nmb bank

गृहपृष्ठ दैलेखमा लोक नृत्य तथा सांस्कृतिक सम्मेलन

दैलेखमा लोक नृत्य तथा सांस्कृतिक सम्मेलन

दैलेखमा लोक नृत्य तथा सांस्कृतिक सम्मेलन

सुर्खेत । दैलेखमा लोक नृत्य तथा सांस्कृतिक सम्मेलन सकिएको छ । कर्णालीको लोक नृत्य तथा संस्कृति प्रबद्र्धनका लागि नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानले सम्मलनको आयोजना गरेको हो । शुक्रबारदेखि आइतबारसम्म सञ्चालन भएको सम्मेलनमा कर्णालीका सात जिल्लाका लोकसंस्कृति झल्कने नृत्य, लोकनाटक र झाँकी प्रस्तुत गरिएको थियो ।

नेपाली भाषा र संस्कृतिको उद्गमस्थल मानिने दैलेखमा आयोजित यस सम्मेलनले कर्णालीको कला–संस्कृतिको संरक्षण, संवद्र्धन र प्रवद्र्धनमा महत्वपूर्ण योगदान पुग्ने कर्णाली प्रदेशका समाजिक बिकासमन्त्री घनश्याम भण्डारीले बताए । नौमुले गाउँपालिका अध्यक्ष छविराम सुवेदीले नौमुलेमा सम्मेलन गरी यहाँको बहुभाषी सांस्कृतिक अवस्थालाई उजागर गर्न मद्त पुगेको बताए ।

प्रज्ञा प्रतिष्ठानका प्राज्ञ परिषद् सदस्य बखतबहादुर हमालले कर्णालीका १० वटै जिल्लाका मौलिक लोक नृत्य तथा लोक नाट्य एउटै मञ्चमा प्रस्तुत गरिएको बताए । ‘सम्मेलनमा कर्णालीको लोक नृत्य तथा संस्कृतिको वर्तमान अवस्था, चुनौती र सम्भावनाबारे छलफल भएको छ’ उनले भने, ‘कर्णालीका सात जिल्लाका स्रष्टा तथा कलाकारहरूलाई सम्मान गरिएको र यहाँका मौलिक कला, लोकसंगीत, नृत्य र नाट्य प्रस्तुति गरिएका छन् ।’

कर्णाली प्रदेशमा मौलिक कला–संस्कृति धनी भए पनि यसको संरक्षण र प्रवद्र्धन अपेक्षित रूपमा हुन सकेको छैन । पुस्तान्तरणको अभावले मौलिक कला लोप हुने जोखिम बढेकाले यस्तो सम्मेलनले महत्वपूर्ण भूमिका खेल्ने आयोजकले बताएका छन् ।

सम्मेलनमा मुगुबाट ‘चम्पा’ नाँच, दैलेखबाट राउटे नाच तथा दुल्लुदराको माझखण्डबाट धमारी नाच प्रस्तुत गरिएको थियो । जुम्लाको खाँडो नाचसँगै कर्णालीको कथा बोकेको लोकनाटक प्रस्तुत गरिएको थियो । जाजरकोटको वीरता र युद्धकला झल्कने खाँडो नाच प्रस्तुत गरेको थियो भने सल्यानको दार्मा गाउँपालिकाबाट सल्यानी टप्पा, सुर्खेतबाट झ्याउरे नृत्य र कालिकोटबाट हुड्क्यौलीसहित देउडा खेल प्रस्तुत गरिएको थियो ।

नौमुले गाउँपालिकाबाट मारुनी, सोरठी तथा पञ्चेबाजासहित नयाँ पुस्ताका लोकप्रिय गीतहरूमा आधारित प्रस्तुति पनि देखाइएको थियो । सम्मेलनमा कर्णालीको लोकनृत्य र संस्कृतिबारे अध्येता राजबहादुर कुँवरले कार्यपत्र प्रस्तुत गरेका थिए । कार्यपत्रमाथि प्राज्ञ सदस्य प्रा.डा.मधुसुधन गिरी, लोकनृत्य सम्राट कुलमान नेपालीलगायतले टिप्पणी गरेका थिए ।

कर्णालीका कलाकारसँगै राष्ट्रियस्तरका चर्चित कलाकारहरूको पनि प्रस्तुति रहेको थियो । कार्यक्रममा टिका पुन, विनोद विक, सुकदेव अधिकारी, सपना शाही, संगीता बडुवाल, टेकराज भण्डारी तथा ‘द भ्वाइस अफ नेपाल’को सातौँ संस्करणकी विजेता निता थापा मगरले प्रस्तुती रहेको थियो ।

प्रकाशित समय : ०९:४८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु