काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

लैंगिक हिंसा प्रतिकार्य सम्बन्धी घटना व्यवस्थापन तथा सेवा प्रेषण प्रणाली निर्देशिका, २०८२ हस्तान्तरण

2.82K
shares

जनकपुर । लैंगिक हिंसा प्रतिकार्य सम्बन्धी घटना व्यवस्थापन तथा सेवा प्रेषण प्रणाली निर्देशिका, २०८२ को मस्यौदा मधेश प्रदेशका खेलकूद तथा समाज कल्याण मन्त्री प्रमोदकुमार जयसवाललाई हस्तान्तरण गरिएको छ ।

लैंगिक हिंसा सम्बन्धी घटना व्यवस्थापन तथा सेवा प्रेषण प्रणाली निर्देशिका, २०८२ को मस्यौदा निर्माण गर्न गठन कार्यदलका पदाधिकारीहरुले बिहीबार (आज) जनकपुधामस्थित मन्त्रालयमा पुगेर मन्त्री जयसवाललाई हस्तान्तरण गरेका छन् । खेलकूद तथा समाज कल्याण मन्त्रालय, जनकपुरधाम उपमहानगरपालिका, इयु एजेन्सी, युएनएफपीए, सीएमसी नेपाल लगायत गैर सरकारी संघसंस्थाका प्रतिनिधिहरु सम्मिलित कार्यदल गएको बैशाख १५ गतेको बैठकले गठन गरिएको थियो ।

निर्देशिकामा ४ वटा अनुच्छेद र २१ वटा बुँदाहरु रहेको राष्ट्रिय बाल परिषद्का प्रदेश समन्वय अधिकृत संजिव महतोले जानकारी दिए । निर्देशिकाले पीडितलाई घटनाव्यवस्थापनदेखि पुर्नस्थापनासम्मको कार्यमा सहयोग गर्ने महतोले जानकारी दिएका छन् । पीडितलाई कानूनी सहायता, मनोसामाजिक परामर्श, उपचारको व्यवस्था, अल्पकालीन र दीर्घकालीन सुरक्षा, जीविकोपार्जन लगायतको व्यवस्था निर्देशिकामा गरिएको उनले बताए ।

कार्यदलका संयोजक समेत रहेकी खेलकूद तथा समाज कल्याण मन्त्रालयका समाज कल्याण महाशाखा प्रमुख निर्मला मिश्रले मन्त्री जयसवाललाई सो मस्यौदा हस्तान्तरण गरेकी हुन् । मस्यौदा बुझ्दै मन्त्री जयसवालले महिला हिंसाको घटना रोक्नुका साथै हिंसामा परेकालाई पुर्नस्थापित गर्न निर्देशिकाले न्याय गर्ने विश्वास व्यक्त गरे । उनले मधेश प्रदेश सरकारले थालेको हिंसा विरुद्धको अभियानमा निर्देशिकाको भूमिका महत्वपूर्ण हुने धारणा व्यक्त गरे । निर्देशिका कार्यान्वयनमा आइसकेपछि महिला हिंसा, घरेलु हिंसा लगायत समाजिक विकृति विरुद्ध प्रदेश सरकारले थालेको अभियानलाई प्रभावकारी रुपले अघि बढाउन सहयोग पुग्ने मन्त्री जयसवालले बताए ।

अन्य प्रदेशको तुलनामा मधेशमा परम्पराका नाउँमा भइरहेको हिंसाले समाजलाई अन्यायतर्फ धकेलेकोले यस विरुद्ध सबै जना मिलेर लाग्नुपर्ने मन्त्री जयसवालको भनाई थियो । तयार गरिएको निर्देशिकाले न्याय दिन र पुर्नस्थापना गर्ने कार्यमा सहयोग पुग्ने मन्त्री जयसवालले विश्वास व्यक्त गरे ।