गृहपृष्ठ अर्जुन ट्रफी क्रिकेटः काठमाडौंद्वारा बुटवल पराजित
अर्जुन ट्रफी क्रिकेटः काठमाडौंद्वारा बुटवल पराजित
धनगढीमा जारी अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगितामा आज भएको पहिलो खेलमा क्रिकेट एक्सलेन्ट सेन्टर काठमाडौंले बुटवललाई पराजित गरेको छ । काठमाडौंले पहिले जित दर्ता गर्ने क्रममा न्यू होराइजन बुटवललाई छ विकेटले हराएको हो ।
बुटवलले दिएको एक सय एक रनको लक्ष्य पछ्याएको काठमाडौंले १७ दशमलव चार ओभर चार विकेट गुमाउँदै जित हासिल गरेको हो । काठमाडौंका शुभ कङ्शाकरले नटआउट हुँदै ५६ रन बनाए । उनी प्लेयर अफ द म्याचसमेत घोषित भएका छन् । बुटवलका तुलबहादुर थापाले दुई विकेट लिए ।
यसअघि धनगढीको फाप्ला क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको बुटवलले २० ओभरमा नौ विकेट गुमाउँदै एक सय रन बनाएको थियो । बुटवलका प्रतीक श्रेष्ठले ३७ रन बनाए । काठमाडौँका राज शाह र सूर्य तामाङले समान तीन/तीन विकेट लिए ।
यो जितसँगै दुई खेल खेलेको काठमाडौँ दुई अङ्कसहित समूह ‘बी’ को तेस्रो स्थानमा छ । बुटवल दुई खेलमा दुई अङ्कसहित दोस्रो स्थानमा छ । प्रतियोगितामा देशभरका आठ वटा क्लब सहभागी छन् ।
विजेताले १० लाख र उपविजेताले पाँच लाख पुरस्कार पाउने आयोजकले जनाएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान) को वार्षिक क्यालेन्डरमा समावेश भएको यो प्रतियोगिता यही माघ २८ गतेसम्म सञ्चालन हुनेछ ।
प्रकाशित समय : १४:१६ बजे


















