राज्यको गोप्य सूचना दुरुपयोग गर्नेलाई कानुनी दायरामा ल्याइन्छः गृहमन्त्री गुरुङ
वि.सं.२०८३ असोज २० मंगलवार ११:५१
shares

सारांश
- गृहमन्त्री सुधन गुरुङले राज्यको गोप्य सूचना दुरुपयोग गर्नेलाई कानुनी दायरामा ल्याइने बताएका छन ।
- राज्यको संवेदनशील सूचना कसैको निजी सम्पत्ति होइन, सार्वजनिक जिम्मेवारी हो
- राज्यको गोप्य सूचना दुरुपयोग गर्नेलाई कानुनी दायरामा ल्याइन्छ
काठमाडौं । गृहमन्त्री सुधन गुरुङले राज्यको गोप्य सूचना दुरुपयोग गर्नेलाई कानुनी दायरामा ल्याइने बताएका छन ।
गृहमन्त्री गुरुङले गृह मन्त्रालय र मातहतका निकायमा जिम्मेवारीमा रहेका कुनै पनि पदाधिकारी वा कर्मचारीले आफ्नो पदीय हैसियत भुलेर गोप्य वा संवेदनशील सूचना अनाधिकृत व्यक्ति वा निकायलाई चुहाउने प्रवृत्ति आफूले लामो समयदेखि नियालिरहेको आज सामाजिक सञ्जाल फेसबुकमार्फत स्पष्ट पारेका छन ।
“राज्यको संवेदनशील सूचना कसैको निजी सम्पत्ति होइन, सार्वजनिक जिम्मेवारी हो,” उनले सामाजिक सञ्जालमा लेखेका छन, “पदले सूचनामा पहुँच दिन्छ, तर दुरुपयोग गर्ने अधिकार दिँदैन । यहाँ प्राप्त हुने सानोभन्दा सानो सूचना, सुराक वा गुप्त जानकारीले समेत अपराध रोक्न, अनुसन्धान अघि बढाउन वा भविष्यमा कुनै गम्भीर घटनाको सत्यतथ्य स्थापित गर्न निर्णायक भूमिका खेल्छ ।”
गृहमन्त्री गुरुङले राज्यले सुम्पिएको गोपनीयतामाथि जानाजान आफ्नो देश र सङ्गठन माथि विश्वासघात गर्ने जोसुकैलाई पनि कानुनी दायरामा ल्याइने स्पष्ट पारे ।






















