गृहपृष्ठ ‘युट्युब’ हेरेर सीप, ‘फेसबुक-टिकटक’ बाट बजारीकरण
‘युट्युब’ हेरेर सीप, ‘फेसबुक-टिकटक’ बाट बजारीकरण
म्याग्दी । मालिका गाउँपालिका-५ देवीस्थानकी अस्मिता सिउथानी कपडाको डिजाइन र सिलाई कटाइसम्बन्धी सीप सिकेर आत्मनिर्भर बनेकी छिन् ।
उनले बेनीको संगमचोकमा सञ्चालन गरेको अस्मिता टेलरिङ सेन्टरमा आफ्नै डिजाइनमा झोला तयार पार्नुका साथै सिलाई कटाइसम्बन्धी काम गर्दै आएकी छिन् । ग्राहकको मागअनुसार विभिन्न प्रकारका झोला, कुर्ता सुरुवाल, साडी र ब्लाउज तयार पार्न थालेपछि सिउथानीको व्यवसाय फस्टाएको छ ।
उनले फुर्सदको समय सदुपयोग गर्न सिकेको सिलाई कटाइसम्बन्धी व्यवसायमा फस्टाउन सामाजिक सञ्जालले निकै सघाउ पुगेको उनले बताइन् । “युट्युब हेरेर झोला र लेडिज कपडाको डिजाइन गर्न सकेको र थालेकी हुँ” सिउथानीले भनिन्, “ग्राहकको रोजाइअनुसार कपडा र झोला तयार पार्ने र सामाजिक सञ्जाल ‘फेसबुक र टिकटक’ बाटै बजारीकरण गर्दै आएकी छु ।”
काठमाडौँ, पोखराबाट कपडा ल्याएर उनले महिला, विद्यार्थी र पदयात्रीलाई लक्षित गरी झोला तयार पार्नुहुन्छ । झोलालाई आकारअनुसार प्रतिगोटा रु। एक हजार २०० देखि रु। एक हजार ७०० सम्ममा बिक्री गरिरहेको सिउथानी जानकारी दिइन् ।
“बेनी बजारसहित म्याग्दीका ग्रामीण क्षेत्रका साथै पोखरा, काठमाडौँ र विदेश जानेहरूले पनि झोला मन पराउने गरेका छन्”, उनले सुनाइन्, “विसं २०७४ मा सिलाई कटाइ व्यवसाय सुरु गरेकी थिए । पछिल्ला केही वर्षयता डिजाइनमा लागिरहेकी छु ।”
यसबाट ‘सिजन’मा मासिक एक लाख ५० हजारदेखि दुई लाखसम्म आम्दानी हुने गरेको छ । “मागअनुसार झोला र कपडा बनाउन थालेपछि बजारमा प्रतिस्पर्धा कम भएको छ । पछिल्लो समय त काम छैन भनेर बस्नुपरेको छैन”, सिउथानीले भनिन्, “दैनिक कारोबार त भइरहेकै छ । सीप सिक्न चाहनेलाई पनि सिकाइरहेकी छु । यसले पैसा र सन्तुष्टि दुवै मिलिरहेको छ ।”
उनलाई एकीकृत सेवा कार्यालय र प्रदेश सरकारले व्यवसाय सञ्चालनका लागि औजार खरिदमा सहयोग गरेको छ । यसले काम गर्न सहज र थप हौसला मिलेको सिउथानीले बताइन् ।
प्रकाशित समय : २०:४१ बजे


















