गाउँ पसेका रवि
वि.सं.२०८० असोज ७ आइतवार १५:००
shares
नीति बनाउन जनतासँग सुझाव लिने भन्दै रास्वपाका केन्द्रीय सदस्य र सांसदहरु गाउँगाउँ पुगेका छन् । पार्टी स्थापनाको एक वर्ष बितिसक्दा पनि अझै विचार शून्यताको ट्याग लागिरहेको रास्वपा त्यसैलाई चिर्न गाउँ पसेको हो । सँगै दस्तावेज निर्माण प्रक्रियाका लागि जनआवाज सुन्ने कार्यक्रम लिएर गाउँघर पसेका सभापति रवि लामिछाने बताउँछन् ।
वैकल्पिक शक्ति बनेर उदाएको राष्ट्रिय स्वतन्त्र पार्टी स्थापनाको १५ महिना बितिसक्दा पनि विचार र सिद्धान्तहिनताको अवस्थामा छ । रास्वपाले अहिलेसम्म आफ्नो नीतिको
निक्र्यौल गर्न नसक्दा अन्य पुराना दलहरुको विभिन्न आक्षेप र शब्दवाणबाट हमलाको शिकार हुनुपर्ने बाध्यता छ ।
१५ दिन सदनको कामकारवाही बन्द हुने अवस्थाको छेको मिलाएर रास्वपा गाउँ पसेको हो । यही मौकामा विगतको आक्षेपलाई चिर्ने र दस्तावेज निर्माणका लागि जनमत बटुल्ने उसको उद्देश्य छ । पार्टीको दस्तावेज निर्माण प्रक्रियाअन्तर्गत प्रथम चरणको जनआवाज सुन्ने कार्यक्रम भन्दै असोज ३ देखि ७ गतेसम्म रास्वपाका १९ केन्द्रीय सदस्य र सांसदहरु १९ जिल्लामा खटिएका छन् । न नीति, न थिति भन्ने आरोप खेपिरहेका पार्टी सभापति लामिछाने रोल्पा पुग्दा स्थानीयहरु दंग परेका थिए । उनी पनि जनताको गुनासो सुनेर थप हौसिएका छन् । किनकि माओवादीले जनयुद्धको आधार इलाका बनाएको रोल्पामा अहिले त्यही नेतृत्वप्रति व्यापक गुनासो छ ।
१० वर्षे सशस्त्र द्वन्द्व र माओवादी आन्दोलनको केन्द्रको रूपमा परिचित रोल्पाले राजनीतिक परिवर्तनमा महत्वपूर्ण भूमिका खेलेको छ । सभापति लामिछाने यतिखेर त्यहाँका जनताले अहिलेको राजनीतिलाई कसरी हेरिरहेका छन् र के चाहन्छन् ? भन्दै घरघरमा गएर सुझाव संकलन गरिरहेका छन् ।
परिवर्तनको नेतृत्व गरेकाहरुको नियतमै खोट हुँदा लामो कालखण्डसम्म पनि उनीहरुले इमान्दार नेता नपाएको गुनासो रवि समक्ष गरेका छन् । संविधानलाई पालना गर्दै विधिको शासन कायम गर्ने हो भने व्यालेटको माध्यमबाट इमान्दर नेतृत्व ल्याउने र परिवर्तन हुने लामिछानेको तर्क छ । क्रान्ति भनेको रातो र तातो मात्रै हुन्छ भनेर भ्रम छरेकाहरुलाई क्रान्ति नीलो पनि हुन्छ भन्ने देखाउन आफु रोल्पा पसेको रविको भनाइ छ ।
राष्ट्रपति रामचन्द्र पौडेलेको निर्वाचन क्षेत्रबाट उपनिर्वाचनको माध्यमबाट सदन प्रवेश गरेका स्वर्णिम वाग्लेले तनहुँका घर घरमा जाने जिम्मा पाएका छन् । सेना घटाउने अभिव्यक्तिपछि विवादमा परेका उनी तनहुँसँगै लम्जुङबासीसँग पनि भेटघाट गरिरहेका छन् । ७ सय ५३ स्थानीय तहमा नै पुगेर उनी ०८४ का लागि भोट रिझाईरहेका छन् । सेनाको विषयमा सबैभन्दा धेरै जवाफ दिनु परेका उनले पार्टीलाई आगामी ५/१० वर्षमा सम्मानजनक स्थितिमा पुगाउनका लागि अभियानमा जोडिन आग्रह गरिरहेका छन् ।
असार ७ गते पार्टी स्थापनाकै अवसरमा पार्टीले ‘नयाँ युगको संकल्प’ भन्दै ६८ पृष्ठको राजनीतिक सैद्धान्तिक दस्तावेज सार्वजनिक गर्ने तयारी गरेपनि प्रदेशलगायत शासकीय संरचना जस्ता महत्वपूर्ण मुद्धामा पार्टीका नेताहरुले असन्तुष्ट जनाएपछि नजिक आइसकेको रास्वपाको राजनैतिक विचार टुंगिएको थियो ।
त्यसैलाई मुर्तरुप दिन रास्वपा अहिले गाउँगाउँ पसेको छ । रास्वपाका नेताहरु यही कार्यक्रमअन्तर्गत तीन चरणमा गाउँ गाउँमा जाने छन् । रास्वपाले सांसद र केन्द्रीय सदस्यले ल्याएका सुझावलाई पार्टीको राजनीतिक, वैचारिक दस्तावेजमा समावेश गर्ने उद्देश्य राखेको छ ।

























