गृहपृष्ठ नेपालको च्यालेन्ज ट्रफीमा दोस्रो जित
नेपालको च्यालेन्ज ट्रफीमा दोस्रो जित
काठमाडौं । नेपालले रुवान्डामा जारी आईसीसी महिला च्यालेन्ज ट्रफीमा दोस्रो जित हासिल गरेको छ ।
बुधबार भएको खेलमा नेपालले आयोजक रुवान्डालाई २ विकेटले हराएको हो । योसँगैं नेपालले लिगमा तीन खेलमा ४ अंक जोडेको छ । रुवान्डा र इटालीको पनि ४-४ अंक नै छ । पहिलो खेलमा अमेरिकासँग पराजित भएको नेपालले यसपछि इटालीलाई हराएको थियो ।
जितको लागि ८९ रनको सामान्य लक्ष्य नेपालले अन्तिम ओभरको चौथो बलमा हासिल गरेको थियो । यो जित हासिल गर्न नेपालले आठ विकेटसमेत गुमाएको थियो ।
नेपालको लागि सम्झना खड्का र विन्दु रावलले पहिलो विकेटको लागि ५१ रनको साझेदारी गर्दै राम्रो सुरुआत दिलाए । विन्दु मात्र १० रन योगदान दिएर आउट भएकी थिइन् । दुई रनले अर्धशतक बनाउन चुकेकी सम्झना (४८ रन) प्लेयर अफ द म्याच बनेकी थिइन् ।
सम्झना आउट हुँदा नेपालको स्कोर १२.४ ओभरमा २ विकेटको नोक्सानीमा ७४ थियो । जितको लागि मात्र १५ रन आवश्यक थियो । तर, यसपछि भने नेपालले नाटकीय ढंगमा ६ विकेट गुमाउन पुगेको थियो । कप्तान इन्दु बर्मा १ रनमा रनआउट भएपछि कविता कुँवर शून्यमै पभेलियन फर्केकी थिइन् ।
४ विकेटको क्षतिमा ७९ रन भएको थियो । यसपछि ४ रन जोड्दा कविता जोशी १ रनमा आउट भइन् । स्कोर ८५ हुँदा नेपालले उपकप्तान पूजा महतोलाई गुमाउन पुगेको थियो । उनले १३ रन जोडेकी थिइन् । यसपछि ८६ रनमा रुबि पोद्दार १ र रुबिना क्षेत्री २ रनमा आउट भए ।
पराजित हुने संभावनामा रहेको नेपालको लागि रचना चौधरीले विजयी रन जोडिन् । उनी ३ रनमा नटआउट रहँदा रिया शर्माले बलको सामना गर्नु परेन । रुवान्डाको बलिङमा गिओभानिस उवासेले ३ तथा गिसेली इसीम्वे र हेनरेटी इसीम्वेले २-२ विकेट लिएका थिए ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको रुवान्डाले १९.४ ओभरमा अलआउट हुँदैं ८८ रन बनाएको थियो । एलिस इकुज्वेले सर्वाधिक १७ रन तथा मार्भेली उवासेले १५ रन, क्लारिस उवासेले १३ रन र रोसिन इरेराले १२ रन बनाए । अन्यले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
नेपाली बलरमा रचना चौधरीले सर्वाधिक ३ विकेट लिइन् भने कविता कुँवर र पुजा महतोले २-२ तथा मनिषा उपाध्याय र रिया शमाले १-१ विकेट हासिल गरेका थिए ।
प्रकाशित समय : १२:३७ बजे



















