गृहपृष्ठ मेरो उम्मेदवारी महिलाहरुलाई एउटै शुत्रमा बाँध्ने संकल्प हो : देविका केसी
मेरो उम्मेदवारी महिलाहरुलाई एउटै शुत्रमा बाँध्ने संकल्प हो : देविका केसी

गैरआवासीय नेपाली संघ (एनआरएनए)को ११औं अन्तर्राष्ट्रिय महाधिवेशन काठमाडौंमा जारी छ । असोज ३० देखि कत्तिक ३ गतेसम्म महाधिवेशन चल्ने छ । एनआरएनएको महाधिवेशन राष्ट्रपति रामचन्द्र पौडेलले मंगलबार उद्घाटन गरेका छन् । कात्तिक २ गते २४ घण्टा अनलाइनबाट मतदान हुने निर्वाचन कार्यतालिका छ । महाधिवेशनमा कुल ७४ जना अन्तर्राष्ट्रिय समन्वय परिषद्का पदाधिकारीका लागि निर्वाचन हुनेछ ।
सन् २००३ अगस्टमा लन्डनमा सम्पन्न गैरआवासीय नेपालीहरूको एक भेलाले व्यापक छलफल गरि सोही वर्षको ११ अक्टोबरमा पहिलो विश्व सम्मेलन काठमाडौंमा आयोजना गरेको थियो । सोही दिनलाई एनआरएनएको स्थापना मानिएको छ । एनआरएनएले ८६ देशमा आफ्नो सञ्जाल विस्तार गरिसकेको छ । ११औं महाधिवेशनमा सहभागि उम्मेदवार तथा अन्य मतदाताका लागि महाधिवेशनस्थलको निश्चित स्थानमा राखिएका कम्प्युटरमार्फत मतदान गर्ने व्यवस्था गरिएको छ । उम्मेदवार र अन्य मतदाता गरी एक हजार ५०० हाराहारीले महाधिवेशनस्थलबाट मतदान गर्ने अनुमान छ । अन्यले अनलाइन भोटिङ गर्नेछन् । झण्डै ४२ सयले मत हाल्नेछन् ।
अहिलेसम्म एनआरएनएमा उपेन्द्र महतो, जिवा लामिछाने, देवमान हिराचन, शेष घले, भवन भट्ट, कुमार पन्त, कुल आचार्य, रविना थापा र बद्री केसी गरि आठ जना अध्यक्ष भइसकेका छन् । एनआरएनएको दशौं महाधिवेशनको निर्वाचनमा विवाद भएपछि तीन जना अध्यक्ष रहने गरी सहमति गरिएको थियो। हालको समितिमा तीन अध्यक्ष कुल आचार्य, रविना थापा र बद्री केसीले ६–६ महिना कार्यकारी अध्यक्ष हुने गरी सहमति गरेका थिए । एनआरएनएको यस महाविधेशनमा हालसम्म अध्यक्षद्वय बद्री केसी र रविना थापा, उपाध्यक्षद्वय महेश श्रेष्ठ र आरके शर्मा एवं उपमहासचिव विनय अधिकारीले अध्यक्षमा उम्मेदवारी घोषणा गरेका छन् । यस्तै महिला संयोजकमा देविका केसी र अनुजा अग्रवालले उम्मेद्वारी दिएका छन । यसै पेरीफेरिमा रहेर क्यानडाबाट महिला संयोजकमा उम्मेद्वारी दिएकी गायिका देविका केसी (देविका खत्री गुरूङ) सँग न्युजकारोबारकर्मी युकला पौडेलले गरेको कुराकानीको संम्पादित अंशः
तपाईँले अहिले एनआरएनएमा महिला संयोजकको पदमा उम्मेद्वारी घोषणा गर्नुभएको छ । के–के छन् तपाईँका एजेण्डाहरु ?
म २०१३ बाट एनआरएनएमा आबद्ध छु । मैले साधारण सदस्य कतारबाट लिएपछि मेरो एनआरएनएको यात्रा सुरु भएको हो । मैले अहिलेसम्मको एनआरएनएको दौरानलाई राम्रोसँग बुझेर मात्र उम्मेद्वारी घोषणा गरेकी हुँ । आजबाट हाम्रो अधिवेशन पनि सुरु भईसकेको छ । अहिले मैले भेटघाटको कार्यक्रमहरुलाई निरन्तरता दिईरहेकी छु । अहिलेको मेरो एजेण्डा भनेको महिलाहरुको सशक्तिकरण र महिलाहरुलाई एउटै शुत्रमा बाँध्ने संकल्पमा केन्द्रीत छ । विदेशमा रहेर पनि नेपालका लागि केही गर्न चाहने र हाम्रो नेपाली भाषा र संस्कृतिलाई विश्वमाँझ परिचित गराउने मेरो चाहना हो । म एउटा कलाकार मात्रै नभएर समाजसेवामा पनि अग्रसर भएको मान्छे हुँ । सबै नेपालीहरुका समस्याहरु समेट्दै अगाडि बढ्ने मेरो मूल एजेण्डा हो ।
तपाईँलाई के लाग्छ, के कारणले जित्छु जस्तो लाग्छ ?
म गायिका मात्र नभई भाषा अनुयायी पनि हुँ । मैले विदेशमा रहने सबै नेपालीहरुका समस्याहरुलाई उजागर गर्ने दृण संकल्प लिईएकी छु । यो सबैजनाले बुझ्नु भएको कुरा हो । हाम्रो नेपालको लोक भाषा संस्कृतिलाई विश्वसामु चिनाएर नेपाल र नेपालीको बेग्लै पहिचान बनाउने मेरो ठूलो सपना छ । त्यसमा पनि म महिला हुँ । महिलाका संवेदनशील समस्याहरुलाई बुझ्न सक्ने भएको हुदाँ सबै महिला दिदिबहिनीहरुले पनि मलाई सहयोग गर्नुहुन्छ भन्ने आशा लिएकी छु ।
अहिले सबै क्षेत्रमा महिला नेतृत्वको कम सहभागिता भएको पाइन्छ किन होला ? एनआरएनएमा पनि त्यही हो ?
एनआरएनएमा मात्र होइन । हरेक क्षेत्रमा महिलाको उपस्थिति एकदमै न्युन रहेको छ । यसकै लागि पनि अहिले हामी लागिपरेका छौ । महिला नेतृहरुको सहभागिता बढाउन र महिलाहरुलाई हामीले पनि केही गर्न सकिन्छ है भन्ने हौसला प्रदान गर्नका लागि मैले यो उम्मेद्वारी घोषणा गरेको हुँ । महिलाहरुलाई पछाडी पार्ने जुन खालको हाम्रो परमपरा छ । त्यसलाई चिर्नकै लागि र महिलाको उपस्थिति बढाउन अब हामीले विभिन्न कार्यक्रमहरु पनि गर्ने योजना बनाएका छौं ।
तपाईँ आफै महिला हुनुहुन्छ ? महिलाको उपस्थिति बढाउन कस्ता कार्यक्रमहरु गर्दै हुनुहुन्छ ?
म एउटा गायिकाको नाताले पनि मैले तीजको अवसर पारेर महिला दिदिबहिनीहरुलाई जनचेतना मुलक कार्यक्रमहरु गरेकी छु । सायद त्यो सबैजनाले हेर्नुभएको छ होला । महिलाको खुसी र दुखसँग जहिल्यै पनि जोडिएकी छु । अझै धेरै महिलाहरुलाई जागरण गर्ने कामहरु गर्दै जानेछु।
तपाईँँले एनआरएनएको अध्यक्षमा नै उम्मेद्वारी किन दिनुभएन ?
म सबै कामहरुलाई विस्तृत रुपमा बुझेर मात्र अगाडि बढ्न रुचाउने मान्छे हो । त्यसैले अहिले केही समय यो क्षेत्रमा काम गरेर यसका मूख्य समस्याहरुलाई बुझ्न चाहन्छु । यसको निगरानी गरेर कसरी समाधान गर्न सकिन्छ भन्ने उपायहरुको बाटो खोजेर मात्र अगााडि बढ्ने योजना छ । त्यसैले अहिले मैले अध्यक्षको पदमा उम्मेदवारी दिन चाहिन । मलाई सबै तहहरु पार गर्ने इच्छाका कारण पनि हो ।
एनआरएनएमा धेरै विकृतिहरु छन् । सबै आफ्नो निजी स्वार्थका लागि मात्रै काम गर्छन् भन्ने सुनिन्छ । यसमा तपाईँ के भन्नुहुन्छ ?
अहिले एनआरएनएमा मात्रै होइन । सबै क्षेत्रमा विकृतिहरु रहेका छन् । यस क्षेत्रमा पनि केही समस्याहरु छन् नभएको होइन । यसलाई कसरी अगाडि बढाउने भन्ने कुरा हो । मेरो अहिलेको नारा भनेकै ‘म नेतृत्व गर्दैछु महिलाको – विसंगती बदल्छु पहिलाको’ भन्ने हो । यसमा समस्याहरु छन् । पहिला एउटा अध्यक्ष चयन हुन नसकेर तीन जना हुनुभएको थियो । तर अहिले एकदमै निष्पक्ष र सरल ढंगबाट भइरहेको छ । पहिलेका समस्याहरु समाधानका लागि नै अहिलेको हाम्रो नयाँ नेतृत्व आएको छ । यसले अब यस्ता समस्याहरु उत्पन्न हुन दिने छैन भन्नेमा म ढुक्क छु ।
अन्त्यमा केही भन्न चाहनुहुन्छ ?
संसारभरिबाट यो अनलाइनलाई नियालेर बस्ने पाठकहरुलाई यही आह्वान गर्न चाहान्छु कि, हजुरहरुको गायिका यतिबेला अन्तर्राष्ट्रिय महिला संयोजकको रुपमा रहेकी छुु । सबैजनाले महिला नेतृत्वलाई माया गरिदिनुहोला । एनआरएनएमा पनि समावेशिता होस् । हाम्रो सम्पूर्ण गीत संगीत अनुयायीको प्रतिनिधित्व गर्ने जस्ता कला संस्कृतिको अनुकरण गर्नै मान्छे पनि अटाउन भन्न चाहान्छु । र सबै नेपाली महिलाहरुलाई एउटै सुत्रमा बाँधेर अगाडि बढ्ने हौसला दिनुहुन्छ भन्ने आशा गरेकी छु ।
प्रकाशित समय : १६:३७ बजे