विमानस्थलमा भएको कुटपिट प्रकरणमा असईलाई निलम्बन गर्न सिफारिस
वि.सं.२०८० माघ १८ बिहीवार ०८:१२
shares

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रहरी र अध्यागमनका अधिकृतबिच भएको कुटपिट घटना छानबिन गर्न गठित समितिले आफ्नो प्रतिवेदन बुझाएको छ ।
गृह मन्त्रालयका सहसचिव थानेश्वर गौतमको संयोजकत्वमा गठित छानिबन समितिले बुधबार प्रतिवेदन बुझाउँदै अध्यागन अधिकृत छायाँलाल मोक्तानलाई पनि विभागीय कारबाही गर्न सिफारिस गरेको छ । दुई जना प्रहरी जवानलाई विभागीय कारबाही गर्न सिफारिस भएको छ ।
जसअनुसार प्रहरी जवानद्वय रविरञ्जन गुप्ता र राजकुमार महतोलाई विभागीय कारबाही सिफारिस भएको हो । यस्तै असई सञ्जय तामाङलाई निलम्बन गर्न सिफारिस हुँदा शाखा अधिकृत मोक्तानलाई पनि विभागीय कारबाही गर्न सिफारिस भएको गृह मन्त्रालय स्रोतले जनाएको छ ।
सुरक्षा जाँचका क्रममा भएको विवादमा असई तामाङसहितको प्रहरी टोलीले अध्यागमन अधिकृत मोक्तानलाई कुटपिट गरेको थियो । घटनापछि मन्त्रालयले छानबिन समिति बनाएको थियो ।कर्मचारी युनियनले घटनामा संलग्न प्रहरी कर्मचारीलाई तीन दिनभित्र कारबाही नगरे देशभरको सेवा ठप्प पार्ने चेतावनी दिएका थिए ।

























