गृहपृष्ठ अर्थतन्त्र चलायमान बनाउन प्रधानमन्त्रीलाई चेम्बरले दियो ४३ बुँदे सुझाव

अर्थतन्त्र चलायमान बनाउन प्रधानमन्त्रीलाई चेम्बरले दियो ४३ बुँदे सुझाव

अर्थतन्त्र चलायमान बनाउन प्रधानमन्त्रीलाई चेम्बरले दियो ४३ बुँदे सुझाव

नेपाल चेम्बर अफ कमर्सले प्रधानमन्त्री केपी शर्मा ओलीलाई नीतिगत स्थायित्व र अर्थतन्त्रलाई चलायमान बनाउन ४३ बुँदे सुझाव दिएको छ । चेम्बर अध्यक्ष कमलेशकुमार अग्रवालसहितको पदाधिकारी एवं कार्यसमितिको टोलीले प्रधानमन्त्री ओलीसमक्ष बालुवाटारमा भेटवार्ता गर्दै नीतिगत स्थायित्व र अर्थतन्त्रलाई चलायमान बनाउन सुझाव दिएको हो ।

बजेट र मौद्रिक नीतिको प्रभावकारी समन्वयमार्फत अर्थतन्त्रलाई चलायमान बनाउन चेम्बरले प्रधानमन्त्री ओलीसमक्ष आग्रह गरेको छ । चालू आर्थिक वर्षको बजेट र आगामी मौद्रिक नीतिको प्रभावकारी समन्वयमार्फत अर्थतन्त्रलाई चलायमान बनाउनुपर्नेमा अध्यक्ष अग्रवालले जोड दिए ।

‘करिब ४ वर्षदेखि मुलुकको अर्थतन्त्र अस्थिर अवस्थामा छ । कोभिड महामारीको प्रभाव, रुस–युक्रेन युद्धले विश्वव्यापी आपूर्ति शृङ्खलामा पारेको असर एवं पछिल्लो ३ वर्षदेखिको निरन्तर संकुचित नीतिहरूले आर्थिक गतिविधिमा शिथिलता उत्पन्न भएको छ’, उनले भने ।

आर्थिक गतिविधिमा आएको संकुचनले माग र आपूर्तिबीच असन्तुलन, निजी क्षेत्रको सम्पत्तिमा सङ्कुचन एवं बैंक तथा वित्तीय संस्थामा तरलता भए पनि निजी क्षेत्रमा लगानी आकर्षण नभएकोप्रति अध्यक्ष अग्रवालले प्रधानमन्त्री ओलीको ध्यानाकर्षण गराए ।

काठमाडौँलगायत मुलुकका अधिकांश ठूला सहरमा व्यापारिक सटर बन्द भएकोप्रति चेम्बरले प्रधानमन्त्री ओलीको ध्यानाकर्षण गराएको छ । उच्च अंकको आर्थिक वृद्धिदर हासिल गर्न स्थायी रूपमै एकल अंकको ब्याजदर कायम हुनुपर्ने चेम्बरको ठहर छ । मौद्रिक नीतिको आगामी कार्यदिशा पूर्ण रूपले विस्तारित एवं खुकुलो र लचिलो हुनुपर्नेमा पनि चेम्बरले जोड दिएको छ ।

आर्थिक मन्दीबाट उन्मुक्ति नपाउञ्जेल उद्यमी व्यवसायीहरूलाई चालू पुँजीको उपलब्धता सरल र सहज तवरले हुनुपर्ने एवं हाल जारी चालू पुँजी कर्जा निर्देशिकालाई तत्काल स्थगित गरिनुपर्नेमा चेम्बरले जोड दिएको छ । घरजग्गा कारोबारलाई थप गति दिन ५० लाखभन्दा माथिको कर्जामा शत प्रतिशत जोखिमभार कायम गरिनुपर्ने चेम्बरको माग छ ।

प्रकाशित समय : २०:१० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु