गृहपृष्ठ चीनमा विदेशी लगानीको स्वरूप बदलिँदै, उच्च प्रविधिमा तीव्र वृद्धि
चीनमा विदेशी लगानीको स्वरूप बदलिँदै, उच्च प्रविधिमा तीव्र वृद्धि
चीनमा चालु वर्षको पहिलो आठ महिनामा समग्र विदेशी प्रत्यक्ष लगानी घटेको भए पनि उच्च प्रविधिसँग सम्बन्धित उद्योगमा विदेशी लगानी उल्लेख्य रूपमा बढेको सरकारी तथ्यांकले देखाएको छ ।
चीनको वाणिज्य मन्त्रालयका अनुसार जनवरीदेखि अगस्टसम्म उच्च प्रविधि उद्योगमा वास्तविक रूपमा प्रयोग भएको विदेशी प्रत्यक्ष लगानी ३५।१ प्रतिशतले बढेर २०० अर्ब २६ करोड युआन पुगेको छ । यो रकम करिब २९ अर्ब ६६ करोड अमेरिकी डलर बराबर हो ।
उच्च प्रविधि क्षेत्रमा भएको लगानी चीनमा यस अवधिमा भित्रिएको कुल विदेशी प्रत्यक्ष लगानीको ४१।७ प्रतिशत पुगेको छ । अघिल्लो वर्षको सोही अवधिको तुलनामा यसको हिस्सा १२।४ प्रतिशत बिन्दुले बढेको मन्त्रालयले जनाएको छ ।
नयाँ विदेशी लगानी भएका उद्यम बढे
पहिलो आठ महिनामा चीनमा ४२ हजार ५८२ वटा नयाँ विदेशी लगानी भएका उद्यम स्थापना भएका छन् । यो संख्या अघिल्लो वर्षको सोही अवधिको तुलनामा ०।३ प्रतिशतले बढी हो ।
तर, चीनमा वास्तविक रूपमा प्रयोग भएको कुल विदेशी प्रत्यक्ष लगानी भने ४७९ अर्ब ९५ करोड युआन रहेको छ । यो अघिल्लो वर्षको तुलनामा ५।३ प्रतिशतले कम हो ।
यसले चीनमा समग्र विदेशी लगानीको प्रवाह केही कमजोर भए पनि उच्च प्रविधि, अनुसन्धान तथा विकास र उन्नत उत्पादनजस्ता क्षेत्रमा विदेशी लगानीकर्ताको चासो बढिरहेको देखाएको छ ।
सेवा क्षेत्रमा सबैभन्दा बढी लगानी
क्षेत्रगत रूपमा हेर्दा पहिलो आठ महिनामा चीनको उत्पादन उद्योगमा ११९ अर्ब ५५ करोड युआन विदेशी लगानी भित्रिएको छ । सेवा क्षेत्रमा भने ३५० अर्ब ४२ करोड युआन विदेशी लगानी आएको छ ।
उच्च प्रविधिसँग सम्बन्धित विभिन्न क्षेत्रमा लगानी वृद्धि अझ तीव्र देखिएको छ । अनुसन्धान तथा विकास र डिजाइनसम्बन्धी सेवामा विदेशी लगानी ७४ प्रतिशतले बढेको छ ।
त्यस्तै, वैज्ञानिक तथा प्राविधिक उपलब्धिको व्यावसायीकरणसँग सम्बन्धित सेवामा लगानी ६४।२ प्रतिशतले र विद्युतीय तथा दूरसञ्चार उपकरण उत्पादन क्षेत्रमा ४१।९ प्रतिशतले वृद्धि भएको छ ।
लागतबाट नवप्रवर्तनतर्फ चीनको आकर्षण
केन्द्रीय वित्त तथा अर्थशास्त्र विश्वविद्यालयअन्तर्गत अन्तर्राष्ट्रिय लगानी अनुसन्धान केन्द्रका निर्देशक चाङ सियाओथाओका अनुसार उच्च प्रविधि क्षेत्रमा विदेशी लगानी आकर्षित गर्ने चीनको बढ्दो क्षमताले विश्वव्यापी पुँजीका लागि चीनको आकर्षणको आधार परिवर्तन भइरहेको संकेत गर्छ ।
उनका अनुसार चीनको आकर्षण पहिले मुख्यतः कम लागतमा आधारित थियो भने अहिले नवप्रवर्तन र प्रविधिमा आधारित बन्दै गएको छ ।
उच्चस्तरीय अनुसन्धान तथा विकास जनशक्ति, विकसित औद्योगिक पूर्वाधार, व्यवस्थित आपूर्ति शृंखला तथा उदीयमान उद्योगको विकासका लागि चीनले अघि सारेका कार्यक्रमले विदेशी लगानी आकर्षित गर्न महत्वपूर्ण भूमिका खेलेको उनको भनाइ छ ।
उन्नत उत्पादनलाई रणनीतिक प्राथमिकता
बेइजिङमा बुधबार र बिहीबार आयोजित उन्नत उत्पादनसम्बन्धी राष्ट्रिय सम्मेलनले चीनले उन्नत उत्पादन क्षेत्रको विकासलाई प्रमुख रणनीतिक कार्यका रूपमा अघि बढाउनुपर्नेमा जोड दिएको छ ।
सम्मेलनले नयाँ पुस्ताको बुद्धिमत्तायुक्त उत्पादनलाई प्रमुख दिशाका रूपमा अघि बढाउनुपर्ने जनाएको छ । उत्पादन क्षेत्रमा डिजिटल प्रविधि तथा बौद्धिक प्रणालीको प्रयोग बढाउने, उच्चस्तरीय उत्पादन क्षमता विस्तार गर्ने, आत्मनिर्भरता सुदृढ गर्ने, हरित तथा न्यून कार्बन विकासलाई अघि बढाउने र विभिन्न उद्योग तथा क्षेत्रबीचको एकीकरणलाई प्रोत्साहन गर्ने विषयमा सम्मेलनले जोड दिएको छ ।
विदेशी लगानी आकर्षित गर्न १५ बुँदे योजना
चीनले विदेशी लगानीलाई स्थिर तथा थप प्रभावकारी बनाउन यस वर्ष जुनमा १५ बुँदे कार्ययोजना सार्वजनिक गरेको थियो ।
कार्ययोजनामा विदेशी लगानीका लागि बजार पहुँच विस्तार गर्ने, लगानीसम्बन्धी प्रक्रिया सरल बनाउने, लगानी प्रवद्र्धन बढाउने तथा विदेशी लगानीकर्तालाई आवश्यक सेवा र सुरक्षा थप मजबुत बनाउने विषय समेटिएका छन् ।
यसका साथै विदेशी पुँजीको व्यवस्थापन प्रणाली सुधार गर्ने विषयलाई पनि योजनामा प्राथमिकता दिइएको छ ।
प्रोत्साहित उद्योगको नयाँ सूची
चीनले यस वर्ष फेब्रुअरी १ देखि विदेशी लगानीका लागि प्रोत्साहित उद्योगको नयाँ सूची लागू गरेको छ । नयाँ सूचीमार्फत उन्नत उत्पादन, आधुनिक सेवा, उच्च प्रविधि, ऊर्जा बचत तथा वातावरण संरक्षण जस्ता क्षेत्रमा विदेशी पुँजी आकर्षित गर्ने लक्ष्य राखिएको छ ।
त्यसैगरी चीनका मध्य, पश्चिमी र उत्तरपूर्वी क्षेत्रहरूमा विदेशी लगानी विस्तार गर्न पनि नीतिगत प्रोत्साहन दिने व्यवस्था गरिएको छ ।
फ्रान्स, स्विट्जरल्यान्ड र दक्षिण कोरियाबाट लगानी बढ्यो
पहिलो आठ महिनामा चीनमा फ्रान्सबाट वास्तविक रूपमा भित्रिएको विदेशी लगानी ३९।२ प्रतिशतले बढेको छ । त्यस्तै, स्विट्जरल्यान्डबाट आएको लगानी १६।७ प्रतिशतले र दक्षिण कोरियाबाट आएको लगानी १६।५ प्रतिशतले बढेको छ । यी तथ्यांकमा स्वतन्त्र बन्दरगाहमार्फत भएको लगानी पनि समावेश गरिएको मन्त्रालयले जनाएको छ ।
उच्चस्तरीय उत्पादनमा विदेशी कम्पनीको सक्रियता
चीनमा उच्चस्तरीय उत्पादन क्षेत्रमा विदेशी कम्पनीहरूको लगानी गतिविधि पनि यस वर्ष बढेको छ । दक्षिण कोरियाली अर्धचालक उपकरण निर्माता कम्पनीले दक्षिण चीनको क्वाङ्चौमा करिब १२ अर्ब ४० करोड युआन कुल लगानीमा अर्धचालक उत्पादन केन्द्र निर्माण गरिरहेको छ ।
त्यस्तै, जर्मनीको मोटरवाहन सामग्री निर्माता कम्पनीले पूर्वी चीनको च्याङ्सु प्रान्तमा मानवरूपी रोबोट उत्पादन कारखाना निर्माणका लागि थप १ अर्ब युआन लगानी गरिरहेको छ ।
यी लगानी गतिविधिले अर्धचालक, रोबोट, उच्चस्तरीय उत्पादन तथा अन्य उन्नत प्रविधि क्षेत्रमा चीन अझै पनि बहुराष्ट्रिय कम्पनीहरूको महत्वपूर्ण लगानी गन्तव्यका रूपमा रहेको संकेत गरेको चिनियाँ अधिकारी तथा विज्ञहरूको भनाइ छ ।
विश्वव्यापी मूल्य शृंखलामा चिनियाँ बजारको भूमिका
अन्तर्राष्ट्रिय व्यापार तथा अर्थशास्त्र विश्वविद्यालयका प्राध्यापक छन च्यानवेईका अनुसार बहुराष्ट्रिय कम्पनीहरूले ठूलो लगानीमार्फत विश्वव्यापी मूल्य शृंखलामा चिनियाँ बजारको महत्त्वपूर्ण भूमिकालाई पुष्टि गरिरहेका छन् ।
उनका अनुसार चीनमा उच्च प्रविधि उद्योगको विकास, ठूलो उपभोक्ता बजार, अनुसन्धान तथा विकास क्षमता, औद्योगिक पूर्वाधार र आपूर्ति शृंखलाको मजबुतीले विदेशी कम्पनीहरूलाई दीर्घकालीन लगानीका लागि आकर्षित गरिरहेको छ ।
उनले आगामी दिनमा चीनको उच्च प्रविधि उद्योगमा विदेशी लगानीको हिस्सा अझ बढ्ने अपेक्षा व्यक्त गरे । साथै, विदेशी कम्पनीहरूले चीनमा अनुसन्धान तथा विकास केन्द्र र क्षेत्रीय मुख्यालय स्थापना गर्ने क्रम पनि तीव्र हुन सक्ने उनले बताए ।
चीनको कुल विदेशी लगानीमा गिरावट देखिए पनि उच्च प्रविधि, अनुसन्धान तथा विकास, उन्नत उत्पादन र आधुनिक सेवाजस्ता क्षेत्रमा लगानी तीव्र रूपमा बढ्नुले देशको विदेशी लगानीको संरचनामा परिवर्तन भइरहेको देखाएको छ । चीनले कम लागतमा आधारित लगानी आकर्षणबाट प्रविधि, नवप्रवर्तन र उच्चस्तरीय उत्पादनमा आधारित लगानी आकर्षणतर्फ आफ्नो आर्थिक आधार विस्तार गरिरहेको सरकारी तथ्यांकले संकेत गरेको छ ।रासस
प्रकाशित समय : १३:२६ बजे


















