गृहपृष्ठ बाराक ओबामाले कमला ह्यारिसका लागि मागे भोट
बाराक ओबामाले कमला ह्यारिसका लागि मागे भोट
अमेरिकाका पूर्व राष्ट्रपति बाराक ओबामाले डेमोक्रेटिक पार्टीकी राष्ट्रपति पदका उम्मेदवार कमला ह्यारिसका लागि मत मागेका छन् । पेन्सिलभेनियामा ओबामाले मतदाताहरूलाई ह्यारिसका लागि भोट मागेका हुन् ।
‘बाहिर निस्कनुहोस् अनि कमला ह्यारिसलाई भोट गर्नुहोस् ।’ जनतालाई अनुरोध गर्दै ओबामाले भनेका थिए । ओबामाले रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्प र डेमोक्रेटिक उम्मेदवार कमला ह्यारिसबिच कडा प्रतिस्पर्धा हुने पनि बताएका थिए ।
आफ्नो सम्बोधनका क्रममा ओबामाले जनतालाई उनको नीतिका लागि मात्र नभई मूल्यमान्यता र सिद्धान्तका लागि पनि ह्यारिसलाई मतदान गर्न आग्रह गरेका थिए । फोन राखेर आफ्ना साथीभाइ र परिवारसँग भोट हाल्न जान भनेर पनि उनले भनेका थिए ।
कमला ह्यारिसको समर्थनसँगै बाराक ओबामाले पूर्व अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको पनि आलोचना गरेका छन् । उनले अर्थतन्त्र र गर्भपतनलगायत धेरै विषयमा ट्रम्पमाथि हमला गरे । यसबाहेक उनले सेप्टेम्बर १० मा भएको राष्ट्रपतीय बहसलाई लिएर पनि ट्रम्पको आलोचना गरेका थिए । उनले स्वास्थ्य सेवाका सम्बन्धमा ट्रम्पसँग कुनै ठोस योजना नभएको र ह्यारिससँग अमेरिकाको लागि ‘ठोस’ योजनाहरू भएकोमा जोड दिएका थिए ।
प्रकाशित समय : १५:२८ बजे


















