गृहपृष्ठ आठ वर्षमा पनि औद्योगिक क्षेत्र निर्माण अघि बढेन
आठ वर्षमा पनि औद्योगिक क्षेत्र निर्माण अघि बढेन
गण्डकी । घोषणा भएको आठ वर्ष बितिसक्दा पनि गण्डकी प्रदेशका दुई औद्योगिक क्षेत्र निर्माण अगाडि बढ्न सकेको छैन ।
कास्कीको पुँडीटार र नवलपुरको लोकाहाखोलामा बन्ने भनिएका औद्योगिक क्षेत्रका लागि प्रदेश सरकारले अझै जग्गाको भोगाधिकार पाएको छैन । दुवै प्रदेश गौरवका आयोजना हुन् । जग्गा प्राप्तिको प्रक्रिया लम्बिँदा औद्योगिक क्षेत्र निर्माणमा ढिलाइ भएको प्रदेशका उद्योग तथा पर्यटनमन्त्री मित्रलाल बस्यालले बताए ।
“पुँडीटारमा अहिले कटान गर्नुपर्ने रुखको गणना र टाँचा लगाउने काम भइरहेको छ, लोकाहाखोलामा रुखको गणना भइसकेर प्रतिवेदन वन तथा भू–संरक्षण विभागमा पुगेको छ”, उनले भने, “सङ्घको वन तथा वातावरण मन्त्रालयले प्रस्ताव लगेपछि बल्ल सङ्घीय मन्त्रिपरिषद्ले प्रदेश सरकारलाई जग्गाको भोगाधिकार दिने निर्णय गर्छ ।” प्रदेश सरकारलाई जग्गाको भोगाधिकार आएपछि औद्यागिक क्षेत्रमा संरचना निर्माणको काम अगाडि बढ्ने मन्त्री बस्यालले बताए ।
“जग्गा प्राप्तिमै धेरै समय लाग्यो, सङ्घ सरकारले जग्गाको भोगाधिकारको अनुमति जति छिटो दिन्छ, त्यहीअनुसार औद्योगिक क्षेत्र निर्माणले गति लिन्छ”, मन्त्री बस्यालले भने, “प्रदेश सरकारकातर्फबाट पनि यस विषयमा सङ्घ सरकारसँग पटकपटक छलफल भएको छ, ध्यानाकर्षण गराइएको छ ।” उनले औद्योगिक क्षेत्र निर्माणका लागि जग्गाको एकिन र नापजाँच गर्ने काम भइसकेको बताए ।
प्रकाशित समय : १३:०२ बजे



















