एनआरटीविरुद्ध फ्रेन्ड्सको सहज जित
वि.सं.२०८२ साउन ५ सोमवार १६:४६
shares

फ्रेन्ड्स क्लबले एन्फा यू–१६ युथ लिगमा न्युरोड टिम (एनआरटी) विरुद्ध सहज जित निकालेको छ । सोमबार फ्रेन्ड्सले सातदोबाटोस्थित एन्फा मुख्यालयमा सम्पन्न दोस्रो खेलमा एनआरटीविरुद्ध ३–१ को सहज जित निकालेको हो ।
फ्रेन्ड्सको जितमा मन्दीप ढुंगेलले दुई गोल गर्दा सुनिल केसीले एक गोल गरे । एनआरटीका सुनिल घर्तीमगरले एक गोल गरे पनि टोलीको हार टर्न सकेनन् ।
खेलको १०औँ मिनेटमा मन्दीपले फ्रेन्ड्सलाई अग्रता दिलाए । २५औँ मिनेटमा मन्दीपले दोहोरो गोल गर्दै अग्रतालाई दोब्बर बनाए । ५४औँ मिनेटमा सुनिलले गोल गर्दै अग्रतालाई ३–० को अवस्थामा पुर्याए ।
६२औँ मिनेटमा एनआरटीका सुनिलले एक गोल फर्काए । तर, उनको यो गोल टोलीको निम्ति खेलमा फर्कन पर्याप्त थिएन ।
६२औँ मिनेटमा फ्रेन्ड्सका वीरेन्द्र मल्लले रातो कार्डको दर्शन गरेपछि टोली १० खेलाडीमा सीमित भएको थियो ।
























