गृहपृष्ठ व्यावसायिक पत्रकारिता गर्नुपर्नेमा मुख्यमन्त्री आचार्यको जोड
व्यावसायिक पत्रकारिता गर्नुपर्नेमा मुख्यमन्त्री आचार्यको जोड
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सामाजिक रुपान्तरणका लागि सकारात्मक सूचना सम्प्रेषण आवश्यक भएको बताएको छ । साथै व्यावसायिक पत्रकारिता गर्नुपर्नेमा जोड दिएको छ ।
कोहलपुरबाट नेपाल टेलिभिजनले प्रसारण आरम्भ गरेको २९औँ वार्षिकोत्सवका अवसरमा आज आयोजित कार्यक्रममा देशमा लोकतान्त्रिक शासन व्यवस्था प्रारम्भ भएपछि देशमा विकास–निर्माणका केही काम भएनन् भन्ने नकारात्मक भाष्य चिर्न सञ्चार क्षेत्रले आफ्नो भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए ।
उनले भने “हामीले चौथो अङ्गको रूपमा सञ्चार क्षेत्रलाई लिने गरेका छौँ तर सञ्चारका नाममा स्वच्छन्दवाद फैलाउने प्रवृत्ति बढेको छ । मिडियाले सत्यतथ्यमा आधारित, जनउत्तरदायी र परिवर्तनमुखी पत्रकारिता गर्न जरुरी छ,” प्रदेश सरकाले सञ्चार क्षेत्रसँग नजिक रहेर काम गरिरहेको उल्लेख गर्दै मुख्यमन्त्री आर्चायले भने ।
लुम्बिनी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री आदेशकुमार अग्रवालले प्रदेशमा भएका विकास–निर्माणका गतिविधिलाई सञ्चारमाध्यमले जनसमक्ष पु-याउनुपर्नेमा जोड दिँदै आफूहरू सञ्चार क्षेत्रसँग सहकार्य गर्न सदैव तत्पर रहेको बताए ।
त्यस अवसरमा प्रदेशसभा सदस्य तथा पूर्वमन्त्री रत्न खत्री, प्रदेशसभा सदस्य तथा पूर्वमन्त्री भण्डारीलाल अहिर, प्रदेशसभा सदस्यहरू सञ्जु चौधरी, अम्बिका काफ्ले, मीनाकुमारी श्रेष्ठ, पूर्वमन्त्री दुर्गाप्रसाद चौधरी, कोहलपुर नगरपालिकाका प्रमुख पूर्ण आचार्य, नेपाल पत्रकार महासङ्घ लुम्बिनी प्रदेश अध्यक्ष शुक्रऋषि चौलागाईंले शुभकामना मन्तव्य व्यक्त गरेको थियो ।
सार्वजनिक प्रसारण सेवा नेपालका कार्यकारी अध्यक्ष महेन्द्र बिष्टले व्यावसाियक पत्रकारितालाई केन्द्रमा राखेर आफू नेतृत्वको संस्थाले काम गरिरहेको बताए ।
प्रकाशित समय : १५:३१ बजे



















