भरतपुर अस्पतालका ४ सय वार्ड निःशुल्क
वि.सं.२०८० भदौ १ शुक्रवार १०:४७
shares

गरिब विपन्नहरूले उपचार गर्न आउँदा ल्याएको सिफारिस पत्र सामाजिक सञ्जालबाट सार्वजनिक गरेर उपहास गरेको भरतपुर अस्पतालले सबै जनरल वार्ड निःशुल्क गर्नुपर्ने भएको छ ।
विपन्नलाई उपचार गर्दा दोब्बर खर्च आएको भन्दै नाम र तस्बीरसमेत सार्वजनिक गरेको केही दिन बित्न नपाउँदै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नै निर्देशन दिएर अस्पतालको जनरल वार्ड निःशुल्क बनाउन भनेको हो ।
अस्पतालले आज एक विज्ञप्ति जारी गरी अन्तरंग विभागको ४ सय बेड निःशुल्क कायम गरिएको जनाएको छ । अस्पतालका प्रवक्ता डा. गोविन्द कँडेलले विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘यस अस्पतालको अन्तरंग सेवाको ४ सय बेड निःशुल्क कायम गरिएको छ, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको निर्देशनअनुसार निःशुल्क कायम गरिएको हो ।’
भरतपुर अस्पताल नेपाल सरकारको केन्द्रीय रिफरल अस्पताल हो । यहाँ चितवन र यसआसपासका १३ बढी जिल्लाका बिरामी उपचार गर्न आउँछन् । अस्पतालको रेकर्ड अनुसार यहाँ दिनमा दुई हजार ५ सय जनासम्म ओपीडीमा उपचार गर्न आउने बिरामी हुन्छन् ।
अस्पतालका सूचना अधिकारी गोपाल पौडेलका अनुसार भरतपुर अस्पतालमा कुल ६ सय वार्ड छन् । ४ सय सुत्केरीसहितको जनरल वार्ड हो भने बाँकी दुई सय आईसीयू, एनआईसीयू, क्याबिन, स्पाइनल, न्यूरोसर्जरी, अर्थोपेडिक्स लगायतका वार्ड छन् । ति वार्डहरुमा पनि न्यूनतम शुल्क निर्धारण गरिएको अस्पतालले जनाएको छ ।

























