काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

कुकुर तिहारजस्ता पर्वलाई अन्तरराष्ट्रियकरण गर्नुपर्छः प्रथम महिला काफ्ले

1.32K
shares

काठमाडौं । नेपालकी प्रथम महिला सबिना काफ्लेले नेपाली मौलिक संस्कृति, परम्परा र प्रकृतिसँगको मानव सम्बन्धलाई विश्वमाझ चिनाउन कुकुर तिहारजस्ता पर्वलाई अन्तरराष्ट्रियकरण गर्नुपर्नेमा जोड दिएकी छन ।

कुकुर तिहार, २०८३ को अवसरमा प्रथम महिला काफ्लेले आज यहाँ आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा पशुपंक्षी तथा प्रकृतिप्रतिको सम्मान र संरक्षण गर्ने विशिष्ट परम्परा रहेको हाम्रा चाडपर्व र संस्कृतिलाई अन्तरराष्ट्रियकरण गरी प्रर्वद्धन गर्नुपर्ने धारणा व्यक्त गरिन ।

उनले कुकुर तिहारलाई केवल धार्मिक तथा सांस्कृतिक पर्वका रूपमा मात्र नभई पशुप्रतिको प्रेम, निष्ठा, करुणा र सहअस्तित्वको सन्देश दिने अवसरका रूपमा विश्वमाझ पु-याउनुपर्ने बताइन ।

विश्वभर कुकुरप्रतिको प्रेम र आकर्षण बढिरहेको विश्व परिवेशमा कुकुरको पूजा गर्ने मुलुकको विशिष्ट सांस्कृतिक परम्परालाई नेपालले अन्तरराष्ट्रिय पहिचानका रूपमा स्थापित गर्न सक्ने उनको भनाइ थियो । “कुकुर तिहारलाई अन्तरराष्ट्रियकरण गर्नु हाम्रो एउटा प्रमुख उद्देश्य हो । कुकुरप्रतिको प्रेम र सम्मानका साथै पूजा गर्ने हाम्रो मौलिक परम्पराको सन्देश नेपालबाट विश्वभर पु-याउन चाहन्छौँ”, प्रथम महिला काफ्लेले भनिन ।

उनले कुकुर तिहारलाई एक दिनको उत्सवका रुपमा मात्र सीमित नगरी वर्षभरि नै पशु कल्याणका पक्षमा विविध गतिविधि सञ्चालन गर्नुपर्नेमा जोड दिइन । उनले कुकुरको उचित व्यवस्थापन, खोप, स्वास्थ्य उपचार तथा उनीहरूप्रति गरिने व्यवहारमा समेत एकरुपतासहित जिम्मेवारी बोध गर्नुपर्ने खाँचो औँल्याइन ।

श्रीमती काफ्लेले नेपालका चाडपर्वमा प्रकृति र जीवजन्तुप्रतिको सम्मान झल्कने अनेकौँ मौलिक अभ्यास रहेको उल्लेख गर्दै कुकुर तिहारसँगै काग पूजा, गाई पूजा, नाग पूजा, नेवार समुदायको म्हः पूजा र छठ पर्वलाई पनि अन्तरराष्ट्रियस्तरमा प्रर्वद्धन गर्नुपर्ने धारणा राखिन । वर्षा नभएका बेला भ्यागुताको विवाह गराउने परम्परासमेत प्रकृति र मानवबीचको सम्बन्धको उदाहरण भएको उनको भनाइ थियो ।

‘डिजिटल’ युगमा मानिसबीचको सम्बन्ध र मानव तथा प्रकृतिबीचको निकटता कमजोर हुँदै गइरहेको उल्लेख गर्दै उनले नेपाली मौलिक चाडपर्वले प्रकृतिसँगको सम्बन्ध पुनः स्थापित गर्ने सन्देश दिन सक्ने बताइन ।

कार्यक्रममार्फत कुकुर तिहारलाई विश्वव्यापी रूपमा प्रर्वद्धन गर्न ‘फ्रम नेपाल विथ पज’, ‘डेज अफ द डग्स’, ‘भिजिट नेपाल डग स्टे’, ‘लभ योर डग्स एभ्री डे’ र ‘कुकुर तिहार नेपाल’ लगायतका ह्यासट्यागसमेत सार्वजनिक गरिएको उनले जानकारी दिइन ।

त्यस अवसरमा सबिना काफ्लेले बिन्दु नामक कुकुरको पूजा गरिन । साथै कलाकारहरु बसुन्धरा भुसाल, भुवन भन्द, मिथिला शर्माले सशस्त्र प्रहरीको केनाइन युनिटमा तालिमप्राप्त कुकुर ‘साम्बा’लाई विशेष सम्मान गरेकी थिइन। कुकुर तिहारको अवसरमा सहभागीहरुले आफ्ना कुकुरहरुको पनि पूजा गरेकी थिइन ।