अध्यक्ष नरबहादुर रावलले जानकारी दिए । उनका अनुसार टीकापुरमा ६०, अमरावतीबाट २७, बौनियामा ९२, अत्तरियामा ३८ र धनगढीबाट ३६ पिन्ट रगत संकलन भएको हो ।
“हामीले हरेक वर्ष ‘रगत नालीमा होइन, नाडीमा बगाऔँ’ भन्ने नारासहित रक्तदान कार्यक्रम गर्दै आएका छौँ । मानिसलाई आवश्यक परेको बेला र रक्त सञ्चार केन्द्रमा रगत अभाव भएमा हामी यस्ता कार्यक्रम आयोजना गर्छौँ”, उनले भने ।
आज यहाँ टीकापुर भानसिंह विश्वकर्माले ४०औँ पटक रक्तदान गरेका छन् । रगत अभाव भएर कसैको ज्यान नजाओस् भन्ने ध्येयले आफूले नियमित रगत दान गर्दै आएको उनले बताए ।
त्यस अवसरमा प्रतिनिधिसभा सदस्य कोमल ज्ञवालीले रगत अभावका कारण धेरै नागरिकले ज्यान गुमाउनु परिरहेको अवस्थामा यसरी गरिने रक्तदानले ज्यान जोगाउन धेरै सहयोग पुग्ने बताए । “रगतको अभावमा धेरै जनाले अकालमै ज्यान गुमाउनुपरेका खबर हामीले सुन्दै आएका छौँ । त्यस्तो अवस्था आउन नदिन यसरी आयोजना गरिने कार्यक्रमले निकै सहयोग पुग्छ । यस महान् कार्यका लागि सबैलाई धन्यवाद”, उनले भने ।
टीकापुर नगरपालिकाका कार्यवाहक प्रमुख रामबहादुर नर्गाजीले मानिस कर्मले नै ठूलो हुने भन्दै असल कार्यमा अगाडि मण्डलले गरिरहेको योगदानको प्रशंसा गरे ।
मण्डलका टीकापुर प्रमुख महादेव भण्डारीको अध्यक्षतामा भएको रक्तदान कार्यक्रममा जिल्ला रेडक्रस सोसाइटी कैलालीका उपसभापति बलबहादुर रावललगायतले सम्बोधन गरेका थिए ।
प्रकाशित समय : २०:४३ बजे



















