पार्सलमा पैसा आएको लोभमा बहालवाला डीएसपी नै ठगिएपछि..
वि.सं.२०८० भदौ ३१ आइतवार ०९:००
shares
डिजिटल माध्यमबाट बग्रेलती आम सर्वसाधारण ठगिएपछि सार्वजनिक हितका लागि प्रहरीको काठमाडौं उपत्यका अपराध अनुसन्धान महाशाखाले सूचना गरेको छ । जुन सूचना तपाईँ हामीले कसैलाई फोन गर्नुपरे मोबाइलको ब्याकटोनमा बजिहाल्छ । तर अहँ, आफ्नै मोबाइलमा ठगिन सक्ने सम्भावित विषयमा प्रत्येक पटक सूचित गरेर सूचना आउँदा पनि नेपाली ठगिन छोडेका छैनन् । आम सर्वसाधारण ठगिए भने पुग्ने ठाउँ कहाँ हो ? प्रहरी कार्यालय । तर प्रहरीनै ठगिए भने कहाँ जाने ? यही अनलाइन ठगीको गोलचक्करमा प्रहरीको बहालबाला डीएसपी नै परेका छन् । काँधमा खुकुरी क्रस र एकतारा दज्र्यानी चिन्न लगाउने बहालवाला डीएसपी नै पार्सलको नाममा ठगिएका छन् । काठमाडौंमा कार्यरत भक्तपुरकी एक महिला डीएसपी पार्सलको नाममा ठगिए भन्दै अहिले महाशाखामा पुगेर उजुरी दिएकी छन् । डीएसपीसँग फेसबुक म्यासेन्जर र ह्वाट्सएपमा कुराकानी गरेको गिरोहले ९ लाख २३ हजार रुपैयाँ ठगी गरेर उम्किन सफल भएको छ ।
लोभले लाभ, लाभले विलाप भनेको सायद यही होला । गाउँघरका सोझासिधा ठगिएको विषय नौलो हुन छाडेको छ । तर सुरक्षा फौजमा कार्यरत त्यो पनि उच्च ओहोदाका प्रहरी अधिकृतनै ठगिएपछि अपराधको दुनियाँमा यो गिरोह कतिसम्म पाराङगत छ भन्ने पुष्टि हुन्छ । । आजभोलि जनहितमा जारी सचेतना मुलक सूचना व्यर्थसावित हुँदैछन् । अर्थात ‘काग गराउँदैगर्छ, पिना सुक्दै जान्छ’ भने जस्तै भएका छन् सूचना ।
यसरी ठगिनेहरुले सुरुसुरुमा धमाधम ऋण धन गरि अन्जान व्यक्तिको लोभमा परेर रकम पठाइरहेका छन् । विदेशबाट आउने पार्सलको नाममा नेपालीले करोडौं डुबाएका छन् । गिरोहको चंगुलमा पर्दा कति घर न घाटको भएका छन् । अहिले डीएसपी नै ठगिएपछि उनीप्रति सहानुभूतिभन्दा बढी प्रश्न उठेको छ । यस्ता काँधमा फुली बोकेर हिड्ने डीएसपीले देश र जनताको लागि के सुरक्षा देलान् जो आफै जोगिन सकेका छैनन् । उनलाई साधारण ठगले एउटा उपहारको ललिपप देखाएर दिनदाहाडै लुटेको छ ।
कसरी पुगिन् डीएसपी ठगको सम्पर्कमा ?
सशस्त्र प्रहरीकी महिला डीएसपीलाई एक अपरिचित व्यक्तिबाट फेसबुकमा ‘फ्रेण्ड रिक्वेस्ट’ आउँछ । उनले त्यसलाई एसेप्ट गरेपछि म्यासेन्जरमा कुराकानी सुरु हुन्छ । म्यासेजमा कुरा गर्ने व्यक्तिले आफु अमेरिकन आर्मी रहेको बताउँछन् । फौजमा रहेकी उनले पनि आर्मी भनेपछि सहजै संवाद गर्छिन् । यो कुराकानीको सिलसिला अलि लम्बिएर जान्छ । कुराकानी बढ्दै जाँदा ती व्यक्तिले आफू युद्धमा जान लागेको आर्मी भनेर थप संवाद लम्ब्याउँन खोज्छन् । उनले डीएसपीलाई युद्धका क्रममा परिवार गुमाएको र आफ्नो एउटा खुट्टा पनि गुमाएको भन्दै बेसाहारा जस्तो देखाउँछन् । त्यसपछि उनीहरुबीचको संवाद सिलसिलेबार रुपमा अघि बढ्छ । यतिबेलासम्म झण्डै एक डेढ महिना समय वितिसकेको हुन्छ । एकदिन उताबाट ती व्यक्तिले म्यासेन्जरको कुराकानीमा डीएसपीलाई ह्वाट्सएप भए नभएको जानकारी माग्छन् । त्यसपछि डीएसपीले ह्वाट्सएप भएको जानकारी दिन्छिन् । लगत्तै उनीहरु म्यासेन्जर छोडेर ह्वाट्सएपमा कुराकानी गर्न थाल्छन् ।
निरन्तरको कुराकानी र फोटो भिडियो आदानप्रदान भइसकेपछि ती व्यक्तिले एकदिन बिमाबाफत आफुलाई निकै पैसा आएको बताउँछन् । उक्त पैसा डीएसपीलाई पठाउन थालेको जानकारी गराउँछन् । सित्तैमा पैसा आउने भएपछि डीएसपी पनि दंग पर्छिन । किनकि विदेशी साथीबाट लाखौ रुपैयाँ आउने भएपछि मनको लड्डु घिउसँग चोप्न थाल्छिन् । नभन्दै एकदिन कुरा गरिरहने तिनै विदेशी साथीले पैसा कुरिएर गरेको फोटो पठाउँछन् । त्यसको केहीदिनपछि सशस्त्रकी डीएसपीलाई भन्सारबाट कल गरेको भन्दै एउटा फोन आँउछ ।
भन्सारबाट फोन गर्ने व्यक्तिले उनको सामान छुटाउनका लागि केही पैसा लाग्ने भन्दै पठाउन आग्रह गर्छन् ।
कोशेली स्वरुप विदेशबाट पैसा आएको भन्दै ढुक्क भएकी डीएसपीले भन्सार एजेन्टले भनेको अकाउन्टमा पैसा पठाइदिन्छिन् । डलरकै हिसावमा आएको पैसा छुटाउनलाई उनले ९ लाख २३ हजार बुझाईसकेकी हुन्छिन् । पैसा पाएपछि फोन गर्ने व्यक्ति र ह्वाट्सएपमा कुराकानी गर्ने विदेशी साथी एकैपटक हराउँछन् । त्यसपछि डिएसपी छाँगाबाट खासेजस्तो हुन्छिन् । सामाजिक सञ्जालको हिमचिमले प्रलोभनमा पर्दा डीएसपीको जिन्दगीमा ‘चोक्टा खान गाएकी बुढी झोलमा डुबेर मरी’ अवस्था बन्छ । उनले आफ्नो श्रीमानको आँखा छलेर पठाएको रकम डुबेपछि अहिले उनी प्रहरीको शरणमा छिन् ।
०००

























