रामेछापको केउरीनी बिर्ता : पहिरो सर्दै गाउँ झर्दै
वि.सं.२०८० भदौ १३ बुधवार १३:५९
shares

रामेछापको लिखु तामाकोसी गाउँपालिका–६ खिम्तीको केउरीनी बिर्ताका दीपक श्रेष्ठको घर निर्माण पूरा हुन नपाउँदै पहिराको उच्च जोखिममा पर्यो । उनी अहिले उक्त घरमा बस्ने ÷नबस्ने अन्योलमा परेका छन् ।
केउरीनी बिर्ता गाउँलाई घेरेर यसअघिदेखि नै पहिरोको जोखिम थियो । त्यहीँ स्थानमा अन्य छिमेकी पनि बसोबास गर्दै आएकाले श्रेष्ठले पनि दुई वर्षअघि त्यहीँ ठाउँमा भूकम्पबाट प्राप्त हुने अनुदानको घर बनाए ।
उनले भने, “घरपूरै तयारी गर्नै बाँकी छ । पहिराको उच्च जोखिममा पर्योे । बाँकी रहेको काम गर्ने कि नगर्ने भन्ने कुरामा अन्योलमा छु । ” झ्यालढोका र ‘प्लास्टर’को कामै बाँकी रहेको बेला उनलाई यो आपत आइलाग्यो ।
केउरिनी बिर्तामा श्रेष्ठको मात्र होइन, अधिकांशको घरमा धाँजा परेको छ । पहिराले थाहै नपाउने गरी बस्ती नै सरिरहेको स्थानीय ज्येष्ठ नागरिकवासी गणेशबहादुर श्रेष्ठले बताए ।
उनका अनुसार माथिल्लो कान्लामा भएका रुख, बिरुवा तल्लो कान्लामा लर्केर पुगेका छन् । एउटै गह्रो जमिन दुईवटा गह्रोझै तलमाथि भएका छन् । धेरै ठाउँमा धाँजा फाटेको छ । “जमिन फुटेको र सरेको थाहा पाएर पनि स्थानीय जोखिममै बसेका छौँ”, उनले भने, “अन्यत्र जग्गा जमिन नभएको र किनेर जाँदा कृषि तथा पशुपालनको समस्या हुने भएकाले पहिराले घेरा हालेको क्षेत्रमै यस गाउँमा ४० परिवारको बसोबास छ ।”
सो ठाउँमा विसं २०५१ देखि पहिराले गाउँ धसिएर बग्न लागेको हो । त्यसयता हरेक वर्ष केही न केही भाग झरिरहेको छ । गाउँभन्दा तल तिल्पुङ खोलातर्फबाट पहिराले माथिको जमिन तानिरहेको नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा रामेछापका मन्त्री तथा स्थानीय दुर्गाबहादुर श्रेष्ठले बताए । “जहाँबाट पहिरो बग्न थाल्यो त्यहाँ नियन्त्रणको उपाय नै छैन”, उनले भने, “कुन दिन गाउँनै बग्ने हो टुङ्गो छैन, अहिलेसम्म त बस्तीमात्र सरिरहेको छ ।”
वर्षायाममा स्थानीय हरेक दिन आफ्नो घरआँगनको चिरा जाँच गर्छन् । “आज यति बढेछ र भोलि यति भएछ भन्दै यतिका वर्ष बिते”, बिर्ताका चक्रबहादुर श्रेष्ठले भने, “सधैँ जोखिममा बसेर चिन्ता गर्नुभन्दा बाहिरै गएर बस्नु राम्रो ।” उनले दुई वर्षअघि नै सुरक्षित स्थानमा जग्गा खोजेर वासस्थान सारेका छन् । पहिराको निशाना भएपछि उनीलगायत हालसम्म छ जनाले बासस्थान सुरक्षित स्थानमा सारेका छन् । तर उनीहरूको बसाइ पनि सुरक्षित स्थानमा छैन । कुन बेला झुक्याउने हो, उनी भन्छन्, “नयाँ बनाएको स्थानमा घरमात्र भएकाले त्यहाँ गइहाल्न पनि मन छैन”, आनन्दले बस्न यता पनि सकिएको छैन ।
खिम्तीको केउरीनी बिर्ता गाउँ नै जोखिममा परेपछि हरेक वर्ष जिल्ला विपद् व्यवस्थापन समितिमा चर्चा हुने गरेको छ । तर स्थानीय बासिन्दालाई सार्ने विषयमा अहिलेसम्म कुनै निर्णय भने भएको छैन । आफुखुुसी थातथलो छाडेर हिँड्नेबाहेक राज्यले अरुलाई विपद्जन्य स्थानबाट हट्नका लागि सूचनासम्म दिएको छैन ।

























