global ime bank Long Banner Ad

गृहपृष्ठ जेनजी आन्दोलनका सहिद: सुशासन कायम गराउने आन्दोदनमा श्रीयमको बलिदानी

जेनजी आन्दोलनका सहिद: सुशासन कायम गराउने आन्दोदनमा श्रीयमको बलिदानी

जेनजी आन्दोलनका सहिद: सुशासन कायम गराउने आन्दोदनमा श्रीयमको बलिदानी

मोरङको बेलबारी नगरपालिका–११ लक्ष्मीमार्ग घर भई पढाइको सिलसिलामा काठमाडौँ रहेका श्रीयम चौलागाईंको उच्च शिक्षा आर्जन गरी देशभित्रै बसेर समुन्नत जीवन जिउने उत्कट चाहनाबीचमै तुहिन पुग्यो ।

गत भदौ २३ र २४ गते जेनजीद्वारा गरिएको आन्दोलनमा प्रहरीको गोली लागेर कलिलो उमेरमै यस संसारबाट बिदा भएका छन । मोरङको लक्ष्मीमार्ग घर भएका श्रीयम केही वर्षअघि इटहरीबाट प्रवेशिका परीक्षा सकेर उच्च शिक्षा अध्ययनका लागि काठमाडौँ आएका थिए । काठमाडौँको ग्लोबल कलेजमा कक्षा १२ मा अध्ययनरत उनि राजनीतिमा सक्रिय नभए पनि जेनजीको आन्दोलनले उनलाई आकर्षित गरेको थियो । १८ वर्षीय श्रीयम स्कुल पोसाकमै प्रहरीको गोली लागेर नयाँबानेश्वर सडकमा ढलेका थिए । श्रीयम परिवारका दोस्रो सन्तान हुनुहुन्यो, उनकी दिदीको विवाह भइसकेको छ ।

श्रीयम आमाबुबासँग काठमाडौँ महानगरपालिका–३२ पेप्सीकोलामा भाडाको कोठामा बस्दै आउका थिए । उनको निधनसँगै ५२ वर्षीय बुबा गणेशप्रसाद र ४४ वर्षीय आमा गङ्गाको आशा, भरोसा अनि सपना सबै सेलाएको छ । गणेश पेसाले यातायात व्यवसायी छन । छोराको पढाइकै लागि परिवारै काठमाडौँ आएको बताउँदै बुबा गणेश भन्छन, “पढाइमा राम्रो भएकाले मोरङबाट काठमाडौँ ल्याएर राम्रो कलेजमा भर्ना गराएका थियौँ ।”

आफ्नो छोराको मृत्युलाई सार्थक बनाउन जेनजी सहिद परिवार सङ्घर्ष समितिमा पनि उनि आबद्ध छन । मृतकको परिवारलाई न्याय महसुस गराउन राज्यसँग १४ बुँदे मागसहित समिति बनाएर लागिपरेको गणेश बताउछन । यसमा भदौ २३ गतेको घटनाका दोषीलाई कारबाही, मृतक परिवारलाई निःशुल्क शिक्षा, स्वास्थ्य र पेन्सनलगायत माग गरिएको छ । तीमध्ये कतिपय माग पूरा हुँदै गरेको उनले बताए । यति ठूलो राजनीतिक घटनाक्रममा भएका सहिदप्रति कोशी प्रदेश सरकार र बेलबारी नगरपालिकाले कुनै चासो नदेखाएकोप्रति दुःख लागेको गणेशले बताए ।

सबैभन्दा ठूलो कुरा त, जुन उद्देश्यका लागि श्रीयम र अरू थुप्रै नवजवानले ज्यान दिए, त्यो उद्देश्यअनुरूप देश बनाउन सरकार र राजनीतिक दल एकजुट भएहुन्थ्यो भन्ने उनको भनाइ छ । भदौ २३ गते श्रीयम देशलाई सुशासन साथै दिगो निकास दिनुपर्छ भन्ने उत्साहका साथ आन्दोलनमा सहभागी बने तर विडम्बना अब उनी सकुशल घर फर्कन सकेनन् । श्रीयमका लक्ष्मी मार्ग रहेका काका राजन चौलागाई भन्छन, “हामीले हाम्रो सन्तान गुमायौँ, देशले एक असल युवा गुमायो । सहिदको सपना हामी सबै मिलेर पूरा गर्नुपर्छ ।”

श्रीयमका मामा केशव कार्कीले भन्छन, ‘‘भाञ्जा पढाइमा तेज थिए । राजनीतिमा खासै चासो थिएन जस्तो लाग्छ तर त्यो आन्दोलनमा जान्छु होला भनेर दुई दिनअघि मात्र विदेशमा रहेकी दिदीसँग कुरा भएको रहेछ ।’’ श्रीयमले इटहरीस्थित मामासँगै बसेर कक्षा ९ र १० पढेका थिए । केशव भन्छन, ‘‘उनी देशलाई निकास दिनुपर्छ भन्ने उत्साहका साथ भदौ २३ को आन्दोलनतिर हिँडे तर अब उनी सहिद भए ।’’ भदौ २३ गते म रङ्गशालामा खेलाडी छनोट प्रक्रियामा थिए, एक्कासि भाञ्जालाई गोली लागेको खबर आयो कार्की बताउछन ।

‘‘म आफैँ ट्रमा सेन्टर पुगेको थिएँ, जहाँ मृतकको सूचीमा श्रीयमको नाम सातौँ नम्बरमा देखेँ, एक्कासि टाउको फुट्ला जस्तो भयो । सम्हालिन धेरै बेर लाग्यो । सँगैहुर्काएको र पढाएको अनिसँगै हिँडेको सम्झनाले भतभती पोलिरह्यो । घरमा खबर गर्ने हिम्मत पनि तुरुन्त जुटेको थिएन’’ उनले भने ।

सरकारले जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका ४५ जनालाई सहिद घोषणा गरेको गरिसकेको छ । गत भदौ २३ र २४ गते जेनजीद्वारा गरिएको आन्दोलनमा मृत्युवरण गरेकामध्ये ४५ जनालाई गृह मन्त्रालयको प्रस्तावमा सहिद घोषणा गरिएको हो ।

प्रकाशित समय : १२:१४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु