nmb bank

गृहपृष्ठ धनुषामा चार करोडको लागतमा निर्माण हुने भवन शिलान्यास

धनुषामा चार करोडको लागतमा निर्माण हुने भवन शिलान्यास

धनुषामा चार करोडको लागतमा निर्माण हुने भवन शिलान्यास

जनकपुरधाम । धनुषाको बटेश्वर गाउँपालिका-३ स्थित जनशक्ति माध्यमिक विद्यालयको चारतले भवन निर्माणका लागि शिलान्यास गरिएको छ । वीरगञ्जस्थित भारतीय महावाणिज्य दूतावासका महावाणिज्यदूत देवीसहाय ‘मिना’ ले आज बटेश्वरमा आयोजित समारोहबीच उक्त भवनको शिलान्यास गरेका हुन ।

भवन करिब चार करोडको लागतमा निर्माण हुने भवन करिब दुई बिघा जग्गामा बनाइनेछ । बटेश्वर गाउँपालिकाका अध्यक्ष रामअशिष महतोको अध्यक्षतामा सम्पन्न कार्यक्रममा महावाणिज्यदूत मिनाले भारत-नेपाल विकास साझेदारीअन्तर्गत मधेस प्रदेशमा ८९ वटा उच्च प्रभाव सामुदायिक विकास परियोजना (एचआइसिडिपी) स्वीकृत गरिएको जानकारी दिए । उनका अनुसार तीमध्ये धनुषामा २१ वटा परियोजना छन् । धनुषामा निर्माणाधीन २१ विद्यालय भवनमध्ये १३ वटाको काम सम्पन्न भइसकेको उनले बताए ।

नवनिर्मित भवनमा रसायन शास्त्र, भौतिकशास्त्र तथा कम्प्युटर प्रयोगशाला, पुस्तकालय, शिक्षक तथा कर्मचारी कक्ष, प्रधानाध्यापक कक्ष, बैठक कक्ष तथा बालमैत्री शौचालयको व्यवस्था हुने जनाइएको छ ।

महावाणिज्यदूत मिनाले विद्यार्थीहरूलाई आधुनिक र गुणस्तरीय शिक्षण वातावरण उपलब्ध गराउने भारत सरकारको लक्ष्य रहेको उल्लेख गरे । बालबालिका तथा विद्यार्थीका लागि प्रभावकारी शिक्षण सुविधा र अनुकूल शैक्षिक वातावरण सिर्जना गर्ने उद्देश्यले सहयोग प्रदान गरिएको उनले बताए ।

यसअघि भारत सरकारको सहयोगमा धनुषाको मुखियापट्टी मुसहरनिया गाउँपालिका-तुलसियाही जब्दीस्थित श्री वैद्यनाथ देवनारायण जनता माध्यमिक विद्यालयमा रु चार करोड लागतमा भवन निर्माण गरिएको थियो ।

एचआइसिडिपी भारत-नेपाल विकास साझेदारीको महत्त्वपूर्ण अंशका रूपमा रहेको उल्लेख गर्दै उनले विद्यालय, कलेज, अस्पताल, जल निकास, नदी तटबन्ध व्यवस्थापनलगायत नेपाल सरकारका प्राथमिकता प्राप्त क्षेत्रमा आधारभूत पूर्वाधार विकास गर्ने उद्देश्यले यी परियोजना कार्यान्वयन हुँदै आएका जानकारी दिए ।

भारत सरकारले मधेस प्रदेशमा विभिन्न विकास परियोजना स्वीकृत गर्नुका साथै एम्बुलेन्स र स्कूल बससमेत सहयोगस्वरूप उपलब्ध गराएको जनाएको छ ।

मधेस प्रदेशमा सञ्चालित परियोजना शिक्षा, स्वास्थ्य, सडक तथा पुल निर्माण, नदी तटबन्ध व्यवस्थापन, सिँचाइ, संस्कृति संरक्षण तथा प्रवर्द्धन, विद्युतीकरणलगायत विविध क्षेत्रमा केन्द्रित रहेका छन् ।

प्रकाशित समय : १८:४३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु