global ime bank Long Banner Ad
Global IME

गृहपृष्ठ कोशी प्रदेश सुरक्षित गर्भपतन सेवाः सेवा छ, जानकारी छैन

कोशी प्रदेश सुरक्षित गर्भपतन सेवाः सेवा छ, जानकारी छैन

कोशी प्रदेश सुरक्षित गर्भपतन सेवाः सेवा छ, जानकारी छैन

विराटनगर । कोशी प्रदेशमा सुरक्षित गर्भपतन सेवा उपयोग गर्नेको सङ्ख्या वृद्धि हुन सकेको छैन । पछिल्ला तीन आर्थिक वर्षका तथ्याङ्कका अनुसार निः शुल्क सुरक्षित गर्भपतन सेवाका बारेमा जानकारी नहुँदा सेवाग्राहीको सङ्ख्या वृद्धि हुन नसकेको हो । प्रदेश स्वास्थ्य निर्देशनालयको तथ्याङ्कअनुसार आव २०७९/८०, २०८०/८१ र २०८१/८२ को अवधिमा प्रदेशभर ४८ हजार ८२२ महिलाले सुरक्षित गर्भपतन सेवा लिएका छन् । प्रदेशका १४ जिल्लामा यो तथ्याङ्क कम नै हो । तर अधिकारकर्मीका अनुसार महिलाको यौन तथा प्रजनन स्वास्थ्य अधिकारप्रतिको सचेतना, सेवा पहुँच र स्वास्थ्य प्रणालीप्रति बढ्दो विश्वासको सङ्केत हो ।

सुरक्षित गर्भपतनलाई कानुनी मान्यता दिएपनि पनि सामाजिक डर, लाज र जानकारी अभावका कारण महिला जोखिमपूर्ण र अवैध गर्भपतनमा संलग्न हुनेक्रम नरोकिएको बताइएको छ । तर पछिल्ला वर्षहरूमा सरकारी स्वास्थ्य संस्थामा सुरक्षित सेवा विस्तार, स्वास्थ्यकर्मीको तालिम, निःशुल्क औषधि र गोपनीयता सुनिश्चित गर्ने प्रयासले महिलालाई स्वास्थ्य संस्थासम्म ल्याउन सहयोग गरेको स्वास्थ्यकर्मी बताउँछन् । कोशी प्रदेशमा देखिएको यो प्रवृत्तिले मातृ मृत्युदर घटाउन पनि महत्त्वपूर्ण भूमिका खेलेको उनीहरूको बुझाइ छ ।

प्रदेशभर सुरक्षित गर्भपतन सेवा लिनेमध्ये २० वर्षमाथिकासङ्ख्या अत्यधिक रहेको छ । तीन वर्षको अवधिमा ४५ हजार ५६५ महिला २० वर्षमाथिका छन् । तथ्याङ्कअनुसार तीन वर्षको अवधिमा मा १५ हजार ६३५ ले सुरक्षित गर्भपतन सेवा लिएका छन् ।

स्वास्थ्यकर्मीहरूका अनुसार विवाहपछि परिवार पूरा भइसकेका, आर्थिक अवस्था कमजोर भएका वा स्वास्थ्य कारणले गर्भधारण निरन्तरता दिन नसक्ने महिलाले सुरक्षित गर्भपतन रोज्ने गरेका छन् । बीस वर्षमाथिका महिलामा सुरक्षित गर्भपतन सेवाको उच्च उपयोग देखिनु उनीहरू आफ्नो शरीर र प्रजनन स्वास्थ्यबारे निर्णय लिन सक्षम हुँदै गएको सङ्केत हो । प्रदेश स्वास्थ्य निर्देशनालय धनकुटाकी अस्पताल नर्सिङ प्रशासक आस्था थापा भन्छिन्, “पहिले धेरै महिलाले डरका कारण असुरक्षित उपाय अपनाउने गर्थे, अहिले स्वास्थ्य संस्थामा आएर कानुनी र सुरक्षित सेवा लिन थालेका छन् ।” उनका अनुसार स्थानीय तहसम्म सेवा विस्तार हुनु र स्वास्थ्यकर्मीहरूले गोपनीयता कायम गर्ने अभ्यास बढ्नुले महिलाहरूको भरोसा जितेको छ ।

बीस वर्षमुनिका किशोरी तथा युवा महिलाले पनि सुरक्षित गर्भपतन सेवाको उपयोग उल्लेख्य रूपमा गरेका छन् । तीन वर्षमा तीन हजार २५७ किशोरी तथा युवा महिलाले सुरक्षित गर्भपतन सेवा लिएका छन् । स्वास्थ्यकर्मीहरूका अनुसार किशोरी गर्भधारणको कुल सङ्ख्या अघिल्ला वर्षको तुलनामा केही घट्दो देखिए पनि गर्भपतन गर्नुपर्ने अवस्थामा उनीहरू जोखिमपूर्ण विधिभन्दा सुरक्षित प्रक्रियातर्फ आकर्षित हँुदै गएका छन् ।

कोशी अस्पतालकी स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा अन्जु देव यो परिवर्तन सकारात्मक भए पनि यसलाई पर्याप्त उपलब्धि मान्न भने नमिल्ने बताउँछिन् । “पहिले सामाजिक डर, बदनामीको भय र परिवारको दबाबका कारण किशोरीहरू गोप्य रूपमा असुरक्षित गर्भपतनमा जान बाध्य हुन्थे”, उनी भन्छिन्, “अहिले उनीहरू स्वास्थ्य संस्थासम्म आइपुग्न थालेका छन्, जुन राम्रो सङ्केत हो । तर यौन शिक्षा, गर्भनिरोधक साधनको सही जानकारी र मानसिक परामर्शबिना किशोरी गर्भपतन दीर्घकालीन रूपमा घट्दैन ।”

समान पहुँच अझै चुनौती

जिल्लागत तथ्याङ्कले कोशी प्रदेशभित्र सुरक्षित गर्भपतन सेवामा स्पष्ट असमानता देखाउँछ । सुनसरी, झापा र मोरङमा सुरक्षित गर्भपतन सेवा लिनेको सङ्ख्या सबैभन्दा बढी छ । यी तीन जिल्लाले हरेक वर्ष प्रदेशको कुल सेवा उपयोगकर्तामध्ये ५० प्रतिशतभन्दा बढी हिस्सा ओगटिरहेका छन् । सुनसरीमा मात्र आव २०७९/८० मा तीन हजार ९९०, २०८०/८१ मा तीन हजार ९४१ र २०८१/८२ मा तीन हजार ७५४ महिलाले सुरक्षित गर्भपतन सेवा लिएका छन् ।

स्वास्थ्य निर्देशनालयका अनुसार यी जिल्लामा ठूला सरकारी तथा निजी अस्पताल, विशेषज्ञ चिकित्सकको उपलब्धता, यातायातको सहजता र सूचना पहुँच राम्रो भएकाले सेवा उपयोग बढी देखिएको हो । महिलाहरू स्वास्थ्य संस्थासम्म सजिलै पुग्न सक्ने भएकाले पनि जोखिमपूर्ण उपाय रोज्ने सम्भावना कम भएको स्वास्थ्यकर्मी बताउँछन् ।

प्रदेशका दुर्गम पहाडी जिल्लामा अवस्था भने फरक छ । ओखलढुङ्गा, खोटाङ, भोजपुर, सोलुखुम्बु र सङ्खुवासभाजस्ता जिल्लामा सुरक्षित गर्भपतन सेवाको पहँुच निकै सीमित देखिन्छ । ओखलढुङ्गामा आव २०७९/८० मा ४६, २०८०/८१ मा ७९ र २०८१/८२ मा ११२ महिलाले मात्र सुरक्षित गर्भपतन सेवा लिएका छन् । अन्य दुर्गम जिल्लामा पनि अवस्था लगभग उस्तै रहेको स्वास्थ्य निर्देशनालयको तथ्याङ्कले देखाउँछ ।

मोरङ सहकारी अस्पतालका स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. बालकृष्ण साह भन्छन्, “दुर्गम जिल्लामा सेवा कम हुनुको मुख्य कारण भौगोलिक कठिनाइ, आर्थिक अवस्था र सामाजिक सोच हो । “धेरै महिलाले गर्भपतनलाई अझै पनि लाज र अपराधसँग जोडेर हेर्छन्”, उहाँ बताउनुहुन्छ, “स्वास्थ्य संस्था टाढा हुँदा र खर्च बढ्दा उनीहरू अन्तिम समयमा मात्र अस्पताल आउँछन्, जसले स्वास्थ्य जोखिम बढाउँछ ।”

उहाँका अनुसार सुरक्षित गर्भपतन सेवा विस्तारसँगै समुदायस्तरमा चेतना अभिवृद्धि, महिला स्वास्थ्य स्वयंसेविकाको सक्रियता र किशोरीमैत्री स्वास्थ्य सेवा विकास अपरिहार्य छ । प्रदेश स्वास्थ्य निर्देशनालय धनकुटाकी नर्सिङ प्रशासक आस्था थापा पनि समान पहँुच नै आगामी दिनको मुख्य चुनौती भएको बताउँछिन् । “अब हाम्रो ध्यान सङ्ख्या बढाउनुमा होइन, सबै जिल्लामा समान र गुणस्तरीय सेवा पुर्याउन केन्द्रित हुनुपर्छ”, उनको भनाइ छ ।

तीन वर्षको तथ्याङ्कले कोशी प्रदेशमा सुरक्षित गर्भपतन सेवा महिलाको स्वास्थ्य सुरक्षाको महत्त्वपूर्ण आधार बन्दै गएको देखाउँछ । तर विज्ञहरूका अनुसार सुरक्षित गर्भपतन सेवा उपलब्ध हुनुमात्र पर्याप्त होइन । यौन तथा प्रजनन स्वास्थ्य शिक्षा, गर्भनिरोधक साधनको सहज पहुँच, मानसिक सहयोग र सामाजिक सोचमा परिवर्तनबिना अनिच्छित गर्भधारण र त्यसबाट उत्पन्न समस्या दीर्घकालीन रूपमा समाधान हुन सक्दैन । कोशी प्रदेशको अनुभवले सुरक्षित सेवा विस्तारसँगै रोकथाममुखी नीति कति आवश्यक छ भन्ने स्पष्ट सन्देश दिएको छ ।

‘सुरक्षित जीवनका लागि, सुरक्षित गर्भपतन सेवा’

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ‘सुरक्षित जीवनका लागि, सुरक्षित गर्भपतन सेवा’ भन्ने नारालाई सार्थक बनाउन सूचिकृत स्वास्थ्य संस्थाबाट मात्र गर्भपतन सेवा लिन आग्रह गरिरहेको छ । मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले भने, “साझेदारहरूका सहकार्यमा महिलाको प्रजनन स्वास्थ्य र अधिकारलाई सुनिश्चित गर्न सुरक्षित गर्भपतन सेवामा लक्षित वर्गको सहज पहुँच, गुणस्तरीय सेवा र यसको स्वीकार्यता देशभर विस्तार गर्न सरकार निरन्तर प्रतिबद्ध छ ।” उनका अनुसार हाल दुई हजार ८२७ सूचीकृत स्वास्थ्य संस्थाबाट सुरक्षित गर्भपतन सेवा निःशुल्क प्रवाह भइरहेको छ ।

उनले भने, “असुरक्षित गर्भपतनका कारण हुने मातृ मृत्युदर घटाउँदै महिलाको स्वास्थ्य र जीवन बचाउन सबैलाई सुरक्षित र सूचीकृत स्वास्थ्य संस्थाबाट मात्र गर्भपतन सेवा लिन आग्रह गर्दछौँ ।”

स्वास्थ्य सेवा विभागअन्तर्गत परिवार कल्याण महाशाखाको एक अध्ययनका अनुसार नेपालमा हुने करिब ५२ प्रतिशत गर्भपतन असुरक्षित छन् । अझै पनि सूचीकृत स्वास्थ्य संस्थाबाट भन्दा असुरक्षित र औषधि पसलबाट अनधिकृत औषधि खाएर असुरक्षित गर्भपतनमा कमी आएको छैन ।

महाशाखाका अनुसार गर्भ रहेको १० हप्ताभित्रको औषधिको प्रयोगद्वारा गरिने गर्भपतन सेवाका लागि सूचीकृत स्वास्थ्य संस्था एक हजार ६८६ र सूचीकृत स्वास्थ्यकर्मी चार हजार २५८ छन् भने १० हप्ताभित्रको औषधिको प्रयोग र उपकरणको सहायताले गरिने सेवाका लागि सूचीकृत स्वास्थ्य संस्था ७२७ र सूचीकृत स्वास्थ्यकर्मी एक हजार ४२२ छन् । त्यसैगरी, गर्भ रहेको १२ हप्तासम्मको उपकरणद्वारा गरिने सेवाका लागि सूचीकृत स्वास्थ्य संस्था ३५१, सूचीकृत स्वास्थ्यकर्मी दुई हजार ८६०, गर्भ रहेको १२ हप्ताभन्दा माथि २८ हप्तासम्मको सेवाका लागि सूचीकृत स्वास्थ्य संस्था ६३ र सूचीकृत स्वास्थ्यकर्मी १५२ भन्दा बढी छन् ।

सुनौलो परिवार नेपालका प्रबन्धक कुमार आचार्यले भन्छन्, “दक्ष स्वास्थ्यकर्मी नभएका अनधिकृत क्लिनिकहरूले प्रदान गरेका सेवा असुरक्षित हुने भएकाले त्यस्ता क्लिनिकहरूको निरीक्षण र अनुगमनलाई प्रभावकारी बनाउनु जरुरी छ । सुरक्षित गर्भपतन सेवामा पहुँच वृद्धि गर्न असुरक्षित गर्भपतनलाई निरुत्साहन गर्न आवश्यक छ ।” यसका लागि संस्थाले स्वास्थ्य मन्त्रालयसँगको सहकार्यमा विभिन्न जिल्लामा तालिम सञ्चालन एवं ११४३ हटलाइन टेलिफान सेवा सञ्चालन गरिराखेको जनाएको छ । परिवार व्यवस्थापन र सुरक्षित गर्भपतन सेवाका बारेमा जानकारी दिन सो हटलाइन सेवा अत्यन्त प्रभावकारी रहेको बताइएको छ ।

सोही संस्थाद्वारा हाल विभिन्न १८ जिल्लामा सञ्चालित २२ ‘मेरी स्टोप्स् सेन्टर’हरूले सुरक्षित गर्भपतन सेवाका साथै परिवार योजना र महिलाहरूको महिनावारी सुरु भएदेखि बन्द नहुन्जेलसम्मका सम्पूर्ण प्रजनन स्वास्थ्यसम्बन्धी परामर्श र गुणस्तरीय सेवा उपलब्ध गराउँदै आइरहेको जनाइएको छ ।

प्रबन्धक आचार्यका अनुसार सेवा प्रदान गरिएका ती स्थानमा कोशीको (बिर्तामोड, विराटनगर, इटहरी), मधेस (वीरगञ्ज, लहान, लालबन्दी), बागमती (चुच्चेपाटी, गोङ्गबु, पुतलीसडक, सातदोबाटो, नारायणगढ), लुम्बिनीको (बर्दघाट, भैरहवा, बुटवल, चन्द्रौटा, दाङ, कोहलपुर र तौलिहवा), गण्डकीको (डुम्रे र पोखरा) कर्णालीको (सुर्खेत) सुदूरपश्चिमको अत्तरिया छन् ।

प्रकाशित समय : ०८:३४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु