गजलसङग्रह ‘साधना’ विमोचन
वि.सं.२०८२ असार १ आइतवार २०:१७
shares

नेपाली गजललाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउने उद्देश्यकका साथ गजल प्रवद्र्धन केन्द्र, नेपाल घोषणा गरिएको छ । यहाँ आज आयोजित एक समारोहबीच नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राईले उक्त केन्द्रको घोषणा गरेको हो ।
समारोहमा कुलपति राईले स्रष्टालाई गजल लेखनको प्रशिक्षणसहित कृति प्रकाशन र सङ्गीतबद्ध गर्नेसम्मको सहयोग गर्ने उद्देश्य रहेकाले गजल प्रवद्र्धन केन्द्र अरूभन्दा पृथक रहेको बताए। नेपाली भाषाका प्रथम गजलकार युवा कवि मोतीराम भट्टको नामबाट ‘मोती गजल पुरस्कार’ स्थापनाको माग सम्बोधनका लागि आफूले प्रयास गर्ने उहाँले प्रतिबद्धता व्यक्त गरे ।
कुलपति राईले गजल प्रवद्र्धन केन्द्रले गजलको विकास र प्रवद्र्धनका लागि ल्याउने उपयुक्त योजना तथा कार्यक्रमलाई प्रतिष्ठानले भरपुर सहयोग गर्ने आश्वासन दिए ।
केन्द्रका संरक्षक तथा बर्दघाट प्रज्ञा प्रतिष्ठानका कुलपति डा घनश्याम न्यौपाने परिश्रमीले दुई दशकअघि देखेको सपना गजल प्रवद्र्धन केन्द्रको माध्यमबाट पूरा हुने आशा व्यक्त गरे । “अब संस्थागत रूपमा नेपालभित्र विभिन्न भाषामा गजलको विस्तार र प्रवद्र्धनमा सबैको सहयोग प्राप्त हुने विश्वास छ”, उनले भने ।
कार्यक्रममा केन्द्रका महासचिव एलपी पराजुलीले गजल प्रवद्र्धन केन्द्रको उद्देश्य र कार्ययोजनाबारे प्रष्ट पारेको थियो । केन्द्रका सल्लाहकार डा देवी पन्थीले साहित्यमा धैर्यपूर्वक लाग्नेले सफलता पाउने उल्लेख गरे ।
सो अवसरमा नेपाली भाषा र व्याकरणको शुद्धतालाई पालना गर्दै ७५ गजलकारद्वारा लिखित संयुक्त गजलसङग्रह ‘साधना’को विमोचन गरिएको थियो । यस्तै केन्द्रका संरक्षक डा घनश्याम न्यौपाने परिश्रमीले नेपाली गजल क्षेत्रमा गरेको योगदानको कदर गर्दै दोसल्ला ओढाएर सम्मान गरिएको थियो । यस्तै साधना संयुक्त गजल सङ्ग्रहका लागि योगदान पु¥याएबापत् विमुन्स पौडेल र ध्रुवप्रसाद गजुरेललाई कदरपत्रसहित सम्मान गरिएको थियो ।
कार्यक्रममा कीर्तिमानी सङ्गीतकार सन्तोष श्रेष्ठ, गायिका पूजन मिश्र, किशोर कोइराला, अरुण खड्का, शर्मिला तिमल्सिना, सुधिर थापा, उत्तम विचार, वासुदेव ठकुरी, कल्पना भट्टराई, सङ्गीता खरेल, राजेन्द्रकुमार बज्राचार्यलगायतले गजल सुनाएको थियो ।
कार्यक्रमको सभापतित्व गजल प्रवद्र्धन केन्द्र, नेपालका अध्यक्ष अरुणकुमार श्रेष्ठले तथा कार्यक्रम सञ्चालन केन्द्रका कोषाध्यक्ष विमुन्स पौडेलले गरेको थियो ।






















