काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

इतिहासको स्वर्णिम पानामा सुरक्षित बनेका सुवास

12.39K
shares

नेपाली राजनीतिमा दलीय सहमतिको सुत्रधार, स्पष्टवक्ता तथा राज्यका तीनै अंगमा प्रखर राख्ने संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङ हामीबाट विदा भएका छन् । योसँगै उनले गरेका कार्य र पुर्‍याएको योगदानका विषयमा बाैद्धिक व्यक्तित्व तथा दलका नेताहरुले गरेका चर्चाले नेम्वाङलाई नचिन्ने कमैमा समेत एउटा तस्वीर बनेको छ । तर राजनीतिक र व्यवसायिक जीवनमा सफल र प्रशंसाको पुञ्ज बनेका उनीमाथि उठेका केही प्रश्न र गर्न नसकेको विषयसमेत छन् जुन अपुरै रहे ।

सभामुख भन्नासाथ आम नेपालीको मष्तिस्कमा एउटा चित्र बन्ने छबि बनाएका संविधानसभा अध्यक्ष तथा नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङलाई नचिन्ने सायदै होलान् । जनताको बलिदानबाट पुनःस्थापित संसद र त्यसपछि जनताले जनताकै लागि संविधान बनाउने थलो संविधानसभाको नेतृत्व गरेका उनी राजनीतिक र व्यवसायिक रुपमा सफल व्यक्तित्व हुन् । यद्यपि राजनीतिक रुपमा साझा, समन्वय र सहमतिको आधार बन्न सक्ने भूमिकामा सफल रहेका उनी कुनै कुनै पदमा पुग्दा भने प्रश्नको घेराभन्दा बाहिर रहन सकेनन् । उनको राजनीतिक इतिहास हेर्दा कम्युनिष्टहरुकै शब्दमा भन्नुपर्दा ‘न्यायाधिश जस्तो सामन्तको छोरो’ भएर पनि कम्युनिष्ट बनेका उनकाे व्यक्तित्व कानुन मन्त्रीभन्दा संसदको सार्वजनिक लेखा समितिको सभापति बन्दा बढी उज्यालियो ।

सबै दलका सांसदको साझा मञ्च रहने सो समितिमा रहँदा उनले तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालालाई लाउडा काण्डमा आछुआछु नै पारेका थिए । संविधानसभाको अध्यक्षका रुपमा झनै नयाँ छबि बनाउन सफल भए । देशको पहिलो शक्ति भएको ध्वासमा माओवादीले राज्यसत्तानै कब्जा गर्छु भन्ने अवस्थामा सुवास सभामुख भएका थिए । सेना समायोजनदेखि द्वन्द्वकालिन कतिपय मुद्दालाई किनारा लगाउन सहयोग गर्ने भन्दै देशमा विदेशी शक्तिको हालीमुहाली भएको अवस्थामा संविधानसभाबाट संविधान जारी गर्न सुवास सफल भएका थिए । जसकै कारण कार्यपालिका, व्यवस्थापिका र न्यायापालिका सबैमा प्रखर क्षमता राख्न सक्ने र दलीय सहमतिका नाममा बोल्नेभन्दा सुन्ने तर निर्णायक कदम चाल्न सक्ने व्यक्तित्वको रुपमा उनकाे पहिचान बन्यो । यद्यपि यही संविधानमा प्रश्न उठाउने र यसले संस्थागत गरेको व्यवस्थाका मुख्य आधार मानिएकै विषयमा भने अहिले चर्को प्रश्न उठेको छ ।

तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले दुई/दुई पटक संसद विघटन गर्दा मौन बसेको आरोप उनीमाथि छ । जबकि उनकै नेतृत्वमा संविधान बन्यो । त्यही संविधान पार्टी अध्यक्षले कुल्चिँदा चुप बसेर समर्थन गरेको भन्दै विरोध पनि भएको थियो । संविधानमा धर्मनिरपेक्षता घुसाएको आरोप पनि उनीमाथि नै लाग्दै आएको छ । जसको जवाफ उनले जीवनको अन्तिम पटकसम्म पनि दिनु पर्‍यो ।

हुन त उनीमाथि कुशल संगठनकर्ताभन्दा ओलीकै वरिपरि घुमेर पद पाउने गरेको आक्षेप पनि छ । शिष्ट र नम्र बोलेपनि आफ्नाविरुद्ध जानेलाई घुमाउन सक्ने आक्षेप खेपेका उनी संविधानसभाको अध्यक्ष भइसकेपछि खाली भएको समयमा पुनः वकालतमा लालयित बनेको आक्षेप पनि लाग्याे । सुवास खाली भएकाे समयमा वकालत गर्न दाैडी हाल्थे । त्यस्तै जनजातिकै छोरो भएर जनजातिकै लागि बोल्न नसकेको पहिचानवादीहरुको पनि आरोप उनीमाथि लाग्ने गरेकाे छ । दलीय राजनीतिभन्दा माथि उठ्न नसकेर सर्वमान्य हुन सक्ने अवसर गुमाएको टिप्पणी गर्नेहरु पनि छन । सम्भवतः यसकै उपज हुनुपर्छ, जीवनभर जितको साक्षी बनेको र दलीय सहमतिको सुत्रधार बनेको पात्र सबैभन्दा उपयुक्त मानिएको राष्ट्रपति बन्ने पालो आउँदा अध्यक्षको परछाँया बनेकै कारण हार ब्यहोरेको टिप्पणी पनि हुन्छन् ।

यसको अर्थ उनको राजनीतिक उत्कर्ष संविधानसभा अध्यक्ष भएपनि त्यसको परिणाम दिने बेलामा कमजोर मात्रै नभई आलोचनाको तारो समेत बनेको एकाथरीको बुझाई छ । फलतः अन्तर्मुखि स्वभावका उनलाई पछिल्लो समय यसले समेत पिरोलेको हुनसक्ने उनी निकटस्थहरु बताउँछन् । ‘केहि प्रश्नको कसीमा राखेर उनको व्यक्तित्व नाप्न हुँदैन ।’, उनलाई नजिकबाट नियालेका अधिवक्ता बाबुराम दाहालले भने, ‘तर राष्ट्रपतिको चुनाव हारेपछि भने उहाँ केही तनावमा हुनुहुन्थ्यो ।’

उनी संविधानसभा अध्यक्ष बन्नुलाई नै संयोग मान्नेहरुले भने नेम्वाङले तत्कालिन आवश्यकता र उपस्थिति पुष्टि गरेको बताउँछन । तर उनको नेतृत्वमा बनेको संविधान र त्यसलाई सफलता ठान्नेहरु नै सत्तामा पुग्दा नेम्वाङले नै दागबत्ति पाउन विदेशी छोरा पर्खिनु परेको दृश्यले आममानिसमा निराशाको प्रतिनिधित्व गरिरहेको छ । जसको धेरथोर अपजस उनलाई पनि जान्छ । हाम्रा नेताहरुले छाेराछाेरी नै बस्न नसक्ने कस्तो देश बनाए भन्ने प्रश्न गर्दा त्यसको जवाफ दिनुपर्ने दायित्व सुवासको समेत भएको कतिपयको बुझाइ छ । तर जे होस्, अवस्था परिवर्तन नभएपनि व्यवस्था परिवर्तन भएको वर्तमान अवस्था र त्यसकै आधारमा बनेको संविधानलाई सफलता मान्दा उनीमाथि उठेका प्रश्न कमजोर नै हुन् ।

०००

सम्झानामा सुवास

राष्ट्रिय राजनीतिका साझा व्यक्तित्व नेम्वाङको निधनले राष्ट्रिय राजनीति स्तब्ध छ । नेम्वाङको अन्त्येष्टि भोलि बिहिबारमात्रै गरिने भएको छ । छोरा बुधबार अपरान्हमात्रै नेपाल आइपुग्ने भएकाले अन्त्येष्टि बिहिबार मात्रै गरिने भएको हो । नेम्वाङको पार्थिव शरीर बुधबार दिउँसो १ बजेसम्म एमाले पार्टी केन्द्रीय कार्यालयमा श्रद्धाञ्जलीका लागि राखिने छ भने त्यसपछि नेम्वाङको निवासमा लगिने छ ।

अनेक उतारचढावकाबीच पार्टीभन्दा माथि उठेर राष्ट्रिय राजनीतिमा सहमति, सहकार्य र एकताको सुत्रधार नेता नेम्वाङ संविधान र प्रणालीको सशक्त पक्षधर पात्र थिए । संविधानसभा, सभामुख र संसदको पर्यायका रुपमा परिचित परिपक्व, शालीन र समन्वयकारी बौद्धिक नेताले सुवास छाडेर सदाका लागि संसारबाट विदा लिएका छन् । नेपाली राजनीतिमा अनेकौं छबिले सुपरिचित नेता नेम्वाङको निधनले नेपाली राजनीतिमा अपूरणीय क्षति पुगेको छ । नेपालको कम्युनिष्ट आन्दोलनमा उनको भूमिका महत्वपूर्ण मानिन्छ । राजनीतिका मियो सुवासलाई सहयात्रीहरु त्यसरी नै सम्झिरहेका छन् ।

संविधानसभाका अध्यक्ष नेम्वाङले संविधानसभाबाट संविधान जारी गर्ने क्रममा खेलेको भूमिका स्मरणीय छ । शान्ति प्रक्रियाको पूर्णतासँगै जारी राष्ट्रिय राजनीतिको अप्ठ्यारो परिस्थितिमा उनको अभाव खड्किने माओवादीका उपाध्यक्ष तथा पूर्वसभामुख अग्नि सापकोटा बताउँछन् ।

जातियताको मुद्दा नबोकी समावेशीतामा सशक्त वकालत गर्ने उनी प्रतिपक्षको नजरमा समेत कहिल्यै नविजेका नेता हुन् । पछिल्लो उदाहरण नेकपा एमालेले संसद अवरोध गर्दा पार्टी स्वार्थभन्दा माथि उठेर अभिव्यक्ति दिएका थिए । अप्ठ्यारोको अड्चन फुकाउने सबैलाई मिलाएर सबैको बीचमा समन्वय गर्ने राष्ट्रिय राजनीतिका साझा व्यक्तित्व सुवास राजनीतिमा बेदाग बादशाह, सादगी र निष्कलंक नेता मानिन्छन् । ‘सत्ता र शक्तिका लागि कहिल्यै कसैलाई नबिझाएका उहाँ सर्वस्वीकार्य नेता हुनुहुन्थ्याे ।’, नेपाली काँग्रेसका सांसद प्रदीप पाैडेलले भने, ‘सबैलाई मिलाएर लैजान सक्ने साझा व्यक्तित्व हामीले गुमाएका छाैं । प्रतिपक्षको नजरमा नबिझेका नेता हाे उहाँ ।’

तत्कालिन नेकपा विघटन हुँदा नेम्वाङ भने कम्युनिष्ट एकताको सुत्र कतै भेटिन्छ कि भन्दै खोजिरहेका थिए । उसो त, नेकपाकालमा पनि विभाजन हुनबाट जोगाउने प्रयत्न उनले नगरेका होइनन् । नेम्वाङलाई प्रधानमन्त्रीका रुपमा अघि सारे नेकपा एकता जोगिन्छ भन्ने पहल दोस्रो तहका नेताले गरेका पनि थिए । तर शिर्ष नेताले त्यसलाई स्वीकार्न नसक्दा नेकपाको एकता भंग नै भयो । ओली–प्रचण्डको दम्भले विघटनमा गएको कम्युनिष्ट एकतालाई फेरि पनि त्यहि अवस्थामा ल्याउने कोशिसमा उनी थिए । कक्षा ७ देखि नै नेम्वाङका सहपाठी रहेका झलनाथ खनाल पार्टी विभाजित भएपछि बनेको नेकपा एकीकृत समाजवादीतिर छन् । आफूहरू अलग–अलग पार्टीमा हुँदा पनि आफूहरुबीच सधैँ सम्पर्क र सम्बन्ध हुँदै आइरहेको भन्दै नेता खनालले पार्टी विभाजन भएकोप्रति नेम्वाङ निकै दुःखी भएको स्मरण गर्छन् ।

नेम्वाङकाे पार्थिव शरीरलाई अन्तिम श्रद्धान्जली दिन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहित प्रमुख दलका शीर्ष नेताहरु एमाले पार्टी कार्यालय च्यासल पुगेका थिए । अप्ठ्यारोमा खोजिने पूर्वी इलामबाट उदाएका नेता नेम्वाङ काठमाडौमा अस्ताएका छन् । अनेक राजनीतिक गुण हुँदा हुँदै सर्वसहमतिसहित राष्ट्रपति बन्ने उनको इच्छा अपुरो रह्यो । सधैं सहमतिका साथ पदमा पुगेका उनी राष्ट्रपति बन्न भने असफल रहे भने शान्ति प्रक्रियालाई पूर्णता दिने उनको इच्छा अधुरो नै रह्यो ।

०००

को हुन् सुवास नेम्वाङ ?

इलामको सुन्तलाबारीमा २००९ साल फागुन २८ गते जन्मिएका नेम्वाङले विद्यार्थी जीवनदेखि नै राजनीति थालेका हुन् । इलाम क्याम्पसमा पढ्दा अनेरास्ववियुमा लागेर उनी २०२९ सालमा महेन्द्र रत्न बहुमुखी क्याम्पसको स्ववियु सभापति बनेका थिए । २०३३ सालमा राजकाज मुद्दामा जेल परेका उनी तत्कालीन नेकपा मालेमा संगठित भएका थिए । २०४७ सालमा तत्कालीन नेकपा माले र नेकपा माक्र्सवादी पार्टीबीच एकता भएपछि बनेको नेकपा एमालेमा नेम्वाङ आवद्ध भए ।

२०५४ को छैटौं महाधिवेशनदेखि निरन्तर एमालेको केन्द्रीय कमिटीमा रहेका नेम्वाङ २०७८ सालमा चितवनमा सम्पन्न दशौं महाधिवेशनबाट उपाध्यक्ष बनेका थिए । उनी २०४८ र २०५२ सालमा राष्ट्रिय सभाको सदस्य पनि भएका थिए । कानून, न्याय तथा संसदीय व्यवस्था र सामान्य प्रशासनमन्त्री तथा संसदको सार्वजनिक लेखा समितिको अध्यक्षसमेत भएका थिए ।

इलामेली जनताको मनमुटुमा बस्न सफल नेम्वाङले २०५६ सालदेखि निरन्तर संसदीय निर्वाचन जितिरहे । उनी २०६४ सालको संविधानसभा निर्वाचन र ७० को दोस्रो संविधानसभा निर्वाचनमा इलाम-२ बाट निर्वाचित भएका थिए । दुबै संविधानसभाको उनी अध्यक्ष हुन् । २०७४ को संसदीय निर्वाचनमा एमाले-माओवादी गठबन्धनबाट उनी फेरि निर्वाचित भएका थिए । २०७९ को प्रतिनिधिसभा निर्वाचनमा पनि उनी सत्तारुढ गठबन्धनका उम्मेदवारलाई पराजित गर्दै निर्वाचित भए । गत पुसमा भएको राष्ट्रपति निर्वाचनमा पनि नेम्वाङ उम्मेदवार बने । तर, उनी सत्तारुढ गठबन्धनका रामचन्द्र पौडेलसँग पराजित हुन पुगे । आफ्नो जीवनको स्वर्णिम समय राजनीति र कानुनी क्षेत्रमा समर्पित गरेका नेम्वाङको योगदान इतिहासको पाना सुरक्षित भइसकेको छ ।

०००